राजनीति

राजधानीलाई सुरुङमार्गले जोड्ने योजना

काठमाडौं- राजधानी भित्रिने मुख्य नाका हो नागढुंगा । अत्यधिक सवारी चापका कारण यो नाकाको सडकमा घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । धादिङको नौबीसेबाट काठमाडौंको नागढुंगासम्मको दूरी २६ किलोमिटर छ । यो दूरी छिचोल्न सवारीसाधनलाई कम्तीमा पनि दुई घन्टा जाममा बस्नैपर्ने बाध्यता छ । उपत्यका प्रवेशका अन्य नाका भक्तपुरको सूर्यविनायक–धुलीखेल, टोखा–नुवाकोट सडकखण्डको हालत पनि उस्तै छ ।

सरकारले २.३५ किलोमिटरको सुरुङमार्ग सन् २०२२ सम्म निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

साँघुरा सडकमा अत्यधिक सवारी चापले घन्टौं जाम सामान्य भइसकेको छ । सरकारको योजनाअनुसार सुरुङमार्ग बन्न सकेमा ट्राफिक अस्तव्यस्तता लामो समयसम्म रहनेछैन । सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीचालकले अहिलेजस्तो घन्टौं सवारीजामको सास्ती खेप्नुपर्ने छैन, इन्धन पनि बचत हुनेछ । सरकारले नेपाल आयल निगमको मुख्य डिपो थानकोटनजिकैको बस्नेतछापदेखि नौबीसेको सिस्नेखोला जोड्ने सुरुङमार्गको ठेक्का प्रक्रिया आगामी डिसेम्बरमा अघि बढाउने सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको पुससम्ममा ग्लोबल टेन्डर आह्वान गर्ने तयारीमा जुटेको बताउँछन् । ‘जाइकाले सुरुङको सम्पूर्ण डिजाइन तयार परिसक्यो,’ उनले भने, ‘अब आर्थिक र प्राविधिक पक्षको टुंगो लागेसँगै टेन्डर प्रक्रिया अघि बढ्नेछ ।’ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले उक्त सुरुङमार्गको थ्रिडी भिजुअल डिजाइनसमेत सार्वजनिक गरिसकेको छ । सरकारले २.३५ किलोमिटरको सुरुङमार्ग सन् २०२२ सम्म निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
अहिले धादिङको नौबीसेदेखि नागढुंगासम्म आइपुग्न २ देखि ३ घन्टा समय खर्चिनुपर्ने बाध्यता रहेको छ । सुरुङमार्ग बनेसँगै यो समय २० मिनेटमा छोटिनेछ । नेपाल आयल निगमको थानकोट डिपोभन्दा मुनिबाट निस्कने सुरुङमार्गलाई २.२५ किलोमिटरको एक्सेस रोड निर्माण गरेर त्रिभुवन राजपथमा ल्याएर जोड्नुपर्ने हुन्छ । उक्त सुरुङमार्ग निर्माणका लागि नेपाल सरकार र  जापान सरकारबीच सम्झौता भइसकेको छ ।
‘उपत्यका भित्रिने सवारीसाधनको अत्यधिक चापले सुरुङमार्गको आवश्यकता भइसक्यो,’ उनले भने, ‘सुरुङमार्ग बनाउन लागत धेरै लागे पनि दीर्घकालीन रुपमा सस्तो नै पर्न आउँछ ।’सुरुङमार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण दिने  सम्झौता भइसकेको उपमहानिर्देशक थापाले बताए । सुरुङमार्ग तीन लेनको हुनेछ, जसका दुई लेनमा सवारीसाधन गुडाइनेछ । अर्काे लेनमा मर्मत गर्नुपर्ने सवारीसाधन राखिनेछ ।
सडक विभाग वैदेशिक महाशाखाका प्रमुख तथा सहसचिव सञ्जयकुमार श्रेष्ठ उपत्यका भित्रिने नाकामा बढ्दो ट्राफिक जाम कम गर्न तथा इन्धन बचतका लागि सुरुङमार्ग अत्यावश्यक भइसकेको बताउँछन् । ‘उपत्यका भित्रिने सवारीसाधनको संख्या बढेकोबढ्यै छ, लामो दूरीका घुम्ती सडकमा सवारीसाधन चल्दा धेरै इन्धन खपत हुने गर्छ । त्यसैले छोटो र सहज पहुँचका लागि सुरुङमार्ग आवश्यक भएको हो,’ उनले भने, ‘सुरुङमार्गको लागत धेरै भए पनि दीर्घकालीन रुपमा राज्यका लागि फाइदा नै हुन्छ ।’
उनका अनुसार सुरुङमार्गको प्राविधिक विषयमा छलफल गर्न भौतिक पूर्वाधारमन्त्रीसहितको टोली जापान भ्रमणमा गएको छ । ‘जापानको सुरुङमार्गको अध्ययनका लागि मन्त्रीज्यूसहितको टोली जापान प्रस्थान गरेको छ,’ उनले भने, ‘जापानमा सुरुङमार्गको आर्थिक र प्राविधिक विषयमा समेत छलफल गर्ने कार्यक्रम छ ।’ सरकारले काठमाडौंका चारवटै मुख्य नाकामा सुरुङमार्ग बनाउन प्रारम्भिक अध्ययन थालेको छ ।
राजधानी जोड्ने नाकामा सवारीसाधनको अत्यधिक जाम हुन थालेपछि सरकारले सुरुङमार्गको विकल्प खोजेको हो । सडक विभागले उपत्यकामा प्रमुख चारवटै नाकामा सुरुङमार्ग बनाउन प्रारम्भिक चरणको अध्ययन थालेको जनाइएको छ ।
 

