संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणमा उच्च तहको सुरक्षा प्रदान गर्न नेपाली सेनाले ‘कमान्ड’ गर्ने भएको छ। अति विशिष्ट व्यक्तिको भ्रमण सुरक्षा कार्यविधिअनुसार तीनवटै सुरक्षा अंगबीच समन्वय गर्दै नेपाली सेनाले कमान्ड गर्ने भएको हो। महासचिव गुटेरेस आउनुभन्दा दुई दिनअघि सरकारले उच्च तहको सुरक्षा व्यवस्था मिलाएको हो।
सरकारले गुटेरेसलाई उच्च सुरक्षा प्रदान गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको स्रोतले जनाएको छ। त्यसका लागि सरकारले रक्षा र गृह मन्त्रालयलाई समन्वय गर्ने जिम्मेवारी दिएको छ।
महासचिव गुटेरेस चारदिने भ्रमणका लागि आइतबार नेपाल आउने कार्यक्रम छ। उनी प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा आउन लागेका हुन्। सरकारले तोकेको अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिअनुसार परराष्ट्र मन्त्रालयको समन्वयमा गुटेरेसको सुरक्षाको कमान्ड नेपाली सेनाले पाएको हो।
नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार सबै सुरक्षा अंगलाई तोकिएको जिम्मेवारीअनुसार परिचालन गरिने भए पनि पहिलो घेरामा नेपाली सेना तैनाथ हुनेछ।
‘यो विषयमा जिल्ला सुरक्षा समितिको बैठकले दिएको जिम्मेवारीअनुसार परराष्ट्र मन्त्रालयको समन्वयमा सुरक्षा प्रदान गरिनेछ। यसमा सबै सुरक्षा अंगलाई तोकिएको जिम्मेवारीअनुसार परिचालन गरिनेछ,’ सहायक रथी भण्डारीले भने।
सुरक्षा कार्यविधिअनुसार महासचिव गुटेरेसको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना तैनाथ हुनेछ। त्यसकारण सुरक्षाको सबै जिम्मेवारी नेपाली सेनाले नै लिनेछ। गृह मन्त्रालयले भ्रमण हुने सम्भावित जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सम्बन्धित जिल्ला सुरक्षा समितिसँग आवश्य समन्वय गरिरहेको छ।
यसअघि महासचिव गुटेरेसले अक्टोबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित भएको थियो।
गुटेरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग कुराकानी गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
भ्रमणका क्रममा उनले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नेछन्। उनी अन्नपूर्ण बेस क्याम्प पनि जाने कार्यक्रम छ। ‘उहाँ जुन जिल्लाको भ्रमणमा जानुहुन्छ, त्यही जिल्लाको सुरक्षा समितिले निर्धारण गरेको सुरक्षा व्यवस्था हुनेछ,’ सहायक रथी भण्डारीले भने।
महासचिव गुटेरेसको भ्रमण टोलीमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका केही अधिकारी सहभागी हुनेछन्। भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन्।
स्रोतका अनुसार महासचिव गुटेरेसको भ्रमणका बेला नेपाल प्रवेश गर्ने हवाईमार्गमा पर्ने स्थलमार्ग र पोखरा–लुम्बनी भ्रमणका क्रममा हवाईमार्गमा पर्ने स्थलमार्गअन्तर्गत रहेका सेनाका सबै युनिटलाई ‘हाई अलर्ट’मा राखिनेछ। ‘कुनै पनि बेला आकस्मिक अवतरण गर्ने अवस्था आए नेपाली सेनाले नै सुरक्षा दिनेछ, त्यसकारण बाटामा पर्ने सबै युनिटलाई हाई अलर्टमा राखिनेछ,’ जिल्ला सुरक्षा समितिका एक अधिकारीले भने।
विशिष्ट पाहुनाको सुरक्षामा करिब ५ हजार सुरक्षाकर्मीको परिचालन गरिनेछ। महानगरीय प्रहरी कार्यालय परिसरले त्यसको तयारी गरिसकेका छन्। प्रहरी प्रधान कार्यालयले सुरक्षामा कुनै पनि कमी आउन नदिन उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई निर्देशन दिइसकेको छ।
यस्तै सशस्त्र प्रहरी बलले पनि काठमाडौं र बाहिरी जिल्लामा ‘रिजर्भ’ फोर्ससहितको टोलीलाई ‘हाइअलर्ट’मा राखेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महासचिव गुटेरेस बस्न तय गरिने होटलसम्मको सुरक्षा व्यवस्था कडा गर्नुका साथै सो समयमा सुरक्षा निकायले तय गरेका बाहेक सडकमा सवारीसाधान चल्नेछैनन्।
उनले यात्रा गर्ने ‘बुलेट प्रुफ’ गाडीको पछुवामा विशेष प्रवधि जडित ‘जामर’ गाडीसहित दायाँबायाँ तथा अगाडि–पछाडिबाट ६ वटा सवारीसाधनले सुरक्षा प्रदान गर्ने सुरक्षा स्रोतको दाबी छ। उनको सुरक्षा थ्रेटलाई हेरेर नेपाली सेनाको स्पेसल कमान्डो पनि खटिनेछ। बाह्य सुरक्षा, सूचना संकलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिनेछ।
महासचिव गुटेरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा उनको यो दोस्रो कार्यकाल हो। उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए। यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुनले नेपाल भ्रमण गरेका थिए।
सन् १९७० र ८० को दशकमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिवहरू क्रमशः डा. कर्ट वाल्डहाइम र ज्याभियर पेरिज डी कुइलरले नेपाल भ्रमण गरेका थिए। सन् २०१७ को जनवरीमा पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो
प्रकाशित: ११ कार्तिक २०८० ००:०८ शनिबार