राजनीति

यस्ता छन् सात प्रदेशका सात समाचार (भिडियो सहित)

भूकम्प प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री पुगे बझाङ

भूकम्प प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्का, उपप्रधान एवंम गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एनपी साउद बझाङमा गएका छन्। गत असोज १६ गते भूकम्पमा परि एक महिलाको ज्यान जाँदा २० जना बढी घाइते तथा ३ सय ३६ घरमा क्षति भएको थियो।

मुआब्जा विवाद सुल्झियो

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि अधिग्रहण गर्ने २०७६ असोजदेखिको जग्गा विवाद सुल्झिएको छ।  स्थानीयसँग छलफलपछि मुआब्जा विवाद समाधान भएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद काईरालाले जानकारी दिएका छन्। चीनको जिओलोजिकल सर्वे कम्पनीबिच २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषणको काम हुँदैछ।  

चार जना पक्राउ

निषेधाज्ञाको पालना नगरेको भन्दै प्रहरीद्वारा नेपालगन्जको बिपी चोकबाट चार जना पक्राउ परेका छन।  धार्मिक तनाव बढेपछि प्रशासनले लगाएको कर्फ्यु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म हटाइँदा निषेधाज्ञा भने जारी रहेको छ ।  

प्रदेश कमिटी अध्यक्षमा नवराज शर्मा निर्वाचित

खगराज अधिकारी समूहका मायानाथ अधिकारीलाई १ सय ६६ मतान्तरले पराजित गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूहका नवराज शर्मा नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका छन।  उपाध्यक्षमा मीनप्रसाद गुरुङले बाजी मार्दा सचिवमा धनञ्जय दवाडी चुनिएका छन।  

खाद्यान्न उत्पादनमा राज्यको ध्यान पुगेन

खाद्यान्न उत्पादनमा राज्य जिम्मेवार नभएकै कारण नेपालले १३ खर्ब भन्दा बढीको खाद्यान्न आयात गर्नुपरेको कृषि अभियन्ताको भनाइछ।  रसायन रहित खेती गर्न राज्यले कृषकलाई प्रोत्साहन नगरेका कारण रोग किराको प्रकोप बढेको कृषि विज्ञ प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलको चिन्ता व्यक्त गरे।  

मेयरविरुद्ध लेखेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा मेयरको आलोचना गरेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिका ३ का ४० वर्षीय बद्रीनाथ झालाई प्रहरी नियन्त्रणमा लिएको छ।  मेयर सुरेश साह सोनारविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको आरोपमा पक्राउ परेका झामाथि जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।  

‘ग्याङफाइट’ गर्न हिँडेका १५ जना तरबारसहित पक्राउ  

प्रेमिकाको विषयमा विवाद भएपछि घरेलु हतियारसहित  ‘ग्याङफाइट’का लागि हिँडेका सुनसरी बर्जुका १५ जनाको समूहलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।  एकै कलेजमा पढ्ने युवतीलाई दुई जना युवकले मन पराउँदा यसअघि पनि दुई पक्षबिच विवाद हुँदा शुक्रवार फाइनल फाइट गर्न हिँडेका १५ मध्ये ९ जना  १८ वर्ष मुनिका  रहेका थिए।  

प्रकाशित: १९ आश्विन २०८० १३:२४ शुक्रबार

भूकम्प प्रभावितको अवस्था बुझ्न प्रधानमन्त्री पुगे बझाङ