राजनीति

माझीगाउँको सन्देश : बाचा पूरा गर्नेलाई भोट

माझीगाउँ (सिन्धुपाल्चोक)- चौतारा–दोलालघाट सडकको बन्देउबाट धुले सडक हुँदै केही अघि बढेपछि आउने जामुने गाउँका माझी युवा टहरोमा दलीय झन्डा गाढ्दै थिए । अलि पर एक्लेबेसीमा उम्मेदवारका प्रचार सामग्री टाँस्न व्यस्त माझी युवाको अर्को टोली भेटियो । इन्द्रावती फाँटको झुम्म बस्ती महादेवटार अझ रंगीन थियो । टहरोको धुरीमा दलीय झन्डा फहराउँदै पाखा, भित्तैभरि छपक्क प्रचार सामग्री टाँसेर माझी समुदाय स्वागतसाथ चुनावको प्रतीक्षामा छ ।
    साँगाचोक, भीमटारस्थित पिछडिएका अल्पसंख्यक माझी समुदायलाई चुनावी सरगर्मीले ह्वात्तै छोपेको छ । गाउँमा सबै उम्मेदवार आइदिऊन् भन्ने चाहिरहेका उनीहरु कसलाई भोट दिने भनेर अहिलेसम्म खुलिसकेका छैनन् । सबै उम्मेदवारको बाचा सुनेपछि मात्र खुल्ने पक्षमा देखिए उनीहरु ।
    ‘जति मरिहत्ते गरुन्, भोजभतेरमा बिकेर भोट खस्नेवाला छैन,’ माटो र बाँसको टहरोअघि गाँसकै चिन्ताले घोत्लिरहेकी ७० वर्षीया सीता माझीले भनि, ‘मासु र रक्सीमा बिकेर भोट हाल्ने चलन इन्द्रावती नदीले बगाइसक्यो ।’ विगतका चुनावमा भोजभतेरमा बिक्दा गाउँ विकासमा पछाडि परेको दुःखेसो उनले पोखिन् ।
    सीताले सबै कुरा बताउन नपाउँदै भोट माग्न राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा आइपुगे । सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी यो माझीगाउँ आइपुग्ने पहिला उम्मेदवार रहेछन् । उनका विकासे बाचा सुन्न घरधन्दा र घर बनाइरहेका स्थानीय आइपुगे । राणा भोट माग्दै आफ्ना प्रतिबद्धता सुनाएर हिँडे । तर स्थानीयले भोट दिन्छु, दिन्न भनेर केही पनि भनेनन् ।
    विगतमा दलका नेता तथा उम्मेदवारले गरेको बाचा एउटै पूरा नभएपछि माझी समुदायमा आक्रोश रहेछ ।  ‘गाउँका महिलालाई पानीको कम्ती दुःख छैन,’ पुनः समस्या सुनाउँदै वृद्धा सीताले भनिन्, ‘यत्रो फाँट सिँचाइ नपाएरै बाँझो छ । अहिलेसम्म कसैले केही गर्देका होइनन् ।’ गाउँमुनिबाट इन्द्रावती बगिरहे पनि खानेपानी र सिञ्चाइ सुविधाबाट वञ्चित हुनुपरेको उनले सुनाइन् ।     
    यहाँका बस्ती जामुने, भीमटार, एक्लेबेसी, महादेवस्थानमा २ सय भन्दाबढी घरधुरी माझी समुदायको बसोबास छ । कमाइले तीन महिनाभन्दा बढी खान नपुग्ने उनीहरु आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछाडि छन् ।     ‘गाउँमा नेताहरुसँग निकै आक्रोश छ,’ स्थानीय अहिलेसम्म नखुल्नुको कारण बताउँदै ४१ वर्षीय तेजबहादुर माझीले भने । गाउँलेले यसपटक न्यूनतम खानेपानी र सिञ्चाइ दिने बाचा गर्ने विश्वासिलो नेतालाई मात्र भोट हाल्न चाहेको उनले सुनाए । ‘सबै उम्मेदवारका बाचा सुनेपछि गाउँ सल्लाहमा एउटा साझा उम्मेदवारलाई भोट दिने तयारी छ,’ उनले भने ।
    अधिकांश माझीसँग घरघडेरीबाहेक जग्गा छैन । भएको जग्गा पनि सिञ्चाइ अभावमा बाँझै रहन्छ । इन्द्रावतीमा माछा मार्ने मुख्य पेसा भएका उनीहरु भूकम्पले घर ढालेपछि झन् प्रताडित छन् । भूकम्पको ३० महिनापछि बल्ल स्थानीय घर बनाउन जुटेका छन् । गाउँमा विकासको नाममा धुले सडकबाहेक अरु केही देख्न पाइँदैन ।
    २ सय माझी बालबालिका पढ्ने भूकम्पले ढालेको विद्यालय अझै पुनर्निर्माण भएको छैन । इन्द्रावतीबाट ढुंगा, गिटी निकालेर गुजारा गर्न उनीहरु पाउँदैनन् । नदीमा गुण्डाराज चल्दा बगरको स्वामित्वबाट माझी समुदाय वञ्चित हुनु परेको तेजबहादुरको गुनासो छ । उनका अनुसार गाउँलेले नदीमाथिको स्वामित्वलाई पनि भोट दिने सर्त बनाउनेछन् ।
    माझी गाउँमा पहिलोपटक एसएसली पास गरेका गणेश माझी अहिले स्थानीय विद्यालयमा शिक्षण गर्छन् । २०५७ मा उनले यो सफलता प्राप्त त्यसपछि २० जतिले मात्र एसएलसी उत्तीर्ण गरेका छन् । उनका अनुसार गाउँमा विद्यालय भए पनि ८ कक्षासम्म मात्र पढाइ हुन्छ । ‘थप अध्ययन गर्न दुई घन्टा पैदल हिँडेर साँगाचोक भन्ज्याङ पुग्नुपर्छ,’ उनले भने ।
    गाउँले अशिक्षित रहँदा पहिला–पहिलो भोजभतेरमा भोट दिने प्रवृत्ति रहेको उनी सुनाउँछन् । गाउँलेले धेरै कुरा बुझिसकेको र पछिल्लो समय गाउँमा चेतना लहर फैलिरहेकाले यसपटक त्यस्तो नहुने उनी बताउँछन् । ‘आश्वासनमात्र बाँड्नाले गाउँलेमा नेताप्रति आक्रोश छ,’ उनी भन्छन्, ‘त्यसैले पनि यो पटक भोजभतेरमा भोट बिक्दैन ।’
    गत स्थानीय तह निर्वाचनमा स्थानीयले माझी एकता देखाएका थिए । आआफ्ना पार्टी नभनी उनीहरुले वडाध्यक्षमा आफ्नै समुदायका सुशील माझीलाई जिताए । अरुले भन्दा गाउँको दुःख बुझेको गाउँलेबाटै विकास हुने बुझाइले उनीहरुले सल्लाहमै उनलाई जिताएका थिए ।

प्रकाशित: ३ मंसिर २०७४ ०३:३७ आइतबार

माझीगाउँको सन्देश बाचा पूरा गर्नेलाई भोट