राजनीति

आरोप-प्रत्यारोपमा उत्रिए बाबुराम र नारायणकाजी

नयाँ शक्ति नेता डा.भट्टराई र माओवादी नेता नारायणकाजी

गोरखा- गोरखा २ मा चुनावी मैदानमा उत्रिएका शीर्ष नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकअर्काप्रति आरोप–प्रत्यारोप थालेका छन् । सोमबार बिहान छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूले जित्ने दाबीमात्रै गरेनन्, एकअर्काप्रति आरोप–प्रत्यारोप लगाउनसमेत भ्याए ।

भट्टराईले वाम गठबन्धन सत्ताको लोभमा लागेकाले आफू बाहिरिएको बताए । उनले भने, ‘देशलाई निकास दिन वाम वा लोकतान्त्रिक जुन शक्तिसँग भए पनि गठबन्धन गरेर अगाडि बढ्ने योजना थियो ।’ वाम गठबन्धन सत्ताको लोभमा लागेको र परिर्वतन हुन नसकेको आरोप लगाउँदै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले भने, ‘वाम गठबन्धन सत्ता केन्द्रित भयो, त्यसैले त्यहाँबाट बाहिरिएको हुँ।’ कांग्रेसलाई जरैदेखि सिध्याउनुपर्छ भन्ने अभिव्यक्ति दिएको भनेर गलत प्रचार गरिएको बताउँदै उनले आफूले त्यस्तो प्रतिक्रिया नदिएको प्रस्ट पारे।

उनका प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठ सोमबार नै पत्रकार भेटघाट गर्दै बाबुरामको प्रवृत्तिका कारण उनीसँगको तालमेल टिकाउ नभएको बताए। जोसँग पनि मिल्न खोज्ने, आफूले भनेअनुसार सिट नपाएपछि जानेजस्ता प्रवृत्तिका कारण बाबुरामसँगको तालमेल हुन नसकेको उनको भनाइ थियो।

 उनका प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठ सोमबार नै पत्रकार भेटघाट गर्दै बाबुरामको प्रवृत्तिका कारण उनीसँगको तालमेल टिकाउ नभएको बताए। जोसँग पनि मिल्न खोज्ने, आफूले भनेअनुसार सिट नपाएपछि जानेजस्ता प्रवृत्तिका कारण बाबुरामसँगको तालमेल हुन नसकेको उनको भनाइ थियो। कहिले फोरमसँग तालमेल गर्न खोज्ने, कहिले वाम गठबन्धनमा कहिले कांग्रेसमा जाने बाबुरामको ढुलमुले प्रवृत्ति रहेको उनले टिप्पणी गरे । स्थानीय तह निर्वाचनमा परिणाम हेरेपछि बाबुराम झनै अत्तालिएर गठबन्धन गर्न दल खोज्दै हिँडेको श्रेष्ठले आरोप लगाए । उनले भने, ‘बाबुरामजीले चुनाव जित्ने आधार देखिँदैन, कार्यदिशा र योजना केही प्रस्ट छैन ।’

शीर्ष नेताहरूबीच चुनावी प्रतिस्पर्धा हुन लागेको र आउने परिणामबारे सञ्चारकर्मीको जिज्ञासामा उनले बाबुरामको चर्को आलोचना गरेका हुन् । भट्टराईले नाम नै किटेर आलोचना नगरे पनि उनले वाम गठबन्धनको सम्बन्ध लामो समय जान नसक्ने र सत्तालिप्सा ध्येय रहेको ठोकुवा गरे । अर्थमन्त्री हुँदा गोरखा २ मा आफूले गरेको लगानी, यसअघि एकपटक विजयी हुँदा जनताले दिएका मत र जनआधारमा जित्ने दाबी गरे।

