राजनीति

कांग्रेस र वाम गठबन्धनबीच टक्कर

नुवाकोट – नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आआफ्नै अजेन्डा लिएर चुनावमा होमिएका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेस र बाम गठबन्धनबीच कडा टक्क हुने देखिएको छ । 
प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत लोकतन्त्रका रक्षा र आर्थिक समृद्धिका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँछन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले संविधानको रक्षा र विकासका लागि आफू जनताको माझ आएको धारणा राख्छन्। 

त्यस्तै निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी जिल्लाको समग्र उन्नतिका लागि निर्वाचनमा होमिएको बताउँछन् । उनले आफूले जनताको साथ पाउने र विजयी हुने बताए । उता केसीका उता केसीका प्रतिस्पर्धी एवं वाम गठबन्धनबाट उम्मेदवारी दिएका एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा आफूले जिल्लाको सिपाही बनेर राजनीतिक यात्रा अघि बढाइरहेकाले आफ्नो जित सुनिश्चित रहेको बताउँछन्।  

उम्मेदवारी फिर्ता लिएर कांग्रेसमा प्रवेश
नुवाकोट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि एकीकृत राप्रपा राष्ट्रवादीबाट उम्मेदवार बनेकी पूर्वसांसद राज्यलक्ष्मी पाण्डे श्रेष्ठ उम्मेदवारी फिर्ता लिएर कांग्रेसमा प्रवेश गरेकी छिन् । राप्रपाबाट दोस्रो संविधानसभा निर्वाचनपछि समानुपातिकबाट सांसद बनेकी उनी कांग्रेसमा प्रवेश गरेकी हुन् । ‘संविधान कार्यान्वयन, संरक्षण, सम्वद्र्धन तथा लोकतन्त्र सुदृढीकरण गर्नु सबैको दायित्व हुनाले कांग्रेस नै रोजेकी हु,’ उनले भनिन् । उनले अब कांग्रेसलाई जिताउन क्रियाशील रहने विज्ञप्तिमार्फत जनाएकी छिन्। 

प्रदेशसभामा कोको छन् उम्मेदवार
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत नेपाली कांग्रेसबाट महेन्द्र थिङ र वाम गठबन्धनबाट माओवादी केन्द्रकी राधिका तामाङ उम्मेदवार छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका रमेशकुमार महत, वाम गठबन्धनतर्फबाट एमालेका बद्री मैनाली चुनावी मैदानम उत्रिएका छन् । यस्तै प्रदेशसभातर्फ प्रतिनिधिसधा सदस्य क्षेत्र नं. २ (क) मा कांग्रेसबाट जगदीश्वरनरसिंह केसी र वाम गठबन्धनबाट एमालेका केशवराज पाण्डे तथा (ख) बाट कांग्रेसबाट जगतबहादुर तामाङ र वाम गठबन्धनबाट माओवादीका हीरानाथ खतिवडा उम्मेदवार छन्।  

४६ उम्मेदवार मैदानमा  
प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न पार्टी र स्वतन्त्रबाट उम्मेदवारी दिएका ५७ जनामध्ये ११ जनाले मनोनयन फिर्ता लिएका छन् । ११ जना उम्मेदवारले नाम फिर्ता लिएपछि ४६ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिनेमा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा मालेका जयागार तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नरेन्द्रप्रसाद फुँयाल र नयाँ शक्ति पार्टी नेपालका शन्तबहादुर तामाङ छन् । यस्तै, प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नं. १ (क) बाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दामोदर थापा क्षेत्री र (ख) बाट राप्रपा प्रजातान्त्रिकका दीपककुमार राईले पनि उम्मेदवारी फिर्ता लिए। 

यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट एकीकृत राप्रपा राष्ट्रवादीका उम्मेदवार राज्यलक्ष्मी पाण्डे श्रेष्ठ, नेपाल जनलोकतान्त्रिक पार्टीका नारायण पौडेल र राप्रपा प्रजातान्त्रिकका मधुसुदन रिसालले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशतर्फ निर्वाचन क्षेत्र नं. २ (क)  बाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार शिवप्रसाद अधिकारी । (ख) बाट राप्रपा प्रजातान्त्रिका उम्मेदवार हरिप्रसाद रिजाल र स्वतन्त्र उम्मेदवार कृष्णबहादुर खड्काले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले जानकारी दिए । उम्मेदवारी फिर्ता लिएकाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन्। 

