राजनीति

विकास पर्खंदै मधेसको देहात

रामनगर (सप्तरी)- सडक छैन, बिजुली छैन, शिक्षा र स्वास्थ्य सेवाको अवस्था पनि दयनीय नै । त्यसैले होला, स्थानीयले रामनगर क्षेत्रलाई ‘सप्तरीको कर्णाली’ तथा ‘हुम्ला–जुम्ला’ भनेरै परिचय गराउन थालेका छन् ।

विद्युत् पोल गाडिएको एक दशक हुन आँट्यो । यद्यपि रामनगर कोदरकट्टीबासीको बिजुली बाल्ने रहर अझै अधुरै छ । ‘पोलमा तार जडानको काम थालिएको पनि ४÷५ वर्षभन्दा बढी नै भयो होला’, स्थानीय युवा रामविहारी सदाले भने, ‘पोल पनि गाविसकै विकास बजेटबाट रकम जोगाएर गाडेका हौं । पोल गाडेपछि प्राधिकरणको ध्यान पुग्छ कि भन्ने आसले जसोतसो पोल गाडेका थियौं ।’

आर्थिक वर्ष २०६५÷६६ देखि नै रामनगर कोदरकट्टीमा विद्युत् पोल गाड्ने काम थालिएको हो । २०६९÷७० देखि नै तार जडान गर्ने काम थालिएकोमा हाल अधिकांश पोलमा तार जडान भइसकेको गाविस सचिव रामदत्त यादवको भनाइ छ । सप्तरीमा विद्युतीकरण थालिएको आधा शताब्दीभन्दा बढी भयो तर नेपाल विद्युत् प्राधिकरणको ध्यान दरकट्टीसम्म अझै पुग्न सकेको छैन ।

रामनगरको पूर्वमा काचन र उत्तरमा साबिकको रौतहट गाविस पर्छन् । ती दुवै क्षेत्रमा विद्युत् पुगेको एक दशकभन्दा बढी भइसक्दा पनि प्राधिकरणको लापरबाहीका कारण रामनगरमा विद्युत् पुग्न नसकेको गाउँलेको गुनासो छ । बस्तीको बीचमा ठूलो चौर रहेका कारण त्यहाँबाट आफैं पनि विद्युत् तार तानेर ल्याउन सक्ने अवस्था नरहेको स्थानीय युवा जयकुमार यादवले बताए । ‘काचन र रौतहटका गाउँले पनि विद्युत् ल्याउन दिँदैनन्’, उनले भने, ‘प्राधिकरणमा भन्न जाँदा आलटाल गर्ने गरेका छन् ।’
कतिपय गाउँलेले सीमापारि बिहारको मधुवनी जिल्लाअन्तर्गत पर्ने बलुवा ग्रामपञ्चायतको पिपराही नटवा टोलबाट जेनेरेटरको विद्युत् किनेर ल्याउने गरेका छन् जसबाट मोबाइलमात्र चार्ज हुने गरेको स्थानीय जयराम सदाले जानकारी गराए । ‘त्यो पनि धेरै महँगो छ’, सदाले भने, ‘सम्पन्न गाउँलेको मात्र त्यहाँसम्म पहुँच पुग्न सकेको छ ।’  जेनेरेटरबाट निकालिएको बिजुली कम क्षमताको भएका कारण अन्य काममा प्रयोग गर्न नसकिने उनको कथन छ । साँझ साढे ६ बजेदेखि राति दस बजेसम्म दिइने उक्त बिजुलीबापत प्रतिचिम महिनाको दुई सय रुपैयाँ भारु तिर्नुपर्ने स्थानीय वृजनारायण यादवले बताए ।

गाउँमा बिजुली नभएका कारण धान, गहुँ कुटानी, पिसानी गर्न भारत नै जानुपरेको स्थानीय सरस्वतीदेवी यादवले बताइन् । ‘बिजुली नहुँदा पारिकै मिलमा गएर धान, गहुँ कुटानी, पिसानी गर्नुपर्ने बाध्यता छ । यस क्रममा कहिले सीमामा रहेका सशस्त्र प्रहरीसँग त कहिले भारतीय एसएसबीबाट हामी प्रताडित हुने गरेका छौं ।’ दुई वर्षअघिसम्म डिजेलबाट चल्ने सानो मिल गाउँमा रहेको जानकारी गराउँदै यादवले भनिन्, ‘उक्त मिल बन्द भएपछि पूर्ण रुपमा सीमापारि नै आश्रित हुनुपरेको छ ।’ कुटानी, पिसानीका सानातिना काम महिलाले घरमै जाँतो, ढिकीलगायतका परम्परागत साधन प्रयोग गरी गर्नेगरेको उनले बताइन् ।

