राजनीति

बिलाउँदै साना दल

काठमाडौं- चुनावको मिति नजिकिँदै जाँदा साना दलको अस्तित्व हराउन थालेको छ । संसद्मा रहेका अधिकांश साना दल ठूला दलमा गाभिँदैछन् ।

राष्ट्रिय पार्टी हुन तीन प्रतिशत मत पाउनुपर्ने थ्रेस होल्ड लागू भएपछि साना दल ठूला दलसँग एकीकृत हुन लागेका हुन् ।

अहिलेसम्म नेमकिपामात्र एक्लै चुनाव लड्ने तयारी गरेको छ । अन्य सबै पार्टी तालमेल गरी चुनाव लड्ने तयारी गरेका छन् । राष्ट्रिय पार्टी हुन तीन प्रतिशत मत पाउनुपर्ने थ्रेस होल्ड लागू भएपछि साना दल ठूला दलसँग एकीकृत हुन लागेका हुन् । एकीकृत नभएका साना दल पनि ठूला पार्टीको चुनाव चिह्न लिएर चुनाव लड्ने तयारी गरेका छन् ।
नेकपा संयुक्त बुधबार माओवादी केन्द्रमा विलय भएको छ भने विजय गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक चुनावअघि नै नेपाली कांग्रेससँग एकीकृत हुँदैछ । यसैगरी परिवार दल एमालेको चुनाव चिह्न लिएर चुनाव लड्ने घोषणा गरेको छ भने प्रेमबहादुर सिंहको समाजवादी जनता पार्टी र लोकमणि ढकालको जनजागरण पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने निर्णय गरेका छन् । मेघलाल निषादको मधेस समता पार्टीले पनि एमालेको सूर्य चिह्न लिएर चुनाव लड्ने घोषणा गरेको छ ।
चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा र सिपी मैनालीको नेकपा (माले) ले पनि अन्य पार्टीसँग तालमेल गरेर चुनाव लड्ने तयारी गरेका छन् । केसी र मैनालीले एमाले र माओवादी केन्द्रका नेतासँग तालमेलका लागि छलफल अघि बढाएका छन् । केसीले अन्य पार्टीसँग तालमेल गरेर चुनाव लड्ने तयारी भएको भन्दै यसबारेमा ठोस निष्कर्ष भने अझै ननिस्केको बताए ।
संसद्मा रहेका मधेस केन्द्रित ६ दल एकीकृत भई गठन गरिएको राजपाले समेत संघीय फोरमसँग तालमेल गरी चुनाव लड्ने तयारी गरेको छ । राजपा र संघीय फोरम नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनमा आबद्ध छन् ।
यसैगरी गठबन्धनमा आबद्ध राप्रपा प्रजातान्त्रिकले डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादीसँग पार्टी एकीकरण गर्ने तयारी गरेको छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले लोहनीको पार्टीसँग एकीकरणको तयारी भएको बताए ।
संसद्मा एक सिट रहेको बहुजन शक्ति पार्टीका अध्यक्ष विसेन्द्र पासवानले एमालेसँग चुनावी तालमेल गर्ने तयारी अघि बढाएको स्रोतको भनाइ छ । यसैगरी चुरेभावर राष्ट्रिय एकता पार्टी एमालेमा गाभिने भएको छ ।
आगामी संसदीय र प्रदेशसभाको चुनाव प्रयोजनका लागि ९१ दल निर्वाचन आयोमगा दर्ता भएका छन् । वर्तमान संसद्मा २४ दलको प्रतिनिधित्व छ । संसद्मा रहेका राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टी यसअघि नै फोरम लोकतान्त्रिकमा विलय भइसकेका छन् । राप्रपा पनि लोकतान्त्रिक गठबन्धनमा आबद्ध भई चुनाव लड्ने भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिद्धान्त र विचार मिल्ने साना दल एकीकृत हुनु राम्रो कुरा भएका बताए । ‘विचार र सिद्धान्त मिल्नेहरू एकीकृत हुनु राम्रो कुरा हो । सिद्धान्त मिल्न नसक्नेहरू एक ठाउँमा आउन सक्दैनन्,’ उनले भने ।
रूक्मिनी चौधरीले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटले कसैसँग चुनावी तालमेलको तयारी गरेको छैन । यसैगरी अखण्ड पार्टीले पनि तालमेल प्रक्रिया अघि नबढाएको अध्यक्ष कुमार खड्काले बताए ।
 

नयाँ शक्ति एक्लै भिड्ने
वाम गठबन्धनमा आबद्ध रहेको बाबुराम भट्टराईको नयाँ शक्ति भने वाम गठबन्धनबाट बाहिरिएको छ । नयाँ शक्तिले