राजनीति

चीनद्वारा रसुवागढी नाका बन्द, केरुङका नेपाली फर्काइए

रसुवा—चीनमा भोली हुने कंग्रेस सभाको चुनावको लागि अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द गरिएको छ। नेपाल र चिनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको हो।

नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार १९ औँ चिनियाँ नेसनल कंगे्रस सभा तथा चिनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमानाका बन्द गरेको हो।

चुनाव अवधीभरका लागि चीनस्थित केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ। प्रहरी नायब उपरिक्षक क्षेत्रीले भने, ‘व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फकाइएको छ ।’

चीनको के ८१ र के ८७ भन्ने स्थानमा भारी बर्षापछि आएको पहिरोको कारण सडक अवरुद्ध भएको र विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले चिनियाँ समयअनुसार आज दिउँसो १ बजेबाट नाका बन्द गरिन लागेको हो। 

प्रकाशित: ३१ आश्विन २०७४ ०३:४७ मंगलबार

चीनद्वारा रसुवागढी नाका केरुङका नेपाली फर्काइए