राजनीति

कोशीको राजनीतिक सङ्कट टर्‍यो: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेको राजनीतिक सङ्कट टरेको बताएका छन्।

आज मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण पछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै कार्कीले कोशी प्रदेशको राजनीतिक सङ्कट टरेको बताएका हुन्।

कार्कीले कोहीमा मध्यावधि निर्वाचन होला भन्ने जनताको चिन्ता अब, हटेको दाबी गरे। कार्कीले भने ‘कोशीको राजनीतिक सङ्कट समाधान भएको छ । प्रदेशसभा विघटन भएर फेरि मध्यावधि चुनावको मतदानमा जानुपर्छ की। राज्यको ढुकुटी बिचैमा चुनावका लागि खर्च हुन्छ की भन्ने जनताको चिन्ता अन्त्य भएको छ।’ कोशीका सामाजिक, सांस्कृतिक र विभिन्न खालका समस्याहरू प्रदेशको समृद्धि, सौहार्द्यता र सद्भाव कायम गर्न  वार्ता र संवाद र सहमतिबाट टुंगो लगाउने  बताए।

उनले प्रदेशमा भौतिक विकास मात्रै नभई मानवीय विकासका लागि पनि सरकारले काम गर्ने स्पष्ट पारे। कार्कीले कोशी प्रदेशमा गठन भएको सरकारलाई सहमतिको सरकार बनाउने पनि दाबी गरे। उनले भने,‘प्रदेशसभाका सबै सांसदहरूको सहमतिको सरकारका रुपमा यो सरकारलाई अघि बढाउँछौँ।’ कार्कीले आफ्नो नेतृत्वको सरकारलाई प्रदेशसभाका ९३ जना सदस्यहरूकै समर्थन हुने बताए।

प्रकाशित: २८ आश्विन २०८० १२:४० आइतबार

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की