राजनीति

केसीको समर्थन प्रजातान्त्रिक गठबन्धनलाई

पोखरा— उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीले आगामि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रजातान्त्रिक पार्टीलाई भरपूर सहयोग गर्ने घोषणा गरेका छन्। लामो समय राप्रपाको राजनीति गरेर संविधानसभा सदस्य समेत बनिसकेका उनी पछिल्लो समय राजनीतिमा निस्क्रिय थिए।

विहीबार पत्रकारसँग भेटघाट गर्दै केसीले आगामि निर्वाचमा प्रजातान्त्रिक पार्टीलाई सघाउने बताए। ‘अब मेरो समर्थन प्रजातान्त्रिक गठबन्धनलाई हुनेछ,’ उनले भने, ‘बाम गठबन्धनप्रति मेरो चित्त बुझेन। त्यही भएर प्रजातान्त्रिक गठबन्धनलाई समर्थन गरेको हुँ।’

प्रजातान्त्रिक गठबन्धनलाई समर्थन गरेपनि आफु काँग्रेसको कार्यकर्ता भने नभएको उनले बताए। ‘काँग्रेसमा प्रवेश गर्नेबारे छलफल पनि चलिरहेको छ। काँग्रेसमा प्रवेश गर्नु नगर्नुले ठुलो अर्थ राख्दैन,’ केसीले भने, ‘आगामि शनिबारसम्म पार्टी प्रवेशको पनि टुंगो लाग्नेछ ।’ आगामि शनिबार पोखरा आउने कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर पार्टी प्रवेश गर्ने वा समर्थन मात्र गर्ने भन्ने टुंगो लाग्ने उनले बताए।

‘पार्टी सभापति देउवासँग कुरा मिले पनि वा नमिलेपनि मेरो समर्थन प्रजातान्त्रिक गठबन्धनलाई हुनेछ,’ उनले भने, ‘एमाले र माओबादी केन्द्रबीच भएको गठबन्धन पटक्कै चित्त बुझेन। त्यही भएर पद पाउँ वा नपाउँ, मेरो समर्थन प्रजातान्त्रिक धारलाई हुनेछ।’ राप्रपाका नेताहरु सत्तामै लिप्त हुन खोजेकोले आफुलाई चित्त नबुझेको उनले बताए । उनले अहिलेसम्म कांग्रेसमा प्रवेश गर्दाको अवस्थामा कुनै पनि माग नराखेको पनि बताए । लामो समय राप्रपाको राजनीतिक गरेका केसी पछिल्लो समय शारिरिक अवस्थाले गर्दा सक्रिय हुन सकेका थिएनन् ।

एमालेलाई धेरै पटक सघाएपनि पछिल्लो समय एमालेलाई अर्र्कै दलले डोर्‍याएकोमा आफुलाई चित्त नबुझेको उनले बताए। ‘एमालेलाई अत्यन्त हिमायती दलको रुपमा आफूले हेरेको भएपनि एमालेलाई पछिल्लो समय अर्कै दलले डोर्‍यायो,’ उनले भने, ‘त्यो मलाई चित्त नै बुझेन।’ बाम गठबन्धन भएपनि त्यसले केही फरक नपार्ने उनले बताए। ‘चुनावसम्मका लागि मिलेका हुन् । त्यसले केही हुनेवाला छैन,’ उनले भने ।

एमालेको बाहिरी खोल मात्र कम्यूनिष्ट र मनवचन प्रजातान्त्रिक रहेको जस्तो आफुले देखेपनि हजारौं मान्छे मारेको माओवादी केन्द्रसँग गठबन्धन गरेपछि चित्त नबुझेको उनले बताए। ‘बाध्य भएर मैल यो निर्णय गरेको हुँ,’ उनले भने, ‘बाम गठबन्धन अपवित्र छ । त्यसले मूलूकलाई निरंकुशतातर्फ धकेल्छ ।’ मानवअधिकार, मौलिक अधिकार, उदार अर्थनीति, शिक्षा, स्वास्थ्यलाई चलायमान बनाउनका लागि पनि आफुले प्रजातान्त्रिक दललाई रुचाएको केसीले बताए । प्रजातन्त्र, मौलिक अधिकार, नीजि सम्पत्तिमाथिको हकका लागि पनि प्रजातान्त्रिक दलसँग निकट हुन चाहेको उनले बताए।

प्रकाशित: ९ कार्तिक २०७४ १०:३९ बिहीबार

केसीको समर्थन प्रजातान्त्रिक गठबन्धनलाई