राजनीति

दलको रोजाइमा परेनन् महिला

धादिङ-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ धादिङबाट पुरुषमात्रै भिड्ने भएका छन्। जिल्लामा क्रियाशील सबै दलले आइतबार मनोनयन दर्ता गराए पनि महिलाको नाम समावेश हुन सकेन।

कांग्रेस र एमालेले जिल्लाबाट दुई÷दुईजना महिलाको नाम सिफारिस गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट भएको टिकट बाँडफाँटमा उनीहरू परेनन् ।

धादिङ क्षेत्र नं. २ (क) बाट कांग्रेसले कल्पना अधिकारी र क्षेत्र नं. १ (ख) बाट कविता इटनीको नाम केन्द्रमा पुगेको थियो । एमालेले क्षेत्र नं. २ (क) बाट पार्वती खाँड राई र ‘ख’ बाट इन्दिरा ढुंगानाको नाम सिफारिस गरेको थियो । तर, दुवै पार्टीका केन्द्रीय नेतृत्वले महिलाको नाम हटाएर पुरुषलाई नै टिकट दिएका हुन् । प्रतिनिधिसभा सदस्यका लागि एमालेले क्षेत्र नं. २ बाट लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेर पठाए पनि केन्द्रमा लक्ष्मीको नामले चर्चा पाएन । प्रतिनिधिसभामा उनीबाहेक अन्य महिलाको नाम सिफारिसमा समेत परेको थिएन ।

प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारलाई चुनौती दिने होडमा महिलाको नाम मनोनयनमा नपरेको जिल्ला पार्टीका प्रमुखहरूले प्रतिक्रिया दिए । ‘वाम गठबन्धनलाई चुनौती दिन महिलाको नाम हटाएर प्रदेश र प्रतिनिधिसभा दुवै निर्वाचनको प्रत्यक्षतर्फ पुरुषलाई नै अघि बढाएर महिलालाई समानुपातिकतर्फ राख्ने तयारी भएको छ,’ कांग्रेस धादिङका सभापति रमेश धमलाले भने, ‘निर्वाचन जित्नका लागि हो, वाम गठबन्धनलाई चुनौती दिन सक्ने उम्मेदवार खोज्ने क्रममा महिला परेनन् ।’

वाम गठबन्धनमा सम्मिलित दलका जिल्ला प्रमुखहरूले पनि प्रतिस्पर्धी उम्मेदवारलाई हराउन सक्ने क्षमता भएका उम्मेदवारलाई टिकट दिने क्रममा महिलाको नाम नपरेको जनाएका छन् । ‘सबैसँग प्रतिस्पर्धा गर्न सक्ने योग्य क्षमतावान प्रतिस्पर्धी खोज्ने क्रममा महिलालाई अघि सार्न सकिएन, समानुपातिकतर्फबाट महिलालाई अघि बढाउने पार्टीको योजना छ,’ एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने ।

दलहरूबीच राजनीतिक गठबन्धन र पुरुषहरूबीच जुँगाको लडाइले महिला पछि परेका हुन् । पैसा र पावरको राजनीतिले निर्वाचनका बेला महिलाको नाम छलफलमा समेत नपर्ने गरेको एमाले धादिङकी जिल्ला कमिटी सदस्य राधिका सापकोटाले बताइन्। ‘दलहरू संविधानको मर्मविपरीत हिँड्न थालेका छन्,’ उनले भनिन्, ‘पुरुषले महिलालाई नारा लगाउने र जुलुस गर्ने ठाउँमा मात्रै प्रयोग गर्दैछन् ।’

स्थानीय तह निर्वाचनमा उपमेयरमा मनोनयन दर्ता गराएर पनि निकालिएकी कल्पना अधिकारीको नाम जिल्ला कांग्रेसले प्रदेशसभाका लागि सिफारिस गरे पनि तर केन्दले उनलाई टिकट दिएन । उनी भन्छिन्, ‘संवैधानिक व्यवस्था मिलाउनमात्रै महिलालाई समानुपातिकमा सीमित राख्न खोजियो ।’

पुरुष मानसिकतामा केन्द्रित रहेर संविधान, पार्टीको नीति र सिद्धान्त बनेकाले महिला पछि परेको नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य कल्पना धमलाले बताइन् । ‘महिला राजनीतिक लिडर हो भन्ने कुरा कुनै पार्टीले पनि स्वीकार गरेन,’ उनले आक्रोश व्यक्त गरिन् ।

प्रदेशमा भिड्दै केन्द्रीय नेता

केन्द्रीयस्तरका नेताहरूले नै प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन् । २०६४ को संविधानसभा निर्वाचनमा विजयी माओवादी केन्द्रका शालिकराम जमकट्टेल र २०७० सालको चुनावमा विजयी भएका राजेन्द्रप्रसाद पाण्डे दुवै प्रदेशसभा उम्मेदवार बनेका छन् ।

पाण्डे धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा (क) मा उम्मेदवार बनेका छन् भने जमकट्टेलले प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा (ख) बाट उम्मेदवारी दिएका छन् । पहिलो संविधानसभा चुनावमा जमकट्टेलले पाण्डेलाई पराजित गरेका थिए भने दोस्रोमा पाण्डेले जमकट्टेललाई पराजित गरेका थिए । एमाले पोलिटब्युरो सदस्य पाण्डे पूर्वमन्त्री हुन् । जमकट्टेल माओवादी निकट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष हुन् ।

वामपन्थीका तर्फबाट धादिङ १ मा प्रतिनिधिसभातर्फ एमालेका भूमि त्रिपाठी र २ मा एमालेकै खेमप्रसाद लोहनीले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभातर्फ एमालेका डा.रामकुमार अधिकारी र माओवादीका जगत सिंखडाले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा विश्व अर्याल र क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिनले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) बाट कांग्रेसका मधुकुमार श्रेष्ठ र ‘ख’ बाट कांग्रेसकै प्रभातकिरण सुवेदीलाई उम्मेदवार बनाएका छन् । क्षेत्र नं. २ (क) बाट पनि कांग्रेसकै रमेश धमलाले मनोनयन दर्ता गराएका छन् । लोकतान्त्रिक गठबन्धनले क्षेत्र नं. २ (ख) बाट भने राप्रपाका डम्बरबहादुर तामाङलाई उम्मेदवार बनाएको छ ।

२ लाख ३३ हजार मतदाता

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा २ लाख ३३ हजार ४ सय ७५ जना मतदाता रहेका छन् ।

५६ हजार ३ सय ८० जना पुरुष, ५८ हजार ९ सय ५९ जना महिला र १ जना तेस्रोलिङ्गी मतदाता रहेको निर्वाचन अधिकृत ईश्वर सिम्खडाले जानकारी दिए । स्थानीय तह निर्वाचनमा २ लाख ६ हजार ४५ जना मतदाता थिए । अहिले २७ हजार ४ सय ३० मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभालाई लक्षित गर्दै फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेपछि मतदाताको संख्या बढेको हो ।

धादिङमा प्रतिनिधिसभाका लागि दुईवटा र प्रदेशसभालाई ४ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

 

प्रकाशित: ८ कार्तिक २०७४ ०२:२६ बुधबार

दलको रोजाइमा परेनन् महिला