राजनीति

भोट हाल्न गाउँ फर्किए मुस्ताङी

म्याग्दी- आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन उपल्लो मुस्ताङको लोमान्थाङका पेम्बा गुरुङ घर फर्किए। अत्यधिक जाडो भएपछि पोखरा पुगेका गुरुङसहित करिब ४० जनाको टोली उम्मेदवारले व्यवस्थापन गरेको यातायातका साधनमा सडकमार्ग हुँदै बिहीबार गाउँ फर्किएका हुन् ।

विगतका निर्वाचनको भन्दा महŒव बढी रहेकाले मतदानका लागि गाउँ फर्किएको लोमान्थाङका पासाङ गुरुङले बताए । ‘चिसो मौसम भए पनि हामीलाई चुनावले छोएको छ । गाउँको विकासका लागि पनि मतदानमा सहभागी हुँदै छौं,’ उनले भने ।

पोखराबाट मतदातासहित आएको टोलीलाई बेनी नगरपालिका–९ घतानस्थित गलेश्वरमा रहेको एक होटलमा खानाको व्यवस्थापन गरिरहेका एक युवाका अनुसार मतदातालाई यातायात सुविधा, खाना–बस्नलगायत सार्वजनिक गर्न नमिल्ने सुविधासमेत रहेको बताउँछन् ।

‘मतदान गरेपछि उहाँहरूलाई पोखरासम्मको यातायातको सुविधासमेत छ । जाडो मौसम भएकाले पनि खर्च धेरै हुन्छ,’ उनले भने । कोखमा दूधे बालकसहित मतदानका लागि हिँडेका मुस्ताङको लर्कोले बेनी–जोमसोम सडकखण्डमा समेत भिडभाड देखिन्छ । जाडो छल्न जिल्ला छोड्ने मुस्ताङीले आफ्नो व्यापार व्यवसायसमेत छाडेर गाउँ फर्किन थालेपछि उम्मेदवार उत्साहित भएको स्थानीय खुङ्गा गुरुङले बताए ।

‘हामीलाई भन्दा धेरै चुनाव उम्मेदवारलाई लागेको छ, जाडो भनेर बस्दा भविष्यमा सहयोग नहुन सक्छ,’ उनले भने।

तल्लो मुस्ताङदेखि माथिल्लो क्षेत्रसम्मका मतदाताहरू अतिथिजस्तै बनेर फर्किएका छन् । निर्वाचनमा सहभागी भइरहेका मतदातालाई आकर्षित गर्न उम्मेदवारले समेत काठमाडौंदेखि पोखरासम्मको हवाई टिकटका साथै सवारीसाधनको समेत व्यवस्थापन गरेपछि बाध्य भएर गाउँ फर्किएका छन् ।

म्याग्दीको सिमाना क्षेत्रमा बस्ने मतदातादेखि चीनको तिब्बतसँग सिमाना जोडिएको छोसेर र छोन्हुपसम्मका मतदाताको अन्तिम टोली शुक्रबार बेलुकीसम्म जिल्ला फर्किने मतदाता व्यवस्थापनमा सहभागी नेपाली कांग्रेसका एक नेताले बताए । जिल्लामा छिट्टै फर्किएका मतदातालाई अन्य दलले समेत आफ्नो पक्षमा पार्न सक्ने सम्भावना रहेकाले पनि म्याग्दीकै होटलमा खाने र बस्नेको व्यवस्थापनसमेत गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले व्यवस्थापनमै धेरै खर्च गर्ने गरेका छन् । थोरै मतदाता भएकाले पनि मुस्ताङमा धेरै खर्च हुने गरेको छ । व्यक्तिगतरूपमा समेत सम्पन्नशाली उम्मेदवार र आफ्ना शुभचिन्तकबाट समेत ठूलो आर्थिक सहयोगले समेत सानो जिल्ला मुस्ताङमा चुनावमा धेरै खर्च हुने गरेको छ ।

मुस्ताङमा ३७ वटा मतदानस्थल रहेका छन् । उक्त निर्वाचनका लागि मतदान केन्द्र पनि ३७ वटै कायम गरिएको छ । एकहजार ५० जनासम्म मतदाता रहेकोमा एउटा मतदान केन्द्र तोकिए पनि मुस्ताङका कुनै पनि मतदानस्थलमा मापदण्डअनुसारका मतदाता छैनन् । जिल्लाभर कुल नौहजार ४ सय २७ जना मतदाता रहेका छन्। तीमध्ये महिला चारहजार ८ सय ६, पुरुष चारहजार ६ सय २० र एकजना तेस्रोलिंगी रहेका छन् । गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मुस्ताङमा कुल आठहजार ४ सय ६१ जना मतदाता रहेका थिए।

गत साउन १ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानमा मुस्ताङमा ९ सय ६६ जना मतदाता थपिएका छन् । २०६८ सालको जनगणनाअनुसार मुस्ताङ जिल्लाको कुल जनसंख्या १३ हजार ४ सय ५२ रहेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा एकहजार ८०६, दालोमे गाउँपालिकामा एकहजार ३५०, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा दुईहजार १२१, घरपझोङ गाउँपालिकामा एकहजार ९१२ र थासाङ गाउँपालिकामा दुईहजार २३८ जना मतदाता छन् । सबैभन्दा धेरै मतदाता थासाङ र सबभन्दा कम दालोमे गाउँपालिकामा रहेका छन् ।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङमा आउँदो निर्वाचनका लागि एक प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा सिट रहेको छ भने विभिन्न दलका गरी ८ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।

मुस्ताङको चुनावमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट रोमी गौचन थकाली र नेकपा एमालेका प्रेमप्रसाद तुलाचन उम्मेदवार बनेका छन् । यसैगरी प्रदेशसभा ‘क’ मा कांग्रेसका मिक्युर गुरुङ र एमालेका इन्द्रधारा धारा विष्ट रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘ख’ मा कांग्रेसका छिरिङधावा गुरुङ, एमालेका महेन्द्रबहादुर थकाली, राप्रपाका नरबहादुर हिराचन र राप्रपा प्रजातान्त्रिकबाट प्रवीण शेरचन चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनलाई आवश्यक पर्ने सबै सामग्री सम्बन्धित केन्द्रमा पुगिसकेको छ।

प्रकाशित: ८ मंसिर २०७४ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App