राजनीति

तीन दलले सुर्खेतमा उम्मेदवार टुङ्ग्याए

पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का

सुर्खेत- मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख तीन राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसले पूर्व मन्त्रीदेखि वर्तमानमन्त्रीलाई उम्मेदवार बनाएको छ । 

प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा कांग्रेसले पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कालाई क्षेत्र नम्वर १ बाट र हृदयराम थानीलाई क्षेत्र नम्वर २ बाट उम्मेदवार बनाएको छ । 

२०४८ सालयता भएका हरेक निर्वाचनमा खड्का क्षेत्र नम्वर १ बाट निर्वाचित हुँदै आएका छन् । सूचना तथा सञ्चार, आपूर्ति, युवा तथा खेलकुद, गृहलगायत मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका खड्का राष्ट्रिय राजनीतिमा स्थापित छन् । प्रतिनिधिसभाका लागि क्षेत्र नम्वर २ बाट उम्मेदवार बनेका थानी पूर्व सहकारी तथा गरिवी निवारणमन्त्री हुन् । 

यस्तै नेकपा एमाले र माओवादी सम्मिलित बाम गठबन्धनले पनि सुर्खेतमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रतिनिधिसभाका दुई वटै सिट एमालेले पाएको छ भने प्रदेशसभाका चार मध्ये दुई–दुई सिट एमाले र माओवादीले पाएका छन् ।

एमालेले प्रतिनिधिसभाको क्षेत्र नम्वर १ बाट पार्टी अध्यक्ष ध्रुवकुमार शाहीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्वर २ बाट पूर्व पार्टी अध्यक्ष नवराज रावतलाई उम्मेदवार बनाएको छ । 

कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र नम्वर १ को ‘क’ बाट निर्वतमान सांसद लालबहादुर घले, ‘ख’ बाट झकबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्वर २ को ‘क’ बाट पार्टी सभापति कमलराज रेग्मी र ‘ख’ बाट सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट चुनावी मैदानमा छन् ।

एमालेले आफ्नो भागमा परेको प्रदेशसभाको क्षेत्र नम्वर १ अन्र्तगतको ‘ख’ बाट खड्क खत्री र क्षेत्र नम्वर २ को ‘क’ बाट पूर्वमन्त्री एवम् पोलिटव्यूरो सदस्य यामलाल कँडेललाई उम्मेदवार बनाएको छ । यस्तै माओवादी केन्द्रले क्षेत्र नम्वर १ को ‘क’ बाट ठम्मर विष्ट र क्षेत्र नम्वर २ को ‘ख’ बाट विन्दमान विष्टलाई चुनावी मैदानमा उतारेको छ ।

प्रकाशित: १५ कार्तिक २०७४ १२:२० बुधबार

दलले सुर्खेतमा उम्मेदवार टुङ्ग्याए