‘कृषि, बाटोघाटो, जलविद्युत, पर्यटन र तिब्बतसँगको गोरखाको नाका सधैं खुलाउने अजेन्डामा अगाडि बढेको छु,’ आफूले निर्वाचन जित्ने आधारबारे नेता श्रेष्ठले भने । गोरखाको समृद्धि र सिंगो नेपालको विकासका लागि वाम गठबन्धनले बहुमतको सरकार बनाएर देशको कायपलट गर्ने दाबी उनले गरे । वाम एकता चुनावी मात्रै नभएर पार्टी एकता हुनेमा दुविधा नराख्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । भट्टराई र श्रेष्ठ माओवादी पार्टीभित्र सँगै काम गरेका थिए । माओवादी युद्धकालको समयमा भट्टराई गोरखासँग नजिक रहेको र नेता कार्यकर्तासँग पनि निकट भएकाले उनले भोट बटुल्न सक्ने आकलन गरिएको छ । श्रेष्ठले भने संगठन बलियो रहेको र वाम तालमेलले जित पक्का भएको दाबी गरेका छन्।

यी दुई शीर्ष नेताबीच चुनावी प्रतिस्पर्धा हुन लागेको गोरखा २ मा सबैको चासो छ । नयाँ शक्तिका संयोजक भट्टराई र माओवादी नेता श्रेष्ठले उम्मेदवारी दर्ता गराएपछि दुवै नेता मत बटुल्न, नेता र कार्यकर्ताको ध्यान खिच्न सोमबार पनि गोरखा सदरमुकाममा भेटघाट गरिरहेका छन् ।
उनको गोरखाको विकास निर्माणमा मध्यपहाडी लोकमार्ग, बुढीगण्डकी आयोजनाजस्ता राष्ट्रिय गौरवका योजनालाई सम्पन्न गर्न आफूले प्रयत्न गर्ने बताएका छन् । संविधान निर्माणक्रममा आफूले ठूलो योगदान गरेको स्मरण गर्दै उनले भने, ‘जनताले विकास निर्माण र संविधान कार्यान्वयनको जिम्मेवारी दिनेछन्, मत दिएर जिताउनेछन् भन्नेमा आशावादी छु ।’

भष्ट्राचारविरुद्ध विवेकशील साझाको उम्मेदवार
गोरखामा विवेकशील साझा पार्टीले दुवै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । गोरखा १ मा अमृत पुडासैनी र २ मा नवराज थापाले उम्मेदवारी दिएका हुन् । पुडासैनीले कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ र माओवादी प्रदेश नम्बर ४ का इन्चार्ज हरि अधिकारीसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तै थापाले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठसँग चुनाव लड्दैछन् ।

दूरदर्शिता, इमानदारी राख्दै समग्र गोरखा र देशको समृद्धिका लागि उम्मेदवारी दिएको गोरखा २ का उम्मेदवार थापाले बताए । उनले भने ‘भष्ट्राचार, कुसंस्कृति र माफियातन्त्रविरुद्ध हाम्रो उम्मेदवारी हो ।’ शीर्ष नेतासँग निर्वाचनमा जानु जटिल भए पनि प्रतिस्पर्धा गर्न कुनै डर नभएको उनीहरूले बताए ।

उम्मेदवारलाई आचारसंहिताको जानकारी
गोरखास्थित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई आचारसंहिताबारे जानकारी गराएका छन् । निर्वाचन आचारसंहितामा भएका कुरा, ध्यान दिनुपर्ने विषय, उम्मेदवारले गर्न हुने र नहुने कामका बारेमा सोमबार बिहान जानकारी गराइएको हो ।
जिल्ला समन्वय समितिको सभाकक्षमा गरिएको उक्त छलफलमा गोरखा २ बाट चुनावी मैदानमा उत्रिएका डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, १ का चिनकाजी श्रेष्ठ, हरि अधिकारीसहित प्रदेशका उम्मेदवारहरूको उपस्थिति थियो।

प्रकाशित: ७ कार्तिक २०७४ ०२:२९ मंगलबार

आरोप-प्रत्यारोपमा उत्रिए बाबुराम नारायणकाजी