राजनीति

घोषणापत्रबिना नै उम्मेदवार घरदैलोमा

काठमाडौं- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणापत्रबिना नै घरदैलो कार्यक्रममा सक्रिय छन् । सत्तारुढ नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणापत्र सार्वजनिक गर्न पनि सकिरहेका छैनन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई घोषणापत्र उपलब्ध गराउन सकेको छैन ।

टिसर्ट छपाइ र भोजभतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाडीमा समेत चुनावी घोषणापत्र फेला पार्न मुस्किल छ ।

टिसर्ट छपाइ र भोजभतेरमा बढी ध्यान दिएका उम्मेदवारको झोला र गाडीमा समेत चुनावी घोषणापत्र फेला पार्न मुस्किल छ । सिन्धुपाल्चोक, जुगल गाउँपालिकाका रामबहादुर तामाङले पार्टीका घोषणापत्र पढ्न नपाएको गुनासो गरे । ‘भोट माग्न त आएका छन् तर चुनावी घोषणापत्र लिएर भोट माग्न अहिलेसम्म कोही पनि आएका छैनन्,’ तामाङले नागरिकसँग भने, ‘बरु टिसर्ट, झन्डा, पोस्टर र भोजभतेर भने गाउँमा छ्यापछ्याप्ती छ ।’
सोही ठाउँमा पुगेका सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत पनि घोषणापत्र नलिईकन चुनावी सभामा पुगेका थिए । यसअघिको संविधानसभा चुनावमा सोही क्षेत्रबाट विजेता बस्नेतले विगतमा सिन्धुपाल्चोक क्षेत्रमा गरेको विकास र अब आफूले गर्न खोजेको विकासको फेहरिस्त सुनाए तर पार्टीको चुनावी घोषणापत्रबारे भने केही पनि उल्लेख गरेनन् । उनीसँग पनि साथमा घोषणापत्र थिएन ।
एमाले–माओवादी गठबन्धनले चुनावी घोषणापत्र अझै सार्वजनिक गर्न सकेको छैन । ‘घोषणापत्र तयार छ, घोषणा गर्न बाँकी रहेकाले जनतासम्म पु¥याउन सकिएको छैन,’ ललितपुर–३ की गठबन्धन उम्मेदवार पम्फा भुसालले भनिन् । उनका अनुसार २३ गतेदेखि घरदैलो र चुनावी सभा गरिने भएको हुँदा घोषणापत्रसहित जाने समय अझै बाँकी छ ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत पर्सा जिल्लाबाट प्रदेशसभाका उम्मेदवार छन् तर उनी पनि घोषणपत्रबिना नै घरदैलोमा व्यस्त छन् । पर्सा–१ (ख) का उम्मेदवार उनले घोषणापत्र बनिरहेको बताए । ‘उम्मेदवार भएकाले घरदैलोमा व्यस्त छु, तीनवटा ठाउँमा सकिसकें, अन्यत्र जारी छ,’ राउतले नागरिकसँग भने, ‘घोषणापत्र बनाउने जिम्मा राजेन्द्र (श्रेष्ठ) जीहरुको हो, चाँडै सार्वजनिक हुन्छ ।’ संघीय फोरमले बुधबारसम्म घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका राखेको छ ।
अर्को मधेसवादी दल राजपाले पनि घोषणापत्र तयार पार्न सकेको छैन । राजपा अध्यक्ष मण्डलका सबै ६ अध्यक्ष चुनावी सभा र घरदैलोमा व्यस्त छन् । महन्थ ठाकुर महोत्तरी, राजेन्द्र महतो धनुषा, अनिलकुमार झा रौतहट पुगेर घरदैलो र चुनावी सभामा व्यस्त छन तर घोषणापत्र भने उम्मेदवारको साथमा अझै पनि पुगिसकेको छैन । ‘घोषणापत्र तयार हुँदैछ, केही दिनमा सार्वजनिक गर्छाैं’, सो दलका महासचिव रामनरेश रायले नागरिकसँग भने । स्थानीय तहको निर्वाचनमा तयार पारिएको घोषणापत्रले नै केही उम्मेदवारले काम चलाउँदै गरेको नेताहरुले बताएका छन् ।
राप्रपा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापा एक साता यता मकवानपुर–१ मा चुनावी सभा र घरदैलोमा व्यस्त छन् तर उनीसँग पनि घोषणापत्र छैन । ‘भोलि (मंगलबार) हाम्र्रो पार्टीको घोषणापत्र सार्वजनिक हुँदैछ, लगत्तै उम्मेदवारलाई दिएर गाउँगाउँ जानेछौं’, राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकसँग भने ।
पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले पनि चुनावी घोषणापत्र सार्वजनिक गरेको छैन तर अध्यक्ष राणा सिन्धुपाल्चोक–२ मा घरदैलो मात्रै होइन, चुनावी सभा र आन्तरिक बैठकमा व्यस्त हुन थालिसकेका छन् । ‘आजै (सोमबार) मात्र घोषणापत्र पारित भएको छ, पर्सी (बुधबार) सार्वजनिक गर्छाैं’, सो दलका प्रवक्ता राजाराम श्रेष्ठले नागरिकसँग भने । उनका अनुसार धु्रवबहादुर प्रधानको संयोजकत्वमा गठित समितिले आर्थिक समृद्धि, सनातन धर्मलगायतका विषय समावेश गरेर चुनावी घोषणापत्र बनाएको छ ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले भने घोषणापत्र हेरेर मत माग्ने र दिने चलन हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । ‘आजकलका चुनावमा घोषणापत्र हेरेर मत दिने चलन हराएको छ,’ बिजुक्छेले नागरिकसँग भने, ‘अब घोषणापत्र हेरेर मत माग्ने काम प्रभावकारी हुन छाडेको छ, तामझाममा नै बढी विश्वास गर्न थालिएको छ, जुन चिन्ताको विषय हो ।’ चुनावी घोषणापत्रअनुसार काम नगर्ने दलको दर्ता खारेज गर्न सकेमा मात्र घोषणापत्रको महŒव बढ्ने बिजुक्छेले बताए ।

प्रकाशित: २१ कार्तिक २०७४ ०१:५१ मंगलबार

घोषणापत्रबिना नै उम्मेदवार घरदैलोमा