राजनीति

राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले गति लिएन: पर्यटनमन्त्री

फाइल तस्बिर।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) को ४५ औँ साधारण सभामा मन्त्री किराँतीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके मात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताए।

“जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका छौँ, अफसिजनमा पनि पर्यटक ल्याउन सक्ननुपर्छ”, उनले भने।

उनले मुलुकको राजनीतिक अस्थिरताका कारण नेपालको पर्यटनले जुन गति लिनुपर्ने हो त्यो लिन नसकेको धारणा राखे।

“नेपालले छिमेकी मुलुक भारत र चीनबाट बाहिरिने पर्यटकको कूल सङ्ख्याबाट शून्य दशमलव पाँच प्रतिशत मात्रै पर्यटक भित्र्याउन सक्ने हो भने नेपाल पर्यटनको हब बन्नेछ”, उनले भने।

पर्यटनमन्त्री किराँतीले संसारको अग्लो हिमाल सगरमाथादेखि विभिन्न हिमशृङ्खला र पहाड पर्यटकका लागि पदयात्राको माध्यम बन्ने भन्दै यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए। उनले नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर्न सके मात्र पनि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने बताए।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार लाग्ने बताए।

“सरोकारवाला पर्यटन व्यवसायीसँग छलफल र सहकार्य गरेर पर्यटन क्षेत्रका समस्या समाधानमा लाग्नेछौँ”, उनले भने।

उनले पर्यटन क्षेत्र सम्बन्धित ऐन पुरानो रहेको भन्दै यसलाई समयसापेक्ष हिसाबले संशोधन गर्दै लैजानुपर्ने उल्लेख गरे।

प्रकाशित: १४ आश्विन २०८० १०:४९ आइतबार