राजनीति

काँग्रेसका पर्चा बाम गठबन्धनले जलायो

अाचारसंहिता उल्लंघनका घटना बढेपछि सोमबार रसुवा सिडिअाे कार्यालयमा बोलाइएको सर्वदलीय बैठक। तस्विरः हिमनाथ

रसुवा— हिमाली जिल्ला रसुवामा चुनावी सरगर्मी बढेको छ। निर्वाचनको समय छोट्टिदै जाँदा उम्मेदवार भोट माग्न टोलटोल पुगेका छन्।  बाम र लोकतान्त्रिक गठबन्धनले घरदैलो अभियान तथा विभिन्न ठाउँमा कोणसभा गरेर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन्। 

प्रचारको क्रममा बाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनको व्यानर, झण्डा र पोष्टर जलाएका छन्। नेपाली काँग्रेसका सुनिल पौडेलका अनुसार जिल्लाको विभिन्न स्थानमा टासिँएका पोष्टर च्यात्नुको साथै घरघरमा राखिएका ब्यानर र झण्डा जलाएका छन्। 

लोकतान्त्रिकले आचारसंहिता बिपरित कार्य गरिरहँदा पनि सम्बन्धित निकायले कारवाही प्रक्रिया अघि नबढाएपछि सो कार्य गर्न बाध्य भएको बाम गठबन्धनले जनाएको छ। 

दोस्रो पटक सर्वदलीय बैठक
निर्वाचनको तयारीमा जुटेका राजनीतिक दलले आचारसंहिता उल्लघंन गर्न थालेपछि रसुवा प्रशासनले ध्यानाकर्षण गराएको छ। चुनाव नजिकिँदै जाँदा लोकतान्त्रिक र बाम गठबन्धनले निर्वाचन आचारसंहिता विपरित काम गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले सोमबार दोस्रो पटक सर्वदलीय बैठक डाकेको हो। 

निर्वाचनलाई प्रभाव पार्ने गरी अन्य जिल्लाका व्यक्तिहरुको आवागमन हुन सक्ने भएकाले यसप्रति राजनीतिक दलको आवश्यक पर्ने भएकाले सहयोगका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन्। 

चुनावको प्रचारप्रसार गर्न घरदैलो अभियानमा जुटेका दुबै गठबन्धनले अत्यधिक गाडी प्रयोग गरेको, अभियानमा बालबालिकाको प्रयोग गरेको, ठूला पोष्टर पम्प्लेट टाँसेको,  सडक निर्माणको काम थालेको लगायतका गुनासो आएको कार्यालयले जनाएको छ। 

सर्वदलीय बैठकपछि राजनीतिक दलले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन आचारसंहिता २०७४ को पूर्ण पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। 

निर्वाचनलाई प्रभाव पार्ने गरी अन्य जिल्लाका व्यक्तिहरुको आवागमन हुन सक्ने भएकाले यसप्रति राजनीतिक दलको आवश्यक पर्ने भएकाले सहयोगका लागि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताइन्। 

चार जना समानुपातिकको सूचीमा
जिल्लामा सक्रिय रहेका तथा कमजोर अवस्थामा पुगेका राजनीतिक दलबीच गठबन्धन भएपछि बाम र लोकतान्त्रिक गठबन्धन चुनाबी मैदानमा छन्। प्रतिनिधि सभा एक र प्रदेश सभा दुई गरी कूल तीन सदस्यका लागि हुने निर्वाचनमा २३ जनाको उम्मेदवारी परेको छ। ११ जना स्वतन्त्र र १२ जना राजनीतिक दलको तर्फबाट उम्मेदवार बनेका छन्। 
यो पटकको निर्वाचनमा बाम गठबन्धनले प्रत्यक्ष तर्फ तीन जना र समानुपातिक तर्फ तीन जना गरी ६ जना उठाएको छ। त्यस्तै लोकतान्त्रिक गठबन्धनले प्रत्यक्ष तर्फ तीन जना र समानुपातिक तर्फ एक जना गरी ४ जना उठाएको छ। 

बामतर्फ प्रदेशसभाको लागि समानुपातिकमा परेका तीन जनामध्ये दुई जना एमाले र एक जना केन्द्रका हुन्। एमालेको तर्फबाट शान्ति थिङ र माधब अर्याल तथा केन्द्रबाट पासाङ तामाङको नाम परेको छ । त्यसैगरी लोकतान्त्रिक तर्फ प्रतिनिधि सभाका लागि समानुपातिकमा नयाँ शक्तिका सम्झना तामाङ परेको बताइएको छ । 

