राजनीति

धरौटी बुझाउन नसकेपछि कर फर्स्योट आयोगका महत र ढकाल जेल चलान

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगमा बसेर भ्रष्टाचार गरेको आरोप लगाएका दुई चार्टर्ड एकाउन्टेन्ट (सिए) लुम्बध्वज महत र उमेश ढकाल धरौटी बुझाउन नसकेपछि जेल चलान भएका छन्। महत कर फर्स्योट आयोगका अध्यक्ष रहेका थिए भने ढकाल सदस्य हुन्।

मंगलबार विशेष अदालतमा धरौटीमा छोड्ने नछोड्ने बहस हुँदा उनीहरुसँग एक एक करोड धरौटी रकम माग गरिएको थियो। माग गरिएको धरौटी रकम बुझाउन नसकेपछि महत र ढकाललाई सरद खोर डिल्लीबजार चलान गरिएको छ।

अख्तियारले कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माले आपसी मिलेमतोमा आयोगको क्षेत्राधिकार नाघेर कर मिनाहा गरेको भन्दै १० अर्ब दुई करोड १९ लाख एक हजार आठ सय ४२ रुपैयाँ माग दाबीसहित विशेषमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले शर्मालाई पक्राउ गरेता पनि सर्वोच्च अदालतले वन्दिप्रत्यक्षिकरणको रिटमा रिहा गरेको थियो।  

आयोगमा परेका एक हजार सात सय २६ वटा निवेदनमा ४० अर्ब ८३ करोड रुपैयाँको कर बक्यौता फर्स्योट गर्न माग गरिएको थियो। आयोगले यसमध्ये एक हजार ६९ वटा निवेदनमा माग गरिएको ३० अर्ब ५२ करोड रुपैयाँ बराबरको बक्यौतामाथि करदातासँग सम्झौता गरेको थियो। यसमा आयोगले नौ अर्ब ५४ करोड रुपैयाँ मात्र असुली गर्ने निर्णय गरेको थियो।

 

प्रकाशित: ५ मंसिर २०७४ १३:४४ मंगलबार

धरौटी बुझाउन नसकेपछि कर फर्स्योट आयोगका महत ढकाल जेल चलान