राजनीति

कांग्रेस म्याग्दीका कार्यकर्ताले राप्रपालाई अस्वीकार गर्ने

प्रजातान्त्रिक गठबन्धनबाट म्याग्दी जिल्लाको क्षेत्र नम्बर १ राप्रपालाई परेपछि नेपाली कांग्रेस म्याग्दीका नेता–कार्यकर्ता रुष्ट भएका छन् । राप्रपा विभाजित भएसंगै जिल्लामा कमजोर बनेको शक्तीलाई आफ्नो बलियो पकट भएको क्षेत्रमा पार्टीले राप्रपालाई छोडेको भन्दै विद्रोहको चेतावनी नेता–कार्यकर्ताले दिएका छन् ।  शुक्रबार उम्मेदवार टुंगो लगाउने क्रममा राप्रपाले ४ प्रतिनिधिसभा र ७ प्रदेशसभा सदस्यको माग गरेकोमा म्याग्दीमा प्रदेशसभा सदस्य मागेपछि टिकटको दौडमा रहेका नेताहरू संगै जिल्लाका कांग्रेस कार्यकर्ता आक्रोशित भएका हुन् ।

‘हामीलाई साथ चाहिएको बेलामा विपक्षीलाई सघाउनेलाई जिल्लामा सहकार्य गर्न सकिदैन् ।कार्यकर्ताको भावना अनुसार नै अगाडी नबढे परिणाम गम्भीर हुन्छ’ नेविसंघका निर्वाचन परिचालन संयोजक निर्मल खत्रीले भने । उनले जिल्लाको इतिहासमा राप्रपाबाट सधै पार्टीलाई असहयोग भएको बताउँदै राप्रपालाई अन्य जिल्लामा तालमेल गर्न समेत पार्टीको जिल्ला नेतृत्वमार्फत दवाव दिएको बताए । स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण गाउँपालिका जितेको क्षेत्र समावेश रहेको प्रदेशसभा सदस्य क्षेत्र नम्बर १मा राप्रपालाई छुट्टाएपछि कांग्रेसका नेता– कार्यकर्ता आक्रोशित भएका हुन् । ‘राप्रपा विभाजन भएपछि जिल्लामा कमजोर भएको छ ।शनिबारसम्म निर्णय सच्चाउन अनुरोध गरेका छौ’ एक नेताले भने ।

उनले जिल्लामा पार्टीको उपस्थितिलाई कमजोर पार्ने निर्णय भएको भन्दै भविस्यमा पनि यो निर्णयले ठुलो असर गर्ने भएकाले पनि विगतमा तिक्ततापूर्ण सम्बन्ध र निरन्तर असहयोग गरिएको पार्टीका नेतालाई जिताउने अभियानमा पार्टीलाई परिचालन गर्न नसकिने बताए । स्थानीय तहको निर्वाचनको परिणाम अनुसार बेनी नगरपालिकामा मेयर, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख जितेको थियो । राप्रपाबाट विभाजित भएर पूर्वराज्यमन्त्री जगत गौचनले राप्रपा प्रजातान्त्रिकको स्थापना गरेसंगै जिल्लामा राप्रपा कमजोर भएको छ । कमजोर शक्तीसंग सहकार्य गरेको भन्दै पार्टीका कार्यकर्ताले नेतालाई निर्णय सच्चाउन दवाव दिएका छन् । स्थानीय तहको निर्वाचनमा एमाले संग तालमेल गरेको र जिल्ला समन्वय समितिमा सहयोग नगरेकोमा पनि कांग्रेसका कार्यकर्ता रुष्ट छन् । स्थानीय तहमा राप्रपामा सक्रिय देखिएका यूवाहरु अहिले राप्रपा प्रजातान्त्रिमा लागेका छन् । स्थानीय तहमा राप्रपाले जिल्लाभरबाट ४५० मत पाएको थियो ।

किन सहकार्यलाई रुचाउँदैनन् कांग्रेसी ?

स्थानीय तहको निर्वाचनमा राप्रपाबाट उपमेयरमा विजय भएकी सञ्जु बरुवालले सहयोग गरेको भए जिल्ला समन्वय समितिमा कांग्रेसले उपप्रमुख राप्रपालाई दिएर प्रमुख आफ्नो पक्षमा पार्ने थियो । जिससमा मताधिकार भएका ६ स्थानीयतहका १२ जना मतदाता मध्ये ६ जनाकाँग्रेस, ५ जना एमाले र १ जना राप्रपाका थिए । कांग्रेसको जिल्ला नेतृत्वले पटकपटक प्रयास गर्दा समेत राप्रपाले एमालेलाई साथ दिएपछि अन्तिममा गोलाप्रथाबाट एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका देबेन्द्र केसीलाई प्रमुख पदको चिठ्ठा परेसंगै कांग्रेसले उपप्रमुखमा चित्त बुझाउनुपरेको थियो । राप्रपाका पूर्व राज्यमन्त्री भिमप्रसाद गौचन, जिल्ला अध्यक्ष बिर बहादुर थापासंग कांग्रेसका नेताहरुले गरेको प्रयासलाई समेत एमालेसंगै सहकार्य गर्ने भन्दै प्रतिक्रिया दिएको जिल्ला नेतृत्वले समेत विर्सिएको छैन् ।

‘राप्रपाको विगतका निर्वाचनमा पनि आफुँ हारेपछि कांग्रेसलाई पनि हराउने रणनीति देखियो, अहिलेको तालमेल बालुवामा पानी हालेजस्तै हो’ एक नेताले टेलिफोनमा भने । उनले राप्रपा प्रजातान्त्रिकमा भएका नेताहरुले जिल्ला समन्वय समितिमा पहल गरेपनि संस्थापन पक्षबाट कुनै सहयोग नभएको आरोप समेत लगाएका छन् । अर्को कुरा राप्रपाका अधिकांस कार्यकर्ताहरु काग्रेसमा आइसहेको र केही आउने तयारीमा समेत रहेको दावी समेत पार्टीका नेताहरुको भनाई पनि छ । नेपाली कांग्रेसका पुराना नेता तथा कार्यकर्ताले तत्कालिन समयमा राप्रपाबाट भएको दमन र अत्याचारलाई अझै विर्सिएका छैनन् । ‘बरु माओवादीलाई स्थानीय तहमा भोट हालियो, राप्रपाका गतिविधिबाट आजित भएका हामीले सहयोग गर्न सकिदैन् एक पुराना कार्यकर्ताले भने । राप्रपाबाट भिमप्रसाद गौचनको सम्भावना देखिएको छ । पार्टी स्रोतका अनुसार दोस्रो संविधान सभाको निर्वाचनमा समेत गौचन विरामी भएपछि उनले हार्ने निश्चित भएपछि कांग्रेसलाई कमजोर बनाउन विपक्षीलाई मतदान गर्न लागेको आरोप समेत लगाउने गरिन्छ ।

 

प्रकाशित: ४ कार्तिक २०७४ ०४:५७ शनिबार

कांग्रेस म्याग्दीका कार्यकर्ताले राप्रपालाई अस्वीकार गर्ने