राजनीति

मनाङको नार–फू मा मतदान सकियो

पोखरा– हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार–फू गाउँपालिका–३ को साम्दोछिरिङ गुम्बा मतदानस्थलको मतदान सकिएको छ । निर्वाचन गराउन खटिएका मतदान अधिकृत रामकृष्ण तामाङका अनुसार त्यहाँ १ सय ४ मतदाता रहेकोमा ७५ मत खसेको छ । बाँकी मतदाता घरमा नभएकोले मत नखस्ने उनले बताए ।
बिहान साढे १० बजेअघि धेरै मत खसेको उनले बताए । ‘साढे १० बजेपछि अहिलेसम्म (१२ः३० बजेसम्म) २ जना मात्र मत खसाल्न आए,’ तामाङले टेलिफोनमा भने, ‘अब अरु मतदाता आउँदैनन भनेर स्थानीयले जानकारी दिएका छन् ।’ निर्वाचनमा खटिएका राजनीतिक दलका प्रतिनिधिले पनि थप मतदाता नआउने बताएको तामाङले जानकारी दिए । बैदेशिक रोजगारीमा घर छाडेका, जिल्लाबाहिर रहेका र केही वृद्धवृद्धा मतदानमा आउन नसकेको उनले बताए ।
बिहान ७ बजे नै सुरु भएको मतदानमा भोट दिएर घर फर्किनुपर्ने भएकोले पनि धेरे मतदाता बिहानै आएको उनले बताए । ‘बिहानै मतदान गर्न नआए घर फर्किन सकिँदैन, हिउँ पर्ने र चिसोको डरले पनि बिहानै मतदानमा आए,’ उनले भने । उनका अनुसार सबैभन्दा टाढा मेटाबाट करिब ४ घण्टा हिडेर मतदाता मतदानका लागि आएका थिए । बिहान १० बजेभित्रै आएका उनीहरु मत दिएर तत्कालै फर्किएको तामाङको भनाई छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले मनाङमा जम्मा ५ हजार ८ सय ८१ जना मतदाता रहेकोमा अहिलेसम्म करिब ३ हजार मत खसिसकेको बताए । मनाङका मतदाताले २८ वटा मतदानस्थलबाट मत दिँदैछन् । ‘सतप्रतिशत मत खस्दैन, धेरै मतदानस्थलमा खस्नु पर्नेजति अधिक मत खसिसकेको छ । बेलुकी ५ बजेसम्म पर्खिनुपर्ने बाध्यता छ,’ उनले भने ।
यता मुस्ताङमा पनि सबैगरि ९ हजार ४ सय २७ जना मतदाता रहेकोमा करिब ४१ सय मत खसिसकेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । मुस्ताङमा ३७ वटा मतदानस्थलमा ३७ केन्द्र रहेका छन् । ‘यहाँपनि सतप्रतिशत मत खस्ने होईन, संख्यात्मक हिसाबले अहिले करिब ५० प्रतिशत खसे,’ उनले भने, ‘पाँबजेसम्म पर्खेपछि बल्ल यकिन हुनेछ ।’

 

प्रकाशित: १० मंसिर २०७४ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App