राजनीति

एमालेका ‘पाहुना’ उम्मेदवार

दोलखा- बहुदलयताका प्रायःजसो निर्वाचन जित्दै आएका दोलखा एमालेका दुई नेताले दोलखास्थित प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का लागि टिकटको दाबी गरे । भीमेश्वर नगरपालिका, कालिञ्चोक, विगु र शैलुङ गाउँपालिका गरेर ४ वटा स्थानीय तह रहेका प्रदेश निर्वाचन क्षेत्र ख मा एमालेभित्र जिविसका पूर्वसभापति विगु गाउँपालिकाका लालकुमार केसी र पार्टी अध्यक्ष केपी ओली निकट कालिञ्चोक गाउँपालिका स्थायी घर भएका उद्योगी बालकृष्ण शिवाकोटी सबैभन्दा बढी दौडधुपमा थिए ।

दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ कायम भएको साबिकको क्षेत्र नं २ मा २०६४ को संविधानसभा निर्वाचनबाहेक बहुदलयताका सबै चुनाव जित्दै आएको एमालेका लागि पाहुना उम्मेदवारका रूपमा पशुपति चौलागाई पहिला हैनन् । ४८ यताका प्रायः चुनावमा एमालेका उम्मेदवार साबिकको क्षेत्र नं १ बाटै आयातित थिए ।

    तर, आइतबार मनोनयनअगाडि नाम नभरेको खाली टिकट पठाइएको दोलखाको यो क्षेत्रका उम्मेदवारका रूपमा अर्कै क्षेत्रबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य पशुपति चौलागाईको नाम भरेर एमालेका तर्फबाट उम्मेदवारी दिइयो ।
दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र ख कायम भएको साबिकको क्षेत्र नं २ मा २०६४ को संविधानसभा निर्वाचनबाहेक बहुदलयताका सबै चुनाव जित्दै आएको एमालेका लागि पाहुना उम्मेदवारका रूपमा चौलागाई पहिला हैनन् । ४८ यताका प्रायः चुनावमा एमालेका उम्मेदवार क्षेत्र नं १ बाटै आयातित थिए । ‘प्रत्येक चुनावमा हाम्रै क्षेत्रका नेताले आकांक्षा राख्छन्,’ दोलखा एमालेका एक जिल्ला नेताले भने, ‘तर, अन्तिममा अर्कै क्षेत्रका नेताले टिकट पाउँछन् ।’
यसअघि २०४८ सालको संसदीय चुनावमा बाहेक सबै निर्वाचनमा एमालेले पाहुना उम्मेदवारमात्रै उठाएकाले भन्दै कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेको ती नेताले बताए । यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समेत अर्को क्षेत्रबाट उम्मेदवार ल्याएर लडाइएका कारण जिल्लाका पुराना एमाले नेता केसीले एमाले परित्याग गरी मालेबाट चुनाव लडेका छन् ।  

