राजनीति

बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खस्यो

बिरा गडाल/रेमचुनारा, बैतडी/दार्चुला
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा बैतडीमा  ६० र दार्चुलामा ६९ प्रतिशत मत खसेको छ । बैतडीमा स्थानीय तहको निर्वाचनमा भने झन्डै ७२ प्रतिशत मत खसेको थियो । युवा रोजगारीको सिलसिलामा बाहिर जानुलगायतका कारणले मत कम खसेको अनुमान छ । बैतडी जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी हेरम्ब शर्माका अनुसार जिल्लामा ६६ हजार तीन सय ४३ जनाले मतदान गरेका छन् ।
    प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । मतदान सकिएलगत्तै मतपेटिका ढुवानी  सुुरु भएको जानकारी पनि उनले दिए ।
    यसैगरी दार्चुला पनि शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचनअधिकृत राजेन्द्र नेपाल बताए । मतपेटिका सुरक्षित रुपमा जिल्ला सदरमुकाम ल्याउने कार्य जारी छ ।  दार्चुलामा ७८ हजार ५ सय १३ मतदाता रहेकोमा ५४ हजार चार सय १४ जनाले मतदान गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
    ११४ वर्षीयाले मतदान गरिन्
    बैतडीको सुर्नाया गाउँपालिका–८, शिखरपुरकी ११४ वर्षीया पशुपति साउदले भूमिराज मावि ढोले मतदान केन्द्रबाट मतदान गरेकी छिन् । आइतबार बिहान उनलाई आफन्तले बोकेर मतदान केन्द्र पु¥एका थिए । त्यस्तै दार्चुलाको ब्यास  गाउँपालिका–२,  रानीस्थान निमावि, माल केन्द्रमा एक सय वर्षीय  काशीसिंह धामीले  मतदान गरेका छन् ।

 

प्रकाशित: ११ मंसिर २०७४ ०२:०९ सोमबार

बैतडीमा ६० दार्चुलामा ६९ प्रतिशत मत खस्यो