राजनीति

जनाधार भएका कांग्रेस नेता समानुपातिकमा

काठमाडौं– राजनीतिक दलहरुबीच धु्रवीकरण हुँदै जाँँदा मंसिरमा हुने प्रदेश र संघीय प्रतिनिधिसभा निर्वाचनमा जनाधार बलियो  भएका कांग्रेस नेता समानुपातिक सूचीमा बस्न बाध्य भएका छन्। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेर जाने सहमतिपछि कांग्रेसले पनि विभिन्न दलसँग निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनता दल, संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेलको गृहकार्यपछि कांग्रेसले ती दलका नेताले दाबी गर्न सक्ने सम्भावित क्षेत्रका आफ्ना बलिया नेतालाई समानुपातिक सूचीमा राखेको हो। 

यसअघिको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जितेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य बालकृष्ण खाँण, बहादुरसिंह लामा समानुपातिकमा बसेका छन्। 

सिटौलाको निर्वाचन क्षेत्र झापा–३ मा राप्रपाले राजेन्द्र लिङ्देनलाई उठाउने भएपछि उनलाई समानुपातिक सूचीमा राखिएको हो। यसअघिको निर्वाचनमा सिटौला निर्वाचित हुँदा लिङ्देन निकटतम प्रतिस्पर्धी थिए। राप्रपा प्रजातान्त्रिका नेता दीपक बोहोराको रुपन्देहीमा उठ्ने तयारीपछि कांग्रेसले नेता खाँणलाई पनि समानुपातिक सूचीमा राखेको छ। 
त्यस्तै, राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेल सहज बनाउन सिराहाकी नेत्री सीतादेवी यादवलाई समानुपातिक उम्मेदवार बनाइएको छ।

नुवाकोटमा एक निर्वाचन क्षेत्र घटेर तीनबाट दुई कायम भएपछि आन्तरिक सन्तुलन मिलाउन यसअघि चुनाव जितेका बहादुरसिंह लामा पनि समानुपातिकमा धकेलिएका छन्। नुवाकोटमा रामशरण महत र अर्जुननरसिंह केसी प्रत्यक्षतर्फ प्रमुख दाबेदार हुन्। उनीहरूले टिकट लिएर जाने भएपछि नुवाकोटका अर्का नेता प्रकाशशरण महत काठमाडौंबाट चुनाव लड्ने तयारीमा छन्। 
अघिल्लो पटक समानुपपातिकबाट सांसद् बनेका नेतालाई यसपटक नदोहोर्‍याउने केन्द्रीय समितिले निर्णय लिए पनि आन्तरिक सन्तुलन मिलाउन केही प्रभावशाली त्यस्ता नेतालाई समानुपातिकमा राखिएको छ। सुजाता कोइराला, सीता गुरुङ, कमला पन्त, महालक्ष्मी उपाध्याय, मानबहादुर विक, कुलबहादुर गुरुङ पुनः समानुपातिकमा सिफारिस भएका छन्। 

त्यस्तै, केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, डिला संग्रौला, लक्ष्मी परियार, सुजाता परियार, पार्वती डिसी चौधरीको नाम पनि बन्दसूचीमा छ ।  
यसअघि समानुपातिकबाट सांसद बनेका मीनेन्द्र रिजाल, प्रकाशशरण महत, प्रदीप गिरी, अम्बिका बस्नेत, ज्ञानेन्द्रबहादुर कार्की, महेन्द्र यादव, चिनकाजी श्रेष्ठ, सरिता प्रसाईसहितका अधिकांश केन्द्रीय सदस्य केन्द्र र प्रदेश प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भएका छन्।

 

प्रकाशित: ३१ आश्विन २०७४ ०३:३७ मंगलबार

जनाधार भएका कांग्रेस नेता समानुपातिकमा