राजनीति

एमाले—माओवादी एकता तत्काल सम्भव छैन: ओनसरी घर्ती

बागलुङ- पूर्व सभामुख ओनसरी घर्तीले तत्कालै माओवादी एमाले बीचको पार्टी एकता सम्भव नभएको बताएकी छिन्। आईतबार प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सैद्धान्तिक कुराहरुमा मतऐक्यता हुन बाँकी रहेकाले तत्कालै पार्टी एकताको सम्भावना नरहेको बताईन्।

‘म पनि चाहान्छु पार्टी एकता छिटो भन्दा छिटो होस,’ उनले भनिन्,‘तर अहिले सबै नेताहरुको निर्वाचनको चटारोमा लागेकाले तत्कालै एकता हुने सम्भवना कम छ। परिस्थिति पाकिसकेको छैन, कहिलेकाँही हतार गर्दा गलत परिणाम पनि आउँछ।’ अहिले वाम शक्तिहरु ध्रुवीकरण भएर एक ठाउँमा उभिनु देश र जनताको माग भए पनि पार्टी एकता गरेर जानका लागि केही समय लाग्ने उनको भनाई थियो । ‘पार्टी एकताका लागि आवश्यक बहस पूरा हुन पाएको छैन,’उनले भनिन्,‘पर्याप्त बहस बिना हतारमा काम गर्दा गलत नतिजा पनि आउन सक्छ।’

च्याउ उम्रिए जसरी खुलेका राजनीतिक पार्टीहरुकै कारण मुलुकले स्थीर सरकार पाउन नसकेकोले संविधानमै थ्रेस होल्डको व्यवस्था गरिएको घर्तीले बताईन् । ‘मुलुकमा स्थीत सरकार ल्याउनका लागि राजनीतिक दलहरु थोरै हुन आवश्यक छ, त्यसका लागि विचार मिल्ने शक्तिहरुबीच एकता हुनुपर्छ,’ उनले भनिन्,‘हामीले धेरै राजनीतिक परिवर्तन गरिसक्यौं, अब विकास बाहेक जनतालाई दिने कुनै पनि नारा हामीसंग छैन। विकासका लागि स्थीर सरकार अनिवार्य छ।’

 

 

 

प्रकाशित: २६ कार्तिक २०७४ ०८:५३ आइतबार

एमाले—माओवादी एकता तत्काल सम्भव छैन ओनसरी घर्ती