राजनीति

फरक भूगोलको उम्मेदवार बनाएको भन्दै बागी

खोटाङ – ओखलढुंगामा कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परेको छ। आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेद्वार प्रदीप सुनुवार विरुद्ध ज्ञानेन्द्र रुम्दालीको बागी उम्मेद्वारी परेको हो। टिकट वितरणमा केन्द्रबाट गलत निर्णय भएको भन्दै जिल्ला सभापति रहेका सुनुवार बिरुद्ध तरुण दलका जिल्ला सभापति रुम्दालीको बागी परेको हो।

क्षेत्र नम्बर (क) का सुनुवारलाई क्षेत्र नम्बर (ख) बाट टिकट दिएको भन्दै असन्तुष्टपक्षले रुम्दालीलाई उम्मेद्वार उठाएको जनाइएको छ। पार्टीले टिकट वितरणमा त्रुटी गरेको भन्दै असन्तुष्ट महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि सहित ३१ जनाले कार्तिक ३ गते विज्ञाप्तीमार्फत जिम्मेवारीबाट हटेको जानकारी गराएका थिए । टिकट वितरणमा असन्तुष्टि जनाउँदै महासमिति सदस्य कुमार लुईंटेल र बाला अधिकारी, महाधिवेश प्रतिनिधि बालकृष्ण दाहाल, रामजी बाँस्तोला, टिकटका दावेदार लिलाबल्लभ दाहाल, ज्ञानेन्द्र रुम्दाली, कमल तामाङ लगायतले पार्टीको जिम्मेवारीबाट हटेको बताएपछि रुम्दालीको बागी उम्मेद्वारी परेको हो । पार्टी केन्द्रीय समितिले फरक भूगोलको व्यक्तिलाई फरक भूगोलको टिकट दिएर आफ्नै कार्याकर्तालाई अन्याय गरेकाले बागी उम्मेद्वारी दिएको उम्मेद्वार रुम्दालीले बताए । ‘काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा केन्द्रबाट ठाडो हस्तक्षेप भएको छ,’ रुम्दालीले भने, ‘यस्तो हस्तक्षेत्र कार्यकर्ताका लागि सह्य नभएकाले उम्म्द्वारी दिएको हुँ ।’

प्रतिनिधिसभाका लागि ओखलढुंगामा काँग्रेसकातर्फबाट रामहरी खतिवडा तथा प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर (ख) बाट मित्रसेन दाहालको उम्मेद्वारी परेको छ । आफ्नो सिट सुरक्षित गर्नका लागि खतिवडाले सभापति सुनुवारलाई आफ्नो क्षेत्रमा ल्याएर उम्मेदवार बनाएपछि कार्यकर्तापंक्तिमा असन्तुष्टी चुलिएको असन्तुष्टपक्षको भनाई छ। एमाले र माओवादी गठबन्धनका तर्फबाट भने प्रतिनिधिसभा सदस्यका लागि एमालेका यज्ञराज सुनुवार तथा प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर (क) बाट अम्बिरबाबु गुरुङ र (ख) बाट माओवादी केन्द्रका मोहन खड्काको मनोनयन दर्ता भएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ओखलढुंगामा कांग्रेस, वाम गठबन्धन, नेकपा माले, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान लोकतान्त्रिक, देशभक्त जनगणतान्त्रिक मोर्चा र नयाँ शक्ति पार्टी नेपालका २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: ६ कार्तिक २०७४ १३:१७ सोमबार

भूगोलको उम्मेदवार बनाएको भन्दै बागी