राजनीति

महामन्त्री थापाको प्रस्ताव: २ वर्ष मोर्चालाई सरकार चलाउन दिऔ, बाँकी काँग्रेसले नेतृत्व गरौँ

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल काँग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन्।

आईतवार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि काँग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रीपरिषद्बाट काँग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए। उनले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल काँग्रेसले मात्रै सरकार चलाउने सहमति निकाल्नुपर्ने बताए। उनले सरकारलाई तलबाट साथ दिने तर असहमतिमा असहमति जनाउन सक्नुपर्ने बताए।

उनले भने, ‘यो दुई, अढाइ वर्ष उहाँहरुले सरकार चलाउने भन्नेकुरा छ। पहिला प्रचण्डजी प्रधानमन्त्री बन्ने, त्यसपछि माधव नेपाल बन्ने भन्ने छ। उहाँहरुको एउटै समाजवादी मोर्चा छ, पार्टीलाई पनि एउटै बनाउने भन्ने छ। मलाई लाग्छ, यो काँग्रेसको मन्त्रीहरु सबै फिर्ता बोलाऔँ। यो दुई अढाइ वर्ष उहाँहरुलाई एक्लै चलाउन दिऔँ। हामी समर्थन गरौँ। उहाँहरुले बेलाबेलामा के भन्नुहुन्छ भने सुशासन हामीले एकदम ल्याउन खोजेका थियौँ, हामीलाई मन्त्रीजीहरुले भन्न थाल्नुभयो। अस्ति हामीले सुन्यौँ। थाहा पाउनुप¥यो नि, देशले, जनताले। यो दुई, अढाइ वर्ष मोर्चालाई चलाउन दिऔँ। प्रचण्डजी हुने की माधव नेपाल हुने उहाँहरु हुनुहुन्छ, हामी समर्थन गरौँ। हामीले असहमति भए असहमति, सहमति भए सहमति जनाउने गरौँ। त्यसपछिको दुई, अढाइ वर्ष काँग्रेसले चलाउनुपर्छ। एक्लै चलाउनुपर्छ, त्यसमा जस भएपनि र अपजस भएपनि त्यो बेला काँग्रेसले लिन्छ।’

प्रकाशित: १४ आश्विन २०८० १३:०९ आइतबार

महामन्त्री गगनकुमार थापा