बिजुलीको अभावमा यहाँका किसानलाई समेत ठूलो समस्या भोग्नुपर्ने बाध्यता छ । ‘डिजेलको सहज आपूर्ति छैन’, स्थानीय कृषक वीरेन्द्रप्रसाद यादवले भने, ‘खेतमा पानी लगाउन निकै समस्या हुने गरेको छ ।’ सरकारले विद्युत्को प्रबन्ध मिलाइदिए यस भेगका किसानलाई आत्मनिर्भर बन्न बेर नलाग्ने उनको भनाइ छ । सदरमुकाम राजविराजबाट ३५ किलोमिटर पश्चिम–दक्षिण तथा पूर्व–पश्चिम राजमार्गमा सप्तरीको कुसहाबाट १७ किमि दक्षिणमा रहेको रामनगर कोदरकट्टी र आसपासका गाउँ अझै कालोपत्रे सडकले जोडिन सकेका छैनन् ।

राजविराजलाई पश्चिमी भेगका गाउँसँग जोड्ने हुलाकी राजमार्ग अलपत्र अवस्थामा छन् । दशकौंदेखि जीर्ण उक्त सडकमा एम्बुलेन्स र वारुणयन्त्र पनि गुड्न नसक्ने स्थानीय अगुवा सुखिलाल यादव बताउँछन् । उनी भन्छन्, ‘यहाँसम्म पुग्ने दुइटै सडकको अवस्था अत्यन्तै जर्जर छ । यो सुगम जिल्लाका दुर्गम भेग हो ।’ पहिलो संविधानसभा चुनाव र त्यसअघि २०५४ मा भएको संसदीय निर्वाचनमा उक्त क्षेत्रबाट पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव विजयी भएका थिए । उक्त क्षेत्रको विकासप्रति यादवले खासै चासो नदेखाएको महसुस स्थानीयले गरेपछि दोस्रो संविधानसभा निर्वाचनमा उनी पराजित भएको यस भेगका मतदाताको भनाइ छ । यस क्षेत्रको राजनीतिमा यादव परिवारको पुरानै वर्चस्व मानिन्छ ।
स्थानीय तह निर्वाचनकाले उम्मेदवारले विद्युतीकरणलाई नै मुख्य चुनावी अजेन्डा बनाएका थिए । यसअघि दोस्रो संविधानसभा चुनावमा पनि नेताहरुले उम्मेदवारले रामनगर कोदरकट्टीमा बिजुली पु¥याउने आश्वासन नै बाँडेका थिए । तर चुनाव जितेकाहरु फर्केर नआएको स्थानीयको गुनासो छ । रामनगर कोदरकट्टी सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (पहिलाको ६) अन्तर्गत पर्छ । दोस्रो संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद यादवले चुनाव जितेका थिए । ‘त्यति बेला उनले हामीसँग निकै प्रतिबद्धता गरेका थिए, सडक, बिजुली, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा आमूल परिवर्तन ल्याउने आश्वासन बाँडेका थिए’, स्थानीय रतिलाल सदाले भने, ‘तर हाम्रो अवस्था आज पनि जस्ताको त्यस्तै छ ।’

त्रिपक्षीय भिडन्त, मतदाता निराश

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रमा नेपाली कांग्रेस, राजपा–फोरम गठबन्धन र वाम गठबन्धनका बीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । फोरम–राजपा गठबन्धनबाट पूर्वमन्त्री मृगेन्द्रकुमार सिंह यादव प्रतिस्पर्धामा छन् भने कांग्रेसबाट राज्यमन्त्री तेजुलाल चौधरी प्रतिस्पर्धा गर्दैछन् । वाम गठबन्धनले मोहम्मद इस्लामलाई उम्मेदवार बनाएको छ ।

रामनगरसँग जोडिएका काचन, रौतहट, बेल्ही, मौवाहा, मल्हनियाँ, मल्हनमालगायत सप्तरीको पश्चिमी भेगअन्तर्गत पर्ने ग्रामीण क्षेत्र विकासका दृष्टिले अझै पनि निकै पछाडि छन् । चुनाव जितेर गएका नेता आफ्नो प्रतिबद्धताप्रति इमानदार नरहेका कारण यस क्षेत्रको विकास हुन नसकेको मौवाहाका धिरज झाको गुनासो छ । बलान नदीछेउमै रहेको यस भेगलाई बर्सेनि बाढीले प्रभावित बनाउँछ ।

२०४६ सालदेखि नै मुलुकमा एकपछि अर्को राजनीतिक परिवर्तन आए पनि यस भेगका बासिन्दाले परिवर्तनको अनुभूति अलिकति पनि गर्न नपाएको झाको भनाइ छ । ‘नेताहरु आफ्नो प्रतिबद्धताप्रति इमानदार छैन्, चुनावका बेला ठूल्ठूला प्रतिबद्धता गर्छन्, जनतालाई आश्वासन बाँड्छन् तर जितेर गएपछि सबैको रबैयाँ उस्तै’, उनले भने, ‘नेताको बोलीमाथि विश्वास रहेन, यस चुनावमा जितेर जानेले पनि केहि गर्लान् जस्तो लाग्दैन ।’

प्रकाशित: ५ मंसिर २०७४ ०१:५४ मंगलबार

विकास पर्खंदै मधेसको देहात