टोखा–नुवाकोट सुरुङमार्ग
सडक विभागले टोखा–नुवाकोट हुँदै रसुवागढी जोड्ने ४.२५ किलोमिटर सुरुङमार्गको अध्ययन कार्य प्रारम्भिक चरणमा रहेको जनाएको छ । सरकारले काठमाडौं उपत्यका र उत्तरी नाका केरुङ जोड्ने सडक मार्गअन्तर्गत टोखादेखि नुवाकोटको थानसिंहफाँटसम्म सुरुङ निर्माण गर्ने प्रस्ताव केही समयअघि मात्रै अघि सारेको थियो ।  ‘उत्तरी नाका केरुङ जोड्ने सुरुङमार्गका लागि प्रारम्भिक चरणमा सम्भाव्यता अध्ययन भइरहेको छ । सुरुङमार्ग बनाउन सकेमा दूरी घट्नुका साथै चीनसँगको व्यापारमा समेत फाइदा पुग्नेछ,’ उनले भने, ‘सुरुङमार्ग निर्माणका लागि एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्स्मेन्ट बैंकसँग विभिन्न चरणमा छलफल भइरहेको छ तर कसले बनाउने भनने अझै टुंगो लाग्न सकेको छैन ।’ २०७२ सालको भूकम्पपछि तातोपानी नाका बन्द भएसँगै केरुङ रसुवागढी नाकाको सम्भाव्यता खोज्न थालिएको हो । सुरुङमार्ग निर्माणका लागि सरकारले एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकमा प्रस्ताव पेस गरेको थियो । उताबाट हालसम्म कुनै जानकारी नआएको सडक विभागले जनाएको छ ।
 

सूर्यविनायक–धुलीखेल सुरुङमार्ग
सरकारले सूर्यविनायक–धुलीखेल १६ किलोमिटर सडक खण्ड चार लेनमा विस्तार गर्न लागिरहेको छ । उक्त सडक खण्ड विस्तारका लागि जाइकाले दुई वर्षदेखि नै अध्ययन थालेको छ । उक्त सडक खण्डमध्ये ३ सय मिटरमा सुरुङमार्ग बनाउन उपयुक्त देखिएकाले सुरुङमार्गको अध्ययन भइरहेको विभागका उपमहानिर्देशक थापाले बताए । ‘तीन सय मिटर सुरुङमार्ग बनाउँदा एक किलोमिटर छोटो हुने भएकाले सम्भाव्यता अध्ययन भइरहेको छ,’ उनले भने, ‘सुरुङमार्ग कसले बनाउने, अझैसम्म टुंगो लाग्न सकेको छैन ।’ आर्थिक वर्ष २०७४÷७५ को बजेट तथा नीति कार्यक्रममा काठमाडौंको कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म स्थलमार्गको विकल्पमा सुरुङमार्ग बनाउने उल्लेख छ ।
यसैगरी सडक विभागका अनुसार बहुचर्चित फास्टट्रयाकको निर्माणको क्रममा पनि १७ सय मिटरको सुरुङमार्ग बनाउन आवश्यक देखिएको छ । यसको तयारी थालिसकिएको छ ।

प्रकाशित: २ कार्तिक २०७४ ०३:०६ बिहीबार

राजधानीलाई सुरुङमार्गले जोड्ने योजना