राजनीति

एमाले गण्डकीको चुनाव विहीबार

नेकपा एमालेले गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। एमाले गण्डकीले नयाँ नेतृत्व सहमतिमा चयन नभएको खण्डमा चुनावी प्रतिष्पर्धाबाट छान्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

सोमबारदेखि शुरु भएको अधिवेशन अन्तर्गत मंगलबारदेखि बन्दसत्र जारी छ। पोखरा सभागृहमा भइरहेको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न नेतृत्वको दवाब छ। तर, गण्डकीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य खगराज अधिकारीको दुई समूहबीच जुंगाको लडाईं छ।  

केपी ओली नेतृत्वको एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट तलसम्मै छ। जसअन्तर्गत उपमहासचिव पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष पौडेल समूहमा छन् भने स्थायी कमिटी सदस्य अधिकारी पोखरेल समूहमा छन्। यी दुई समूहले आ–आफ्ना उम्मेदवार खडा गरेका छन्।

गण्डकी अध्यक्षमा गुरुङ समूहले नवराज शर्मालाई अगाडि बढाएको छ भने सचिवमा धनञ्जय दवाडीलाई अगाडि सारेको छ। शर्मा वर्तमान तदर्थ समितिका अध्यक्ष र दवाडी सचिव हुन्। अधिकारी समूहले भने अध्यक्षमा मायानाथ अधिकारीलाई अगाडि सारेको छ। मायानाथ पृथ्वीसुब्बा समूहबाट हालैमात्र अधिकारी समूहमा आएर अध्यक्षका उम्मेदवार बनेका हुन्।

त्यस्तै सचिवमा रश्मी आचार्यलाई अधिकारी समूहले अगाडि सारेको छ। आचार्य पनि गुरुङ समूहबाट अधिकारी समूहमा आएर उम्मेदवार बनेका हुन्। दुबै समूह आफूले अगाडि सारेको व्यक्ति भए सर्वसम्मत मान्न तयार नभए अडान छाड्ने पक्षमा छैनन्। सर्वसम्मतको नाम जपेर उनीहरु चुनाव प्रतिष्पर्धाको तयारीमा भएकाले नेतृत्व चयनका लागि चुनाव हुने निश्चितजस्तै छ।

एमाले गण्डकीले बुधबार मध्यान्हपछि मात्र चुनावी प्रक्रिया शुरु हुने जनाएको छ। जसअन्तर्गत मतदाता नामावली प्रकाशन, मतदाता नामावली उपर परेको दावी विरोध र सुधारको सूचना प्रकाशन, मतदाता नामावलीउपर परेको दावी विरोध र सुधारको सूचना प्रकाशन, लगायतका छन्।  

 एमाले गण्डकीले बुधबार अपराह्न ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ। साँझ ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशनको तालिका बनाएको छ। विहीबार विहान १० बजेदेखि उम्मेदवारको नाम फिर्ता र त्यसपश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ। सोहि दिन दिउँसो १ बजेबाट मतदानको समय तालिका तय भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिए।

प्रकाशित: १६ आश्विन २०८० ०८:४६ मंगलबार

एमाले गण्डकीको चुनाव