राजनीति

अध्यक्ष ओलीको निर्देशन अवज्ञा गर्दै कर्णालीमा पनि प्यानल बनाएर निर्वाचन

नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले चेतावनीको भाषामा भनेका थिए, सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्नुहोला प्यानल बनाएर चुनाव गरिए त्यो सैह्य हुने छैन। बुधबार पार्टी अध्यक्ष ओलीले उद्घाटन गरेको अधिवेशन सहमतिकै लागि पाँच दिनसम्म निर्वाचन भएन्।

अन्ततः आइतबार निर्वाचनका लागि मतदान भयो। त्यो पनि पार्टी अध्यक्षको निर्देशन विपरित प्यानलै बनाएर। सुर्खेत सभागृहमा भइरहेको निर्वाचनमा अध्यक्षदेखि सदस्यसम्म गुटगत पर्चा बाँडिएका छन्। प्रदेश अध्यक्षका लागि सल्यानका गुलावजंग शाह, कालिकोटका मिनबहादुर शाही र प्रकाश रोकाया चुनावी मैदानमा छन्।

मुख्य प्रतिस्पर्धा भने शाह र शाहीबीच छ। शाह पोलिटव्यूरो सदस्य यामलाल कँडेल पक्षीय हुन् भने शाही अर्का पोलिटव्यूरो सदस्य गोरख बोगटी पक्षका नेता हुन्। कँडेलले दुई दिनअघिनै निर्वाचन गराउन खोजेका थिए। केन्द्रको दवावपछि निर्वाचन दुई दिन ढिलो भयो। जति निर्वाचन ढिलो हुन्छ, त्यतिनै बोगटी नजिकका शाहीलाई माहोल बनाउन सहज हुने भएकाले निर्वाचन कमिटीले जानीजानी निर्वाचन धकेलेको आरोप कँडेल पक्षकाले लगाउने गरेका छन। ‘निर्वाचन कार्यतालिका सार्वजनिक गरिसक्दा पनि पार्टी केन्द्रले सहमतिका लागि रोक्न निर्देशन दिनुको कारण शाहीलाई आफ्नो माहोल बनाउन सजिलो बनाउनु हो,’ कँडेल पक्षका एक नेताले भने, ‘ढिलो निर्वाचन हुँदा कसले जित्छ भन्न गाह्रो भयो।’

अध्यक्ष ओली र कँडेलबीच सम्बन्धमा पनि हार्दिकता देखिँदैन्। कर्णालीकै द्वन्द्वका कारण केन्द्रमा आफ्नो सत्ता गुमेको आशंका ओलीको छ। पार्टी निर्वाचनमा पनि कर्णालीलाई पदाधिकारी नदिएका ओलीले पार्टी सचिवलाई प्रदेश इन्चार्ज बनाएर कँडेललाई दैलेख जिल्लाको इन्चार्जमा सीमित राखे।

‘अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको चाहना प्रदेश अध्यक्ष शाही बनुन भन्ने हो,’ कँडेल निकट ति नेताले भने, ‘राजनीतिमा खारिएकालाई पाखा लगाएर एनजिओमा लागिरहेका मानिसलाई अध्यक्ष बनाउन खोन्दा कँडेलले शाहलाई अघाडि सार्नु भएको हो।’ प्रदेशसभाको पहिलो कार्यकालमा कँडेल र शाह दुबै जना प्रदेश सांसद थिए। ४० सदस्यीय प्रदेशसभामा एमालेका मात्रै २० जना थिए। नेकपा पूर्ववत अवस्थामा फर्किएपछि कँडेल मुख्यमन्त्री बन्न खोजेका थिए। तर, एमालेकै चार सांसदले फ्लोरक्रस गरेपछि उनी मुख्यमन्त्री हुन पाएनन्। कर्णालीको असर अरु प्रदेश हुँदै केन्द्रमा पुग्यो।

कर्णालीमा भने कँडेल र बोगटी समूह भनेर विभाजित छ। कँडेललेनै सुर्खेत जिल्ला अध्यक्ष बनाएका अमृत बिसीले शाहीलाई समर्थन गरेपछि जिल्लाको राजनीति पनि तरंगीत बनेको छ। कँडेल समूहका शाहको टीमबाट उपाध्यक्षमा टेकराज पछाई छन भने सचिवमा ध्रुवकुमार शाही चुनावी मैदानमा छन्। यस्तै उपसचिवमा रमेशकुमार शाही र रविन्द्रराज शर्मा चुनावी मैदानमा छन्। बोगटी समूहका शाहीको टीममा उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा रुद्र शाही र उपमहासचिवमा पद्मा खड्का र मेनका पछाई छन्।

दुबै समूहले प्यानलगत चीट बनाएर मतदाताहरुलाई बाँडिरहेका छन्। निर्वाचन समितिले नमूना मतपत्र, चीटहरु र मोवाइल निर्वाचनस्थलमा लिन प्रतिवन्ध लगाएपनि निर्वाचन भइरहेको स्थलको गेट बाहिर दुबै प्यानलले छुट्टाछुट्टै लिष्ट बनाएर वितरण गरिरहेका छन्।

प्रकाशित: १४ आश्विन २०८० ११:१८ आइतबार

नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन