राजनीति

राजपा समानुपातिक सूची : सम्धिनीदेखि ‘जग्गा दलाल’ सम्म

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले सम्धिनी इन्द्रा झालाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यमा सिफारिस गरेका छन्। राजनीतिक पृष्ठभूमि नभएकी झालाई यसअघि पनि सांसद बनाएका संयोजक ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि पुनः समानुपातिकतर्फ सिफारिस गरेका हुन् । निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झा क्रमसंख्या १५ मा परेकी छन्।

‘राजपाले समानुपातिक सूचीबाट १५ जना सांसदका लागि आवश्यक मत ल्याएमा महन्थजीकी सम्धिनी पनि सांसद हुनेछिन्,’ एक नेताले नागरिकसँग भने, ‘विगतमा कुनै राजनीतिक आन्दोलनमा संलग्न नभएकी विशुद्ध गृहणीलाई सांसद बनाएर मधेस आन्दोलनको अपमान भएको छ ।’ बन्दसूचीको क्रमसंख्या १ मा भने संयोजक ठाकुर आफंै छन् ।

राजनीतिक आन्दोलनमा लामो समयदेखि संघर्ष गर्दै आएकी पूर्वसांसद नीलम बर्मालाई भने ठाकुरकी सम्धिनी झाभन्दा एक तहमुनि अर्थात् क्रमसंख्या १६ मा राखेर सिफारिस गरिएको छ । सांसदका लागि प्रस्तावित झा ठाकुरकी छोरी डा. मीनाक्षी ठाकुरकी सासू हुन्।

मधेस आन्दोलनमा सक्रियभन्दा पनि गैरराजनीतिक व्यक्तिलाई प्राथमिकतामा राखेर राजपाले बन्दसूची पेस गरेपछि आन्तरिक विवाद चुलिएको छ । राजपाका युवा नेता केशव झा, मनीष मिश्र, पेशल ढकाललगायतले नेतृत्वको उक्त कदमविरुद्ध रिले अनशनसम्म गरेका थिए । तर, राजनीतिक व्यक्तित्वलाई प्राथमिकता दिने भनिए तापनि अझै सच्चाउने काम नभएको युवा नेताहरुले बताएका छन् ।

त्यसो त राजपाका प्रमुख नेताले बन्दसूची तयार गर्दा मधेसी मूलका अनुहारभन्दा पनि पहाडिया अनुहारलाई प्राथमिकता दिएका छन्। राजपाका नेता र कार्यकर्ताले कहिल्यै नाम नसुनेका व्यक्ति पनि प्राथमिकताका साथ बन्दसूचीमा परेपछि विवाद उत्पन्न भएको छ ।

राजपाका अर्का प्रभावशाली नेता राजेन्द्र महतोको जोडबलमा नरमाया ढकाल बन्दसूचीमा प्राथमिकताका साथ परेकी छन् । स्याङ्जाकी स्थायी बासिन्दा ढकालको नाम बन्दसूचीको चौथो नम्बरमा छ । गैरसरकारी संस्थामा सञ्चालन गरेर बस्ने ढकाललाई अध्यक्ष महतोले राख्न दबाब दिएपछि निर्वाचन आयोगमा बन्दसूची पेस गर्नसमेत ढिलाइ भएको थियो ।

‘उहाँहरू सबै पार्टीका सामान्य कार्यकर्ता हुनुहुन्छ तर समानुपातिकको सूची पेस गर्दा खस आर्यलाई पनि राख्नुपर्ने भएकाले उहाँहरुले अवसर पाउनुभएको हो,’ राजपा महासचिव मनीष सुमनले नागरिकसँग भने । उनका अनुसार समानुपातिक सूचीमा खस आर्यसहित विभिन्न जाति र समुदायगत ‘क्लस्टर’ मिलाउनुपर्दा सामान्य कार्यकर्ताले पनि अवसर पाएका हुन् ।

नेता महतोले संविधानसभा–२ मा पत्नी शैलीदेवी महतोलाई सभासद् बनाए पनि यो पटक भने समावेश गरेका छैनन्। अर्का नेता अनिलकुमार झा र राजकिशोर यादव पनि यस पटक पत्नीको नाम बन्दसूचीमा समावेश गरेका छैनन् । झाले श्रीमती डिम्पल झालाई सांसद नबनाए पनि समानुपातिक सूचीमा रिमाछिरिङ शेर्पालाई ७ औं नम्बरमा राख्न लगाएका छन् भने यादवले मणिराम भण्डारीलाई सिफारिस गरेका छन् । भण्डारीको क्रमसंख्या ८ हो । झापा, गौरादहका भण्डारी जग्गा कारोबारी हुन् ।

राजपा अध्यक्ष मण्डलका अर्का नेता शरदसिंह भण्डारीको जोडबलमा पूर्वसांसद निर्जला राउतलाई बन्दसूचीमा परेकी छन् । राउतको क्रमसंख्या ५ हो । विभिन्न नाममा छरिएर रहेका मधेस केन्द्रित पार्टीलाई एक गराई राजपा नेपाल गठन गराउन नेतृ राउतले महत्ववपूर्ण भूमिका खेलेकी थिइन् । अर्का नेता महेन्द्रराय यादवले भने राजनीतिक व्यक्तित्व रामनरेश रायलाई सिफारिस गरेका छन्। उनले शीर्ष स्थानमा गैरराजनीतिक व्यक्तिलाई सिफारिस गरेका छैनन् ।

राजपाले सिफारिस गरेकामध्ये क्रमसंख्या १६ सम्म ५ जना पहाडी मूलका व्यक्ति छन् । ‘राजपा मधेस÷मधेसी केन्द्रित दलमात्रै होइन भन्ने सो सिफारिसबाट पनि सन्देश दिइएको छ र पार्टी सबै जातजाति र भाषाभाषीको हो भन्ने झलक देखाएर राष्ट्रिय आकार पनि सँगसँगै ग्रहण पनि गरेको छ । यो सकारात्मक हो,’ युवा नेता मनीष मिश्र भन्छन्।

समानुपातिकको क्रमसंख्या ३ स्थानमा तत्कालीन तमलोपाका नेताले प्राथमिकता पाएका छन् । ‘दक्षिणी छिमेकी मुलुकको जोडबल’ मा ठाकुरसहित क्रमसंख्या २ र ३ मा क्रमशः चन्दा चौधरी र अकवाल हुसैन समावेश गरिएको छ’, स्रोतले भन्यो । विभिन्न ६ वटा पार्टी एक भई गठित राजपाले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरेर लड्ने निर्णय यसअघि नै लिइसकेको छ ।

राजपा सिफारिसमा नामावली

१. महन्थ ठाकुर २. चन्दा चौधरी ३. अकवाल हुसैन ४. नरमाया ढकाल ५. निर्जला राउत ६. रामनरेश राय ७. रिमाछिरिङ शेर्पा ८. मणिराम भण्डारी ९. किरण कुमारीयादव १०. लक्ष्मण यादव ११. औंमा खातुन राई १२. श्रीमननारायण मिश्र १३. गजाधर यादव १४. अर्जुन उप्रेती १५. इन्द्रा झा १६. नीलम बर्मा

   

प्रकाशित: ८ कार्तिक २०७४ ०३:४५ बुधबार

राजपा समानुपातिक सूची सम्धिनीदेखि जग्गा दलाल