तिब्बती नाका लामाबगर गाउँदेखि सुन्दर पर्यटकीय क्षेत्र शैलुङ र रामेछाप, सिन्धुपाल्चोक र काभ्रेसँग सीमा जोडिएको दुधपोखरी र भुषाफेदा गाउँसम्म फैलिएको यो निर्वाचन क्षेत्रमा २०४८ सालको चुनावमा एमालेले आफ्नै क्षेत्रको उम्मेदवार उठायो । त्यसबेला लादुक गाउँका जितवीर लामाले कांग्रेसका उम्मेदवार कृष्ण थापालाई ठूलो मतान्तरले हराएका थिए । थापासमेत २ नं क्षेत्रकै सदरमुकामस्थित चरिकोट बजारका थिए ।
लामापछि दोलखा एमालेले क्षेत्र नं २ बाट उम्मेदवार नै पाएन । २०५१ को मध्यावधि चुनावमा क्षेत्र नं १ को श्यामा गाउँका वाङछे शेर्पालाई ल्याएर चुनावमा उठाइयो । उनी कांग्रेसका माधवमणि राजभण्डारीलाई पराजित गरेर सांसद बने । राजभण्डारी २ नं क्षेत्रकै भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारका थिए । उक्त सालको चुनावमा क्षेत्र नं १ मा भने आनन्दप्रसाद पोखरेल चुनाव लडेका थिए । उनी कांग्रेसका दिवंगत नेता भीमबहादुर तामाङसँग पराजित भएका थिए ।
२०५६ को संसदीय चुनावमा यो क्षेत्रबाट एमालेले उम्मेदवार नै पाएन । त्यति बेला क्षेत्र नं २ का केही नेताले आकांक्षा राखे पनि ५१ को मध्यावधिमा १ बाट उठेका जफे गाउँका आनन्दप्रसाद पोखरेलले २ को टिकट लिए । उनले कांग्रेसका ताराबहादुर कोइरालालाई हराए । कोइराला २ नम्बर क्षेत्रकै शैलुङ गाउँका थिए । पुख्र्यौली घर शैलुङकै सिमाना पवटीमा भए पनि उनले पञ्चायतकालदेखि नै शैलुङबाट चुनाव लड्दै आएका थिए ।
२०६४ को संविधानसभामा समेत एमालेबाट पोखरेल नै उम्मेदवार बने । जफे गाउँका पोखरेलले अर्को निर्वाचन क्षेत्रमा आएर चुनाव लडेको भन्दै आलोचना खेप्नुपरेपछि संविधानसभा निर्वाचन २०६४ मा भने आफ्नो मतदाता नामावली भीमेश्वर नगरपालिका १० स्थित चरिकोट सारेका थिए । उक्त चुनावमा पोखरेल तत्कालीन नेकपा माओवादीका उम्मेदवार हेमबहादुर श्रेष्ठसँग पराजित भएका थिए । कांग्रेसबाट समेत कोइराला नै लडे पनि उनी श्रेष्ठ र पोखरेलसँग प्रतिस्पर्धामा आउन सकेनन् ।
२०७० को संविधानसभा निर्वाचनमा समेत एमालेका पोखरेल नै तेस्रोपटक उम्मेदवार बने । उनले कांग्रेसका कोइरालालाई झन्डै ४ हजार मतको अन्तरले हराए । माओवादीका उम्मेदवार शंकर लामा यो क्षेत्रबाट चुनाव लडेर तेस्रो बने । उनी जिल्लाको क्षेत्र नं १ स्थित घ्याङसुकाठोकरबाट क्षेत्र नं २ मा चुनाव लड्न आएका थिए ।
आगामी मंसिर १० को निर्वाचनका लागि एमालेले पुनः क्षेत्र नं १ बाट पार्टी पोलिटब्युरो सदस्य चौलागाईलाई ल्याएर प्रदेशसभा सदस्यको चुनाव लडाएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यको सिट रहेको दोलखामा चौलागाई प्रतिनिधिसभा सदस्यका दाबेदारका रूपमा अग्रस्थानमा थिए ।
तर, दोलखामा चौलागाईसहित पार्टी केन्द्रीय सदस्य पार्वत गुरुङ र पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल प्रतिनिधिसभा सदस्यका दाबेदार रहेका कारण एमाले केन्द्रीय समितिलाई मिलाउन अप्ठेरो परेका कारण सहमति गरेर मिलाउन भन्दै दोलखा इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य गुरुङको हातमा पार्टी अध्यक्ष केपी ओलीले खाली टिकट पठाइदिए ।
उम्मेदवारी दर्ता हुने दिन गुरुङलाई एमाले अध्यक्ष ओलीले खाली टिकटमा आफ्नो (गुरुङकै) र प्रदेश नं ख को टिकटमा पोलिटब्युरो सदस्य चौलागाईको नाम भर्न निर्देशन दिएलगत्तै उनले सोहीअनुसार गरे र एमालेले प्रदेश निर्वाचन क्षेत्र ख मा उम्मेदवारका रूपमा जिल्लाको काब्रे गाउँका चौलागाईको नाम दर्ता गरायो ।
प्रदेश क भने वाम गठबन्धनका कारण एमालेले माओवादी केन्द्रलाई दिइसकेको थियो । त्यहाँ माओवादी केन्द्रका विशाल खड्काले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसले भीमेश्वर नगरपालिका ४ जिलु स्थायी घर भएका पार्टी महासमिति सदस्य केशवराज चौलागाईलाई प्रदेशसभा सदस्यका रूपमा अघि सारिसकेको छ ।

प्रकाशित: ७ कार्तिक २०७४ ०२:२३ मंगलबार

एमालेका पाहुना उम्मेदवार