राजनीति

मन्त्रीको आश्वासन बाँड्दै ओली

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री बनाउने अश्वासन बाँड्न थालेका छन् । पूर्वप्रधानमन्त्री ओलीले वाम गठबन्धनले दुईतिहाइ नसके स्पष्ट बहुमत ल्याउने दाबी चुनावी कार्यक्रममा गर्दै सम्भावित मन्त्रीका रुपमा पार्टीका उम्मेदवारलाई प्रस्तुत गर्ने थालेका छन् ।
एक सातामा सहभागी भएका तीन छुट्टाछुट्टै कार्यक्रममा ओलीले तीन उम्मेदवारलाई मन्त्री बनाउने आश्वासन दिइसकेका छन् ।  
ताप्लेजुङ पुगेका ओलीले त्यहाँबाट एमालेका उम्मेदवार बनेका सचिव योगेश भट्टराईलाई राम्रो सम्भावना भएको नेता भएको बताए । ‘योगेशलाई जिताएर पठाउनुहोस । म मन्त्रीको बिल्ला भिराएर फर्काउँछु,’ उनले भने, ‘यस्तो युवा, यस्तो अनुभवी, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङका जनताले विश्वास गरेको युवा मस्तिस्क हो योगेश । तपाईंहरू ढुक्क हुनुहोस् ।’
पहिलो चरणका चुनाव प्रचारलाई लक्षित गर्दै तयार पारिएको ‘ताप्लेजुङ–दार्चुला अभियान’ को उद्घाटन गर्न ओली त्यहाँ गएका थिए ।
त्यसैगरी मंगलबार काठमाडौं क्षेत्र नम्बर ५ को चुनाव प्रचारमा ओलीले त्यस क्षेत्रमा एमाले उम्मेदवार ईश्वर पोखरेल कम्तीमा उपप्रधानमन्त्री हुने बताए । ओलीले महासचिव पोखरेलको प्रधानमन्त्री हुने योग्यता पुगेको तर त्यो अरुको भागमा परे उनी उपप्रधानमन्त्री बन्ने बताए । ‘ईश्वरजीले अघिल्लो चुनावमा हारेकोमा आश्चर्य लागेको छ । ७० साल सूर्यमा ग्रहण लागेको थियो । यसपटक लाग्दैन,’ ओलीले भने, ‘ईश्वरजी प्रधानमन्त्री हुने योग्यता राख्नुहुन्छ, प्रधानन्त्री अरुको भागमा परे उपप्रधानमन्त्री हुनुहुन्छ ।’
बिहीबार नै ओलीले काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजना गरिएको चुनावी कार्यक्रममा  पनि त्यस क्षेत्रका उम्मेदवार राजन भट्टराईलाई सम्भावित मन्त्रीको रुपमा चर्चा गरे । उनले भट्टराईलाई चुनाव जितेर सांसद बनाउनमात्रै टिकट नदिएको बताए । ‘राजन भट्टराईले चुनाव जित्नुहुन्छ । उहाँलाई चाबहिलबाट संसद्, ससद्बाट चाबहिल फर्किन मात्रै टिकट दिएको होइन,’ ओलीले भने, ‘विदेश मामिलाविज्ञ हुनुहुन्छ, माधव नेपालले प्रधानमन्त्री हुँदा परराष्ट्र मामिला सल्लाहकार बनाउनुभयो, मेरो पालामा विदेश नीति नै बनाउनुभयो, अब बुझ्नु, उहाँको भूमिका अबको सरकारमा के हुन्छ ?’
 

भारतसँग समस्या राख्न डराए प्रधानमन्त्री
ओलीले भारतसँग प्रधानमन्त्री शेरबहादुर देउवाले कुरा गर्ननसकेका कारण सीमा समस्या देखिएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सीमाक्षेत्रमा ट्रक र ट्यांकर लाममा बसेको विषयलाई प्रधानमन्त्री देउवाले भारतीय पक्षसँग राख्न नसक्दा समस्या भएको बताए ।
‘प्रधानमन्त्रीले सीमावारि भाषण गर्नुभयो सीमापारि महिनौंदेखि समस्या छ ’ ओलीले भने, ‘भारतसँग कुरा गर्नुप¥यो भने चारपटक चस्मा मिलाउनुपर्छ, पाँचपटक दौरा तान्नुपर्छ । उहाँ भन्न सक्नुहुन्न, भन्नेमात्रै हो भने त्यो लाम खुल्थ्यो, तर राजदूतसँग पनि भन्ने हिम्मत पछैन । कठैबरी !’ ओलीले सीमा क्षेत्रमा गाडी रोकिँदा नेपाली व्यवसायीले दैनिक लाखौं रुपैयाँ घाटा ब्यहोरिहेको बताए ।
कार्यक्रममा ओलीले देउवाले संविधान सशोधन गर्ने भनेर कांग्रेसलाई भोट मागेको विषयमा समेत आलोचना गरे । ‘संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्तै राष्ट्रपति बनाउनका लागि ?’ ओलीको प्रश्न थियो, ‘नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्नका लागि ? कसलाई रिझाउन बोलेको ?’

प्रकाशित: २४ कार्तिक २०७४ ०१:५१ शुक्रबार

मन्त्रीको आश्वासन बाँड्दै ओली