६ महिला चुनावी प्रतिस्पर्धामा
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा ६ महिला उम्मेदवार  प्रतिस्पर्धामा छन् । जिल्लामा ७ महिलाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन क्षेत्र नं. २ बाट एकीकृत राप्रपा राष्ट्रवादीबाट उम्मेदवारी दिएकी राज्यलक्ष्मी पाण्डे श्रेष्ठले मनोनयन फिर्ता लिएपछि ६ महिलामात्र चुनावी मैदनमा रहेका हुन्। 

प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ बाट एसिला थापा स्वतन्त्र उम्मेदवार छिन् । प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. २ मा नेकपा क्रान्त्रिकारी माओवादी (मोहन वैद्य) निकट महिला संगठनकी केन्द्रीय अध्यक्ष लक्ष्मी मुडबरीले देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवारी दिएकी छिन्। 

यस्तै, प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ (क) बाट पूर्वराज्यमन्त्री राधिका तामाङ माओवादी केन्द्रबाट, ग्युर्मी शेर्पा नयाँ शक्ति पार्टीबाट र सुनिता थोकर स्वतन्त्रबाट चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. २ (ख) बाट रीता ओझाले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतदाता बढे 
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नुवाकोटका २ लाख ८ हजार १ सय ९१ जनाले मतदान गर्न पाउने भएका छन् । वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा १ लाख ८५ हजार ७ सय ८२ जना मतदाता थिए। 

स्थानीय तहको निर्वाचनपछि जिल्ला प्रशासन कार्यालय नुवाकोट, निर्वाचन कार्यालय विदुर र स्थानीय तहका केन्द्रदेखि वडा कार्यालयसम्म सञ्चालन भएको घुम्ती सेवा शिविरबाट २२ हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । निर्वाचन क्षेत्र नं. १ मा एक लाख ५ हजार २ सय ८७ जना र क्षेत्र नंं २ मा एक लाख २ हजार ९ सय ४ जना मतदाता छन् । यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा (क) मा ५२ हजार १ जना, (ख) मा ५३ हजार दुई सय ८६ जना मतदाता छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा सदस्य (क) मा ५१ हजार ६ सय ४९ जना र (ख) मा ५१ हजार २ सय ५५ जना मतदाता छन्।

मतदान केन्द्र पनि थपिए
मतदाता संख्या वृद्धिसँगै मतदान केन्द्रसमेत थपिएका छन् । स्थानीय तह निर्वाचनमा १ सय २९ वटा मतदान स्थलमा २ सय ४० वटा मतदान केन्द्र निर्धारण भएकोमा अहिले मतदान स्थल साबिककोलाई कायम गरी केन्द्र भने २० वटा थप गरी २ सय ६० पुर्‍याइएको जिल्ला निर्वाचन अधिकृत जनार्दन अधिकारीले जानकारी दिए । एक मतदान केन्द्रमा एक हजार मतदाता मात्र समावेश गर्ने भएकाले २२ हजार मतदाता वृद्धि भएपछि २० वटा मतदान केन्द्र थप भई निर्वाचन आयोगबाट स्वीकृत भएर आएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार 
निर्वाचन क्षेत्र नम्बर १

रामशरण महत : नेपाली कांग्रेस
हितबहादुर तामाङ : वाम गठबन्धन

निर्वाचन क्षेत्र नम्बर २
अर्जुननरसिंह केसी : नेपाली कांग्रेस
नारायाणप्रसाद खतिवडा : गठबन्धन

प्रदेशसभा उम्मेदवार 
राधिका तामाङ
महेन्द्र थिङ
रमेशकुमार महत
बद्री मैनाली 
केशवराज पाण्डे
जगदिश्वरनरसिंह केसी,
हिरानाथ खतिवडा
जगतबहादुर तामाङ

प्रकाशित: ११ कार्तिक २०७४ ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App