नहरा (सिरहा)- भगवानपुर गाउँपालिका ३ नरहास्थित हुलाकी सडकको उत्तरपट्टि सात परिवार मलिक (डोम) को बस्ती छ । धुलाम्य सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन ।
सँगुर पाल्ने, बाँसका सामग्री बनाएर बेच्नेबाहेक यो समुदायसँग जीवन धान्ने अर्को विकल्प छैन । एलानी जमिनमा छाप्रोको ओत लागेर घामपानी छलेर जीवन काट्दै आएका यो बस्तीमा प्यास मेटाउन एकथान चापाकल धसाइएको छ । तर, यो चापाकलले पनि शुद्ध पानी फ्याँक्दैन, पानी तान्दा बालुवा मिसिएर आउँछ ।
‘चुनाव त धनीहरूलाई लाग्छ । हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ । हामीसँग त धम्क्याएरै भोट लिन्छन् ।’
एक त गरिबी, त्यसमाथि शिक्षा र चेतना अभाव । अभावमा बाँचेको यो समुदायको भोटले धेरै नेताको जिन्दगी फेरियो तर उनीहरूको अवस्था उस्तै दयनीय छ । अहिले चारैतिर चुनावी चहलपहल छ । ‘यस बस्तीमा कत्तिको चुनाव लागेको छ ?’ जिज्ञासा राख्दा बस्तीकी बजुनदेवी मलिक एकछिन चुप लागिन् । एकछिन घोरिएपछि उनले भनिन्, ‘केको चुनाव लाग्नु, चुनाव त धनीहरूलाई लाग्छ । हामी गरिब कमजोर मतदातालाई भरोसा बाँड्छन, बलियालाई पैसा छ । हामीसँग त धम्क्याएरै भोट लिन्छन् ।’ उनले चुनावी अनुभूति सुनाइन्, ‘एलानीमा बस्ने हामी गरिबसँग नेतासँग दोहोरो बोल्ने साहस हुन्न ।’
‘अगाडिको चुनाव (स्थानीय तह) मा नेता आएका थिए, थुप्रै वाचा बाँडेर गएका उनीहरू अभैm पर्केका छैनन् । मंसिरको चुनावका लागि भनेर अहिलेसम्म कोही नेता आएका छैनन्’, उनले थपिन् । प्रधान (गाउँपालिका प्रमुख) को चुनाव भएपछि नागरिकता सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर भोट हालेकी उनी भन्छिन्, ‘गाउँमा प्रधान (प्रमुख) जितेर हाकिम भए पनि हामी गरिबको सास्ती उस्तै छ ।’ छोरा भोला मलिकलाई रोजगारका लागि विदेश पठाउन नागरिकता सिफारिसका लागि महिना दिनदेखि गाउँपालिका र वडा कार्यालय धाउँदै आएको सुनाउँदै उनले भनिन्, ‘कहिले जनप्रतिनिधि भेटिँदैन, भेट्दा भोलि आउनू भन्दै फर्काउँछन् ।’
नागरिकताको सिफारिस नहुँदा छोरा विदेश जानबाट रोकिएको उनले सुनाइन् । उनको गुनासो छ, ‘नेताले हाम्रा लागि भरोसा बाँड्नेबाहेक केही गरिदिएनन्, आफैं गर्न खोज्दा पनि सहयोग गर्दैनन् ।’
नेताहरूलाई विश्वास गर्न सकिने आधार नभएको सोही समुदायकी समुद्रदेवी मलिकले बताइन् । ‘चुनावका बेला गाउँ आएका नेता ठूलाठूला प्रतिबद्धता गरेर फर्कन्छन्, आश्वासन बाँडेर जान्छन्’, उनले भनिन्, ‘तर चुनावपछि हाम्रो अवस्था भने उस्तै ।’
‘चुनावमा यो समुदाय भोट खसाल्ने मेसिनको रुपमा प्रयोग हुँदै आएको छ’, स्थानीय बुद्धिजीवी पशुपति यादवले भने, ‘चुनावका बेला प्रयोग गरेर बेहाल छाडिदिने ।’ चुनावका बेला लोभ्याएर भोट लिई फर्केर अनुहार नदेखाउने नेताका कारण विपन्न समुदायमा चुनावप्रतिको उत्साह घट्दै गएको उनको बुझाइ छ ।
दलित समूहमा सूचीकृत डोम र मुसहर जाति बसोवास गर्ने बस्तीमा अधिकतर परिवारका सदस्यका नाममा जग्गा छैन । ‘घर पनि ऐलानी जग्गामै छ, स्थानीय उम्दा मलिक भन्छिन्, ‘हामी तीनचार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौं तर हामीसँग जग्गाको कुनै प्रमाणपुर्जा छैन । प्रत्येक चुनावमा भोट माग्न आउने नेताले जीवनस्तर फेरिदिन्छौं भन्छन् तर, हाम्रो जीवनस्तर फेर्नेगरी कहिल्यै उनीहरूले काम गरेनन् ।’
भगवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । यसमा साबिकका निर्वाचन क्षेत्र नम्बर १ र २ समेटिएका छन् । यो क्षेत्रबाट एक दशकयता दुईजना मन्त्री भएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट राजलाल यादवले चुनाव जितेका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट रामचन्द्र यादवले जिते । दुवैजना मन्त्री भए । राजलाल विनाविभागीय मन्त्री भए भने रामचन्द्र सामान्य प्रसाशन मन्त्री बने । रामचन्द्र यसपालि चुनावी मैदानमा छैनन् । राजलाल संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
सधैं भरोसा बाँडेर भोट लिने तर कहिल्यै फर्केर ‘हाल’ बुझ्न नआउने नेतालाई यसपालि भोट नहाल्ने मनसाय विपन्न बस्तीको छ । ‘हाम्रो जीवनस्तर सुधार्न सक्ने उम्मेदवारलाई भोट हाल्छौं’, उम्दा भन्छिन्, ‘हाम्रा लागि आएको सेवासुविधा झ्वाम पार्नेलाई भोट दिन्नौं ।’
प्रकाशित: ५ मंसिर २०७४ ०१:४४ मंगलबार