राजनीति

जिम्मेवारीप्रति चौधरीको कृतज्ञता

काठमाडौं– औपचारिक रुपमा नेपाली कांग्रेसमा प्रवेश गरेका उद्योगपति विनोद चौधरीले मुलुकको आर्थिक रुपान्तरण गर्ने कांग्रेसको योजनामा आफूलाई पनि समावेश गरेकामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
उद्योगपति चौधरीले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले देखाएको विश्वासले नेपालको नयाँ उचाइको आर्थिक विकासमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्न हौसला मिलेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले सोमबार उद्योगी चौधरीलाई कांग्रेसमा प्रवेश गरी मुलुकको आर्थिक रुपान्तरणमा सहभागी हुन आह्वान गरेका थिए ।
‘स्पष्ट सोंच तथा रणनीतिबाट आर्थिक विकासका लागि राजनीति एवं शासन प्रणालीको केन्द्रमा आर्थिक अजेन्डालाई राखिनुपर्छ भन्ने म स्पष्ट मान्यता राख्छु,’ चौधरीले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
उनका अनुसार २०४६ को राजनीतिक परिवर्तनपछि नेपालको दीर्घकालीन आर्थिक रुपान्तरणको प्रारम्भिक चरणमा चालिएको आर्थिक सुधारको परिणाम स्वरुप उच्च आर्थिक वृद्धिदर, निर्यात व्यापार, राजस्व संकलन, विदेशी लगानीलगायतमा उपलब्धी हासिल भएको छ ।
‘आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका सहायक हैन, अग्रणी हुनुपर्छ भन्ने मेरो धारणा सधैं रह्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘अर्थतन्त्रको फराकिलो एवं उच्च वृद्धिका लागि निजी क्षेत्रलाई निर्णायक भूमिका दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न म संघर्षरत छु । आर्थिक विकासको इन्जिन निजी क्षेत्र नै हो भन्ने सोंचलाई व्यवहारमा कार्यान्वयन गर्न मैले सक्दो योगदान पु¥याउनेछु ।’
उद्योगी चौधरीले आजको विश्वमा लोकतान्त्रिक शासन पद्धती र खुला बजार अर्थतन्त्र विवादरहित विषय भएको जनाउँदै यहीँ बाटोमार्फत् विश्वले आर्थिक समृद्धि हासिल गर्न सम्भव भएकाले  नेपाल अपवाद बन्न नसक्ने बताएका छन् ।
‘यस बृहत्तर सोंचको एक सहयोगी बन्ने अवसर प्रदान गरेकामा प्रधानमन्त्री र कांग्रेस नेतृत्वप्रति आभार व्यक्त गर्छु,’ चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: १५ कार्तिक २०७४ ०६:११ बुधबार

जिम्मेवारीप्रति चौधरीको कृतज्ञता