राजनीति

रात दुई बजे आइपुग्यो मतपेटिका

खोटाङ- खोटाङका दुई नगरपालिकाका मतपेटिका रातको दुई बजेसम्ममा सदरमुकाम ल्याइएको छ । मतदान सम्पन्न भएपछि मतपेटिका लिएर सदरमुकाम फर्किएका हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाका मतदान अधिकृत लगायतका कर्मचारी र सुरक्षाकर्मी राति दुई बजेसम्ममा मुख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन् । हलेसी तुवाचुङ नगरपालिकाका ११ वडा तथा रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडाको मत पेटिका रातारात दिक्तेल आइपुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

हलेसी तुवाचुङ नगरपालिकाका राजापानी, डिकुवा, बाहुनीडाँडा लगायतका मतपेटिका राति अबेर सदरमुकाम आइपुगेको हो । ‘राति दुई बजेसम्ममा दुई नगरपालिकाको मत पेटिका मुख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छ,’ जिल्ला निर्वाचन अधिकारी खत्रीले भने, ‘बाँकी आठ गाउँपालिकाको मत पेटिका सोमबार रातीसम्ममा दिक्तेल आइपुग्ने अनुमान गरेका छौँ ।’

ठाउँ–ठाउँबाट मतपेटिका संकलन गर्दै जाँदा राती अबेर दिक्तेल पुगेको हलेसी तुवाचुङ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत अनिल किरातीले बताए । ‘हामी साँझ ६ बजे दुर्छिमबाट हिँडेका थियौँ, हलेसी, धितुङ, मंगलटार, अर्खौले लगायतका ठाउँको मत पेटिका पर्खँदा आधा रातमा दिक्तेल आइपुग्यौँ,’ किरातीले भने, ‘मत पेटिका बुझाउँदा ३ः१५ बजिसकेको थियो ।’ डिकुवाको मत पेटिका करिब १२ बजे मात्र छिमेकी वडा च्यास्मीटारमा ल्याइपु¥याइएको थियो ।

प्रकाशित: ११ मंसिर २०७४ ०४:०४ सोमबार

रात दुई बजे आइपुग्यो मतपेटिका