ठेकेदारबीच प्रतिस्पर्धा
आउँदो चुनावमा जिल्लामा व्यावसायी व्यावसायीबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशसभा तथा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ गठबन्धनले ठूला व्यावसायी तथा लगानीकर्तालाई टिकट दिएको छ।

प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका आचार्य र ढकाल क श्रेणीका ठेकेदार हुन्। ढकालले निर्माणको क्षेत्रमा मात्र लगानी गरेको भए पनि आचार्यले भने निर्माण व्यावसायको साथै जलबिद्युत, औषधी उत्पादन लगायतमा पनि लगानी गरेका छन्। प्रदेशसभा तर्फ गठबन्धनले उठाएका एमालेका अध्यक्ष कर्णेल लामाले लामो समयदेखि पर्यटन तथा होटल व्यावसाय सञ्चालन गर्दै आएका छन्। 

जिल्लामा रहेका धार्मिक एंवम पर्यटकीय क्षेत्र पुग्नका लागि प्रमुख केन्द्रको रुपमा रहेका स्याफ्रुबेशीँमा उनको व्यावसाय सञ्चालन भैरहेको छ। लोकतान्त्रिक तर्फबाट प्रदेश १ का उम्मेदवार प्रभात लामा बैङ्किङ, घरजग्गा र औषधी व्यावसायका लगानीकर्ता हुन्।  

प्रदेशसभाका लागि प्रदेश २ का नयाँ शक्तिका संयोजक प्रेम तामाङ र माओवादी केन्द्रका अध्यक्ष इन्द्र गौतम भने ठूला व्यावसायमा लगानी गरेको पाइदैन। राजनीतिलाई नै प्रमुख पेशा बनाएका यी दुई नेताले अन्य क्षेत्रमा लगानी नगरेका हुन् । 

गठबन्धन दुई, एजेन्डा उस्तै
चुनावको लागि घरदैलो अभियानमा लागेका दुबै गठबन्धनका उम्मेदवारका एजेण्डाहरु खासै फरक छैनन्। गठबन्धनका घोषणापत्र हेर्ने तथा प्रचारप्रसार हेर्ने हो भने फरक राजनीतिक दल भएपनि एजेण्डा भने उस्तै छन्। 

समृद्ध जिल्ला बनाउनका लागि उम्मेदवारी दिएको बताउँदै आएका उनीहरुले अन्तराष्ट्रिय नाकाको व्यवस्थापन गर्ने, जिल्लामा हुने गरेको संस्थागत तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने, स्थानीय स्रोत र साधनको प्रयोग गर्दा स्थानीयबासी तथा जिल्लाबासीलाई निश्चित सेयर छुट्याउने वातावरण सृजना गर्ने लगायतको योजना सुनाउँदै मत मागिरहेका छन् । 

जिल्लामा नै रोजगारीको सृजना गर्ने, प्रत्येक गाउँ सडक सञ्जालसँग जोड्ने, अन्तराष्ट्रिय नाका जोड्ने सडकको स्तरोन्नती गर्ने, जलविद्युत निर्माणका लागि लगानीकर्ता खोज्ने लगायतका योजना दुबै गठबन्धनका साझा एजेण्डा हुन् । 

प्रचारप्रसारमा सामाजिक सञ्जाल र मिडियाको प्रयोग
चुनाव नजिकिँदै जाँदा भोट माग्न गाउँबस्ती छिरेका राजनीतिक दलले सामाजिक सञ्जाल र सञ्चार माध्यमको प्रयोग बढाएका छन् । सामाजिक सञ्जालको रुपमा फेसबुक, टुइटरको प्रयोग बढाएका राजनीतिक दलले अनलाइन मिडियाको प्रयोग गरी आफ्नो पक्षमा मत माग्ने र सम्पूर्ण चुनावी गतिविधि प्रकाशन गरिरहेका छन्।

बाम गठबन्धनले रसुवा युएमएल, नयाँ प्रवाह, लाङटाङ न्युज लगायतको अनलाइनहरुलाई चुनाब प्रचारमा उपयोग गरिरहेको छ। लोकतान्त्रिकले हाम्रा कुरा, पलपल खबर लगायतको अनलाइनको प्रयोग गरिरहेको छ। गाउँगाउँमा मोबाइल तथा इन्टरनेटको प्रयोगकर्ता बढेसँगै दलहरुले नयाँ उपाय अपनाएका हुन् ।

प्रकाशित: २० कार्तिक २०७४ ११:४६ सोमबार

काँग्रेसका पर्चा बाम गठबन्धनले जलायो