राजनीति

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढः प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रह समेत गरे। उनले वीर अस्पताललाई अझै बिस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी प्रतिवद्धता जनाए।

नर्सिङ सेवासँग सम्बन्धित देखापरेका जटिलतालाई समाधान गर्नेतिर सरकारले दृढतापूर्वक अघि बढेको उनको भनाइ छ। उनले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरुको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानून निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताए। उनले संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरुको भुमिका सबैभन्दा महत्वपूर्ण हुने बताए।

उनले भने, ‘संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरुको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानून निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छन्। संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरुको भुमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। यसतर्फ आगामी दिनमा सिंगो प्रतिष्ठान परिवारले गम्भीरतापूर्वक काम गर्नेछ। दक्ष र प्राविधिक जनशक्तिबाट देशको दूर दराजका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक हो। हाम्रो राजनीति र जीवन व्यवहार नागरिको स्वार्थ र हीतमा समर्थित गरेर मात्र हामीले लोकतान्त्रिक राज्यको औचित्य पुष्टि गर्नसक्छौँ। त्यसका लागि राज्यका सम्पूर्ण अंगहरुले नियन्त्रणमुखी नभइ प्रवद्र्धन र सेवामुखी भएर काम गर्न जरुरी छ। गरिव, विपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भुमिका पूरा गर्नुपर्छ। स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा अझ गम्भीरता र जिम्मेवारीपूर्वक जनसेवाका काम हुनुपर्छ। नेपालको संविधान, राज्यका प्रचलित नीति, कानून, प्रवन्धहरुको निर्देशनमा रही प्रभावकारी कार्यसम्पादन गर्न प्रतिष्ठान र प्रतिष्ठान आवद्ध सबैलाई निर्देशन दिन्छु। चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन एवं नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपल्ब्ध गराउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको हो। वीर अस्पताललाई अझै बिस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी गर्नेछ। नर्सिङ सेवासँग सम्बन्धित केही जटिलता देखापरेका छन्। अहिले सरकार, स्वास्थ्य मन्त्रालय यो समस्या समाधान गर्नेतिर दृढतापूर्वक अघि बढेको छ।’

प्रकाशित: १८ आश्विन २०८० ११:२८ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाल