राजनीति

मन्त्रीकै उपस्थितीमा विद्यालयमा चुनावी सभा र भोज

सप्तरीको खुरहुरीया स्थित जनता माविको कक्षा कोठामा कार्यकर्तालाई खुवाउन माछा पकाउँदै नेपाली कांग्रेसका कार्यकर्ताहरु। तस्बिर: जीतेन्द्र

खुरहुरीया(सप्तरी)- नेपाली कांग्रेसले सप्तरीको  विद्यालय प्रांगणमा चुनावी सभा तथा भोज गरेको छ। कांग्रेस निर्वाचन क्षेत्र नम्बर दुईले जिल्लाको पश्चिमी भेगका दुई विद्यालयहरुमा ‘विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’को आयोजना गरेको हो। निर्वाचन आचार संहिताले विद्यालयमा चुनावी सभालाई प्रतिवन्धित गरेको छ । यद्यपी वर्तमान सरकारका पर्यटनमन्त्री जीतेन्द्रनारायण देवको समेतको उपस्थितीमा उक्त चुनावी सभाहरु आयोजना भएका हुन्।

जिल्लाको डाक्नेश्वरी नगरपालिका अन्तर्गत पर्ने साविकको पत्थरगाडा गाविस स्थित राष्ट्रिय प्राथमिक विद्यालय सखुवा तथा विष्णुपुर गाउँपालिकाको खुरहुरीया स्थित जनता माविमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमका कारण विद्यालयको पठन पाठन समेत प्रभावित हुन पुगेको थियो। उक्त दुवै कार्यक्रममा वर्तमान सरकारका नागरिक उड्डयन तथा पर्यटन मन्त्री जितेन्द्रनारायण देव प्रमुख अतिथीको रुपमा नव प्रवेशिहरुलाई अविर लगाउँदै पार्टीमा स्वागत गरेका थिए।

आयोजकहरुले शुक्रवार रहेका कारण विद्यालय बन्द भएपछि दिउँसोबाट आफुहरुले कार्यक्रम आयोजना गरेको बताउँदै आएका छन् । यद्यपी राप्रावि सखुवामा भने दिउँसो १२ बजे अघि देखिनै कार्यक्रम सञ्चालनमा रहेको थियो । यता खुरहुरीया स्थित जनता माविमा समेत कांग्रेसको कार्यक्रमकै कारण निर्धारित समय भन्दा एक घण्टी अगाडीनै विद्यालयमा छुट्टि गर्नुपरेको स्थानीय शिक्षक महिनारायण यादवले जानकारी गराए। ‘प्रत्येक शुक्रवार हामि पाँछ घण्टी पढाउने गर्दछौ, तर आज ४ घण्टी मात्रै पठन पाठन हुन सक्यो’, शिक्षक यादवले भने।

        विद्यालयमा आयोजित कार्यक्रममा नवप्रवेशी कांग्रेसीलाई स्वागत गर्दै नागरिक उड्डयन तथा पर्यटन मन्त्री जितेन्द्रनारायण देव।

  पहिलो घण्टी सञ्चालन भएकै वेलानै विद्यालयको मुख्य गेटमा पार्टीको झण्डा बाँधन लागिएको तथा विद्यालय परिसरमै मञ्च निर्माण हुन थालेपछि आफुहरुले प्रअ लगायतका जिम्मेवार व्यक्तिहरुलाई यस्तो नगर्ने आग्रह समेत गरेको शिक्षक यादवको भनाई छ।

विद्यालय परिसरमा कार्यक्रमको आयोजना मात्रै गरिएको थिएन । सिंगो विद्यालयनै पार्टीका झण्डा तथा ब्यानरहरुले सिंगारिएको थियो । कक्षा कोठाहरुमा पार्टीका नेता कार्यकर्ताहरुका लागि चिया नास्ता र खाना सम्मको प्रबन्ध मिलाईएको थियो। विद्यालयमा नै भोज लगाइएको थियो। बालबालिकाहरुको पठन पाठन हुने कोठा भान्छा र स्टोरमा परिणत भएका थिए।

          विद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादव पनि मंचमै बसेका थिए। उनले सभालाई सम्बोधन मात्रै गरेनन् कांग्रेसका लागि औपचारिक रुपमा भोट नै मागे । ‘म यस विद्यालयको प्रधानाध्यापक समेत हुँ तर कांग्रेस निकटको शिक्षक संघ सँग समेत आवद्ध छु’, सम्बोधनका क्रममा प्रअ यादवले भने, ‘कांग्रेसलाई भोट हाल्न म सवैसँग विनम्र अनुरोध गर्दछु।’

          यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादवले आफुलाई कांग्रेसको कार्यक्रम बारे केहि पनि जानकारी नरहेको बताए।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले समेत कार्यक्रमबारे आफुलाई केहि पनि जानकारी नरहेको र यस सम्बन्धमा सुरक्षा संयन्त्रवाट जानकारी संकलन गरिरहेको बताए। कार्यक्रममा सरकारका मन्त्री समेतको सहभागिता हुँदा पनि सुरक्षाको दृष्टिले समेत आयोजकहरुले आफुहरुलाई केहि पनि जानकारी नगराएको प्रजिअ पाण्डेको भनाई थियो। ‘आचार संहिताको पालनका लागि हामिले सम्पुर्ण राजनीतिक दलहरुसँग आग्रह गरिसकेका छौ, उनीहरुले पनि प्रतिवद्धता जनाएको छ’, उनले भने, ‘विद्यालयमा कार्यक्रम गर्नु आचारसंहिता विपरित हो, यसो गर्नु उपयुक्त हुँदैन।’

          सप्तरीका मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुंगानाले यसवारे विस्तृत जानकारी लिने काम भईरहेको बताए। ‘कार्यक्रम अघि जानकारी पाएको भए रोक्न सक्ने अवस्था पनि हुन्थ्यो’, उनले भने, ‘अब त के गर्न सकिन्छ र, कसैले उजुरी गर्यो भने तत अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउने छौ।’

सप्तरी निर्वाचन क्षेत्र नम्बर तीनवाट नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव प्रतिनिधि सभाका लागि उम्मेदवार छन्।

 

 

 

प्रकाशित: २४ कार्तिक २०७४ १३:५९ शुक्रबार

मन्त्रीकै उपस्थितीमा विद्यालयमा चुनावी सभा भोज