राजनीति

'भयमुक्त समाजका लागि कांग्रेस'

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरुले वाम एकताका नाममा मुलुकले प्राप्त गरेको राजनीतिक स्थायित्वलाई खलबल्याउने प्रपञ्च सुरु भएको भन्दै लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि पार्टीले आगामी निर्वाचन जित्नु अपरिहार्य रहेको बताएका छन्।

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले तयार पारेको चुनावी घोषणापत्र मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्दै शीर्ष नेताहरुले राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धिका लागि कांग्रेस पक्षमा उभिन सबैलाई आह्वान गरेका हुन् ।

मंसिरमा हुने निर्वाचनले संविधानसभाबाट जारी संविधानको पहिलो चरणको कार्यान्वयन पूरा हुने बताउँदै सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले व्यवस्थामाथि नै प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको आरोप लगाए ।

‘कम्युनिस्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार, सम्पत्तिसहितका सबै अधिकार हनन हुन्छन्,’ प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले भने, ‘जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्छ ।’

एमाले र माओवादीबीच चुनावी तालमेलसहित पार्टी एकता गर्ने घोषणाप्रति लक्षित गर्दै देउवाले प्रजातन्त्रविरोधी शक्तिहरू एकताबद्ध भएको आरोप लगाए । कम्युनिस्ट अधिनायकवादबाट मुलुकलाई जोगाउनु आवश्यक रहेको आंैल्याउँदै उनले भने, ‘कम्युनिस्ट शासन आए फेरि डरत्रासमा बाँच्नुपर्छ । भयरहित शासन व्यवस्थाका लागि डरत्रास मुक्त समाजको नेतृत्व कांग्रेसले मात्र गर्नसक्छ ।’

कम्युनिस्ट शासन आयो भने अन्याय भयो भन्न र रुन पनि नपाइने बताउँदै देउवाले २००७ सालको क्रान्तिलगत्तै बिपी कोइराला मुर्दाबाद भन्ने अधिकारसमेत दिइएको स्मरण गरे । कम्युनिस्ट शासनमा कहाँ अधिकार पाइन्छ भन्ने प्रश्न गर्दै देउवाले भने, ‘तानाशाही शासनमा कहाँ पाइन्छ मुर्दाबाद भन्न ? अन्याय भयो भन्न त के रुन पनि पाइन्न ।’

२००७ देखि २०६२÷०६३ को राजनीतिक परिर्वतनसम्मको नेतृत्व कांग्रेसले नै गरेको सुनाउँदै देउवाले मुलुकलाई एकताबद्ध गरेर आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्ने दाबी गरे । ‘कांग्रेसले मात्र आर्थिक समृद्धि, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न सक्छ,’ उनले भने, ‘कांग्रेस पार्टी कसैलाई मन परोस्–नपरोस्, देशका लागि कांग्रेस आवश्यक छ । यसले मात्र स्वतन्त्रताको रक्षा गर्छ र भयमुक्त समाज बनाउँछ ।’

हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधेर कांग्रेसले मात्र राष्ट्रिय एकतालाई मजबुत बनाउन सक्ने दाबी गर्दै देउवाले भने, ‘मधेसी पहाडी तथा जातिजातिबीच द्वन्द्व चर्काउन खोजिएको कांग्रेसले मात्र हिमाल, पहाड र मधेसलाई जोड्न सक्छ । सामाजिक सद्भावसहित सबैलाई स्वाभिमानपूर्वक बाँच्न पाउने अधिकारको रक्षा गर्छ ।’

नेता रामचन्द्र पौडेलले सात दशकपछि मुलुकमा राजनीतिक व्यवस्थाको टुंगो लागे पनि वाम एकताका नाममा त्यसमाथि धावा बोलेर मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न खोजिएको आरोप लगाए । संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनुको साटो एमाले, माओवादीसहितका दलले संविधानको मौलिकतामाथि प्रश्न उठाएको दाबी गरे ।

