राजनीति

चितवनका जनताले ऐतिहासिक निर्णय गर्नेछन् : दाहाल

चितवन- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वाम तालमेल देश र जनताको आवश्यकताले बनेको बताएका छन्। 

चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले स्थिर सरकार निर्माण गरी देशलाई समृद्धितर्फ लैजान वाम तालमेल भएको बताए। 
उनले वाम तालमेल मात्रै नभएर वाम एकता र गठबन्धनको पनि प्रक्रिया अगाडि बढेको भन्दै यसमा राजनीतिक र वैचारिक विषय पनि समावेश भएको बताए। वाम तालमेल एकतासहितको विशेषता भएकाले स्थानीय निर्वाचनमा भएका जस्तो तालमेल अहिले नभएको उनले बताए। 
पार्टी एकता संयोजन समिति गठन भइसकेको बताउँदै दाहालले वाम तालमेल चुनावी मात्रै नभएर फरक विषय भएको बताए। 

नेपाली कांग्रेससँग अहिले पनि संवाद र सहकार्यमा रहेको बताउँदै दाहालले काँग्रेससँगको सहकार्य नतोडिएको बताए। कांग्रेसले पनि नयाँ गठबन्धन बनाउन लागेको बताउँदै उनले भने, 'देशको राजनीतिक, आर्थिक आवश्यकताले, हाम्रो, संविधान, ऐन कानूनले पनि धेरै पार्टी होइन, थोरै पार्टी हुनु देशको हितमा छ भन्ने परिकल्पना गरेको छ । यो प्रक्रियाको शुरुवात हामीले गरेका छौं ।'

संविधानअनुसार देशमा साना धेरै पार्टी रहने स्थिति नभएको भन्दै उनले ठूला थोरै पार्टी रहने परिकल्पना संविधानले नै गरेको बताएयो । वाम तालमेललाई नकारात्मक रुपले हेर्न नहुने उनको भनाइ थियो । 

चितवन क्षेत्र नं ३ बाट तपाइँ विजयी हुने आधार के हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, 'यो चितवनका जनताले फैसला गर्ने कुरा हो।' उनले अगाडि थपे, 'यो मेरो गृह जिल्ला भएको नाताले चितवनका जनताको विश्वास लिएर म देशको नेतृत्व गर्ने तयारीमा छु । यहाँका जनताले यो ऐतिहासिक अवसरलाई यही रुपमा बुझ्नु हुनेछ ।” 

विसं २०६२ सालमा चितवनको बाँदरमुढेमा भएको घटनाले निर्वाचनमा असर गर्दैन भन्ने प्रश्नमा दाहालले भने, 'शान्ति प्रक्रियापछि मैले माडीका जनता र बाँदरमुढे घटनाका घाइतेलाई भेटेको छु । घटनालगत्तै मैले क्षमायाचना गरिसकेको छु ।'

चितवन क्षेत्र नं २ बाट रामबहादुर थापा वाम तालमेलबाट उम्मेदवार हुने भन्ने प्रशंगमा दाहालले आज साँझ एमाले अध्यक्ष केपी ओली र आफूबीच छलफलपछि सबै क्षेत्रको उम्मेदवार टुंगो लाग्ने बताए। चितवन क्षेत्र नं ३ बाट आफ्नो उम्मेदवारी निश्चित भइसकेको उनले बताए।

प्रकाशित: १३ कार्तिक २०७४ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App