राजनीति

संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाऔँः सांसद सापकोटा

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका छन्।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसद बैठकमा राजनीतिक कुराहरु र एकले अर्कोलाई आरोप–पत्यारोप गर्ने कुराहरु मात्रै हुन थालेको भन्दै त्यसो गर्नु नहुने बताएका हुन्। उनले संसदले कानून बनाउने कुराभन्दा राजनीतिक कुराहरुमा नै समय खर्च गरेको भन्दै अब संसद र सांसदहरु जिम्मेवार हुनुपर्ने बताए। संसदलाई प्रतिक्रियाको राजनीति गर्ने थलो नबनाउन सांसदहरुलाई उनले आग्रह गरे।

संसदभित्र जनताका कुराहरु, संविधान र कानून निर्माणका कुराहरुलाई जोड दिइनुपर्ने उनले बताए। उनले राजनीतिक कुराहरु सर्वदलिय बैठक गरेर भन्ने गर्नुपर्ने बताए। सांसद सापकोटाले संसदलाई राजनीतिक कुण्ठा व्यक्त गर्ने थलो बनाउनु नहुने बताए।

उनले भने, ‘हामी जिम्मेवार हौँ। हामी धेरै प्रतिक्रियाको राजनीति गर्ने थलो संसदलाई नबनाऔँ। अरु धेरै राजनीतिक कुराहरु सर्वदलिय बैठकको आयोजना गरेर त्यहाँ भन्ने गरौँ। संसदभित्र जनताका कुराहरु, संविधान र कानून निर्माणका कुराहरुलाई जोड दिएर अगाडी लगियोस्। संसदलाई धेरै राजनीतिको कुण्ठा व्यक्त गर्ने थलो, एकले अर्कोलाई नांगेझार पार्ने चिज नबनाऔँ। समाजलाई अनुशासित बनाउने हो भने, सामाजिक सञ्जालमा व्यक्त भइराखेका उश्रृंखलताहरुलाई हामीले नियमन गर्ने हो भने सबभन्दा पहिला सबै नीतिहरुको माउ नीति राजनीति हुनुका नाताले राजनीतिज्ञहरु ज्यादा अनुशासित हुनुपर्दछ। शिर्ष नेताहरु ज्यादा अनुशासित हुने, जिम्मेवार हुने र सिंगै देशलाई एउटा सन्देश दिने र देशलाई कमाण्डमा लिनका निम्ति उहाँहरु स्वःअनुशासित हुनुपर्दछ । किन त्यसो भएको होला?’

प्रकाशित: १८ आश्विन २०८० ११:१२ बिहीबार

माधव सापकोटा