‘संविधान जारी गर्दाका सहयात्री दल नै संविधानको मौलिकता परिवर्तन गरी अधिनायकवादतर्फ उन्मुख हुँदै आथिर्क समृद्धि रोक्न उद्यत भएका छन्,’ पौडेलले भने, ‘कांग्रेस मुलुकमा कुनै पनि प्रकारको अस्थीरता, साम्यवाद र निरङ्कुता आउन दिँदैन । त्यसको डटेर सामना गर्न तयार छ ।’

नेपालको समृद्धि र उन्नतिमा अब कसैले पनि भाँजो हाल्न नसक्ने दाबी गर्दै पौडेलले संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र आर्थिक विकासका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नैपर्ने दाबी गरे ।

कार्यक्रममा महामन्त्री शशांक कोइरालाले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा उभिनु कांग्रेस र लोकतान्त्रवादीका लागि चुनौती भएको बताए ।  लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि पार्टीभित्रको सम्पूर्ण एकता आवश्यक रहेको आंैल्याउँदै महामन्त्री कोइरालाले पार्टीका सबै नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे । ‘लोकतन्त्र जोगाउन र आफ्नो अधिकार रक्षाका लागि कांग्रेस एकजुट भएर लाग्नुपर्छ,’ उनले भने, ‘कांग्रेसले बहुमत ल्याउनुपर्छ, त्यसका लागि सबै लागौं ।’

केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा गठित घोषणापत्र मस्यौदा समितिले ८४ पृष्ठ लामो निर्वाचन घोषणापत्र तयार गरेको छ । २०४८ सालपछिका निर्वाचन घोषणपत्रलाई निरन्तरता दिँदै आर्थिक विकासका लागि कृषि, पर्यटन जलविद्युत्सहितका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना सार्वजनिक गरेको छ । एमाले र माओवादीप्रति आक्रामक देखिएको कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा पार्टीले गरेको योगदानको पनि चर्चा गरेको छ । त्यस्तै, दस वर्षमा के के गर्ने भन्ने कार्यक्रम पनि घोषणापत्रमा समेटेको छ । कांग्रेसले विगत २५ वर्षमा भएका काम पनि उल्लेख गरेको छ भने संघीयतामा गएपछि पहिलोपटक हुन लागेको निर्वाचनमा कुन प्रदेशको सम्भावना के छ र चुनौती केके छन् भन्ने पनि समेटेको छ । 

यसैबीच प्रधानमन्त्री देउवाले मंसिर १० र २१ गते हुने निर्वाचनले संविधान कार्यान्वयनको राजनीतिक कार्यसूची पूरा गर्दै संक्रमणकाल अन्त्य हुने जनाउँदै सबैलाई उत्सवका रूपमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । ‘आर्थिक समृद्धिलाई राष्ट्रिय अजेन्डा बनाएर मुलुकलाई केही वर्षमै आर्थिक विकासमा निर्णायक बाटोतर्फ उन्मुख गराउनु हामी सबै लोकतन्त्रवादीको साझा ध्येय हो,’ देउवाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘लोकतान्त्रिक शासन पद्धतिको सुदृढीकरण र दु्रतगतिको आर्थिक विकास हाम्रो पहिलो प्राथमिकताको विषय भएकाले अब लोकतन्त्रवादीहरू फेरि एक हुनुपर्ने समय आएको छ ।’

नेपालको आर्थिक विकास अभियानको नेतृत्वदायी भूमिका कांग्रेसले खेल्ने जनाउँदै देउवाले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल विश्वमै लगानी मैत्री वातावरण भएको मुलुकका रूपमा स्थापित गर्ने जनाएका छन् । ‘गैरआवासीय नेपालीले आर्जन गरेको पुँजी, सीप र क्षमतालाई नेपालमा परिचालन गर्ने वातावरण तयार गरेर सबैलाई आर्थिक समृद्धिको अभियानमा गोलबद्ध गर्नुपर्नेछ,’ देउवाले भनेका छन्, ‘नेपाली अर्थतन्त्रको समृद्धिमा विशिष्ट योगदान पु¥याउने विभिन्न पेसा र व्यवसायमा रहेका व्यक्तित्वलाई राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नेपाली कांग्रेस हार्दिक आग्रह गर्दछ ।’

प्रकाशित: १५ कार्तिक २०७४ ०१:१९ बुधबार

भयमुक्त समाजका लागि कांग्रेस