झापा- ‘पाहुनालाई दुई–चार दिन मिठोमसिनो खुवाएर राख्न सकिन्छ, घरै जिम्मा लगाउन सकिँदैन’, झापा क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालका भित्ता अचेल यही र यस्तै आसयका भनाइले रंग्याएका छन् ।
झापामा एमाले र कांग्रेस परम्परागत प्रतिस्पर्धी हुन् । तर यसपटक ओलीकै गृहजिल्लाको दुइटा महŒवपूर्ण क्षेत्रमा एमाले उम्मेदवार छैनन् । १ मा माओवादी र ३ मा राप्रपा प्रतिस्पर्धामा उत्रिएपछि एमाले भूमिकाबारे सबैमा ठूलो कौतूहल छ ।
कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले फरक सन्दर्भमा बोलेको लाइन टपक्क टिपेर उनीहरूले त्यसको निसाना माओवादी नेता राम कार्कीतिर ताकेका हुन्, जो ओलीकै दलको समर्थनमा, उनकै गृहजिल्लाको क्षेत्र नम्बर १ मा वाम गठबन्धनको उम्मेदवार बन्न आइपुगेका छन् । पहिला ताप्लेजुङबाट चुनाव लडेका कार्की मेची अञ्चलमै माओवादीका एक्ला उम्मेदवार हुन् ।
कांग्रेस नेता विश्वप्रकाश शर्मासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका कार्कीलाई आफू ‘पाहुना उम्मेदवार’ नभएको दलिल पेस गर्न हम्मे परिरहेको छ । त्यसैले उनी कुनै बेला पार्टीको मेची अञ्चल इन्चार्ज रहेको, झापाकै बुधबारेमा आफ्नो घरजग्गा रहेको तथा भूमिगत कालमा झापामा बसेर राजनीतिक काम गरेको साइनो देखाइरहेका छन् । उनका समर्थक ‘मतदातालाई नेता चाहिएको हो कि छिमेकी ?’ भन्दै प्रतिवाद गरिरहेका छन् । दुवै नेताका समर्थकको दोहोरीले सामाजिक सञ्जाल तातेको छ ।
एमाले अध्यक्ष ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतका ‘हेभिवेट’ नेताको जिल्ला झापामा यसपटक क्षेत्र नम्बर १ र ३ ले सबैको ध्यान खिचेको छ । सधैंका बलिया उम्मेदवार ओलीको क्षेत्रमा यसपटक कांग्रेसले राजनीतिक प्रभावका दृष्टिले कमजोर उम्मेदवार उठाएपछि झापा ५ मा एकतर्फी नतिजाको अनुमान छ । झापा ५ मा कांग्रेसले त्रिचन्द्र कलेजमा प्राध्यापनरत डा. खगेन्द्र अधिकारीलाई अघि सारेको छ । त्यसैले त्यहाँ ओलीलाई सहज हुने अनुमान छ । तर, कांग्रेस प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन भिडेको क्षेत्र नम्बर ३ र कांग्रेस नेता शर्मा र माओवादी नेता कार्की प्रतिस्पर्धामा उत्रेको झापा १ मा भने बेग्लै चुनावी उत्साह छ ।
झापा १ मा ०७० को चुनावमा एमालेका रबिन कोइरालाका निटकतम् प्रतिस्पर्धी बनेका शर्माविरुद्ध उम्मेदवारी दिएका माओवादीका कार्कीको प्रस्तावक यसपटक कोइराला नै छन् । ३ मा भने अघिल्लो चुनाव विजेता सिटौला र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ । लिङ्देनलाई वाम गठबन्धनको समर्थन छ । यद्यपि वाम गठबन्धनमा यस विषयमा असन्तोष पनि उत्तिकै छ । एमाले, माओवादी र राप्रपाको संयुक्त मोर्चाको घेरामा परेको कांग्रेसले यी दुवै क्षेत्रमा चलाएको चुनावी नारा पनि फरक छ । १ मा ‘स्थानीय रोज्ने कि पाहुना’ भन्ने नारा व्यापक बनेको छ भने ३ मा ‘गणतन्त्रवादी रोज्ने कि राजावादी ?’ भन्ने नारा सिटौला समर्थकको छ ।
दुई ध्रुवमा ध्रुवीकृत बनेर चुनाव लडिरहेका नेताहरूको दलीय प्रभाव मात्रै नभई उम्मेदवारको व्यक्तिगत प्रभाव मूल्यांकनको होडसमेत यी दुई क्षेत्रमा चलेको छ । चुनावी प्रतिस्पर्धाको सबैभन्दा रोचक थलो नै यिनै दुई ठाउँ बन्ने देखिएको छ । ‘सधैं सबैजसो क्षेत्रमा उस्तै प्रतिस्पर्धा देखिने झापामा यसपटक दुई ठाउँ रोचक हुने देखिन्छ’, पत्रकार मोहन काजी भन्छन्, ‘दुवै क्षेत्रका सबै प्रतिस्पर्धी नेताहरूको बलियो व्यक्तिगत छविले काम गरेको छ ।’
झापामा एमाले र कांग्रेस परम्परागत प्रतिस्पर्धी हुन् । तर यसपटक ओलीकै गृहजिल्लाको दुइटा महŒवपूर्ण क्षेत्रमा एमाले उम्मेदवार छैनन् । गठबन्धनबाट १ मा माओवादी र ३ मा राप्रपा प्रतिस्पर्धामा उत्रिएपछि एमाले भूमिकाबारे सबैमा ठूलो कौतूहल छ ।
झापा ४ कांग्रेसले जित्दै आएको क्षेत्र हो । यस क्षेत्रबाट ०६४ र ०७० मा केशवकुमार बुढाथोकीले जितेका थिए । कांग्रेसबाट यसपटक देउकुमार थेवे प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा निटकतम प्रतिस्पर्धी एमालेका एलपी सावाँ फेरि प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर २ पनि यसअघि कांग्रेसले जितेको थियो । कांग्रेस झापा सभापति उद्धव थापा अघि सरेको यहाँ वाम गठबन्धनबाट ०७० की निकटतम् प्रतिस्पर्धी एमालेकी पवित्रा खरेल उम्मेदवार छिन् ।
कस्तो छ गणित ?
असारमा सम्पन्न स्थानीय चुनावको मत परिणाम र अहिले बनेको गठबन्धनको दृष्टिले जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनको मतसंख्या ठूलो छ । तर, विगतको मतलाई मात्रै आधार मानेर चुनाव नजितिनेमा उम्मेदवार र तिनका समर्थक पनि ढुक्क छन् । त्यसैले दुवै गठबन्धनका उम्मेदवारले चुनावी अभियान तीव्र पारेका छन् ।
मेचीनगरका १५ वटै वडा, भद्रपुर नगरका ९ र १० नम्बर वडा तथा बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडा समेटिएको झापा १ मा १ लाख ५ हजार ४ सय ७५ मतदाता छन् । यस क्षेत्रमा स्थानीय चुनावमा एमालेका वडाध्यक्षले २५ हजार ३ सय ३१, माओवादीकाले ११ हजार ४ सय ७७ र राप्रपाकाले २ हजार ५ सय १५ मत ल्याएका थिए । यसरी संयुक्त मोर्चाको मत ३९ हजार ३ सय ३२ हुन्छ भने कांग्रेसको मत २२ हजार २ सय ८१ हुन्छ । तर, यो क्षेत्रमा पर्ने मेचीनगरको प्रमुख र बुद्धशान्ति गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो ।
अर्जुनधारा नगरका सबै वडा, बिर्तामोडका १ देखि ९ नम्बरसम्मका वडा, बुद्धशान्ति गाउँपालिकाका १, २, र ३ तथा कनकाई नगरका ८ र ९ नम्बर वडा समेटिएको झापा २ मा १ लाख १८ हजार १ सय ९६ मतदाता छन् । यहाँका एमाले वडाध्यक्षले २६ हजार ९ सय ८८ मत, माओवादीकाले ७ हजार ९ सय र राप्रपाकाले ५ हजार ५ सय ३२ मत पाएका थिए । यसरी गठबन्धनको मत ४० हजार ४ सय २० हुन्छ भने कांग्रेसको मत २२ हजार ८ सय ९० हुन्छ ।
बाह्रदसी, हल्दीबारी, कचनकवल गाउँपालिका सबै, भद्रपुरको १ देखि ८ नम्बरसम्मका वडा र बिर्तामोडको १० नम्बर वडा समेटिएको झापा ३ मा १ लाख १४ हजार ५ सय ८६ मतदाता छन् । यस क्षेत्रमा गठबन्धनको मत कांग्रेसको तुलनामा दोब्बर बढी छ । स्थानीय चुनावमा यहाँका एमालेका वडाध्यक्षले २० हजार २ सय ९६, माओवादीले १० हजार ४ सय ५३ र राप्रपाले १२ हजार ८ सय ८१ मत पाएका थिए । यसले गठबन्धनको मत ४४ हजार ३ सय ३० हुन्छ भने कांग्रेसको मत १८ हजार २ सय ६० मत हुन्छ । बाह्रदसीमा अध्यक्ष–उपाध्यक्ष कांग्रेसले, हल्दीबारीमा राप्रपा, कचनकवलमा राप्रपा र भद्रपुरमा प्रमुख–उपप्रमुख एमालेले जितेका थिए ।
झापा ४ मा १ लाख ९ हजार ३ सय ९१ मतदाता छन् । झापा गाउँपालिका, गौरादह नगरको ९ नम्बर वडा, गौरीगन्ज गाउँपालिकाका १ र २ वडा, कनकाई नगरका १ देखि ७ सम्मका वडा र शिवसताक्षी नगरका सबै वडा समेटिएको यस क्षेत्रमा एमालेका वडाध्यक्षको मत २५ हजार ९ सय १६, माओवादीको ८ हजार ७ सय २८, राप्रपाको ३ हजार ६७ मत छ । यसरी गठबन्धनको मत ३७ हजार ७ सय ११ मत हुन्छ भने कांग्रेसको २२ हजार ९ सय ७३ मत हुन्छ । झापा गाउँपालिका र गौरादहको प्रमुख पद कांग्रेसले जितेको थियो भने कनकाई र शिवसताक्षीका मुख्य दुई पद एमालेले जितेको हो । गौरीगन्ज गाउँपालिकाको अध्यक्ष राप्रपाले जितेको थियो ।
दमक, कमल गाउँपालिका, गौरादहका १ देखि ८ नम्बरसम्मका वडा र गौरीगन्जका ३,४,५ र ६ नम्बर वडा समेटिएको झापा ५ मा १ लाख ३७ हजार ५ सय ११ मतदाता छन् । स्थानीय चुनावमा यहाँका वडाध्यक्षका उम्मेदवारमध्ये एमालेकाले ३० हजार ६ सय ७८, माओवादीकाले १३ हजार १ सय ६३ र राप्रपाका उम्मेदवारले ८ हजार ९ सय ७० मत पाएका थिए । यसरी गठबन्धनको मत ५२ हजार ८ सय ११ हुन्छ भने कांग्रेसको २१ हजार १ सय ५१ मत हुन्छ ।
प्रकाशित: २१ कार्तिक २०७४ ०३:२३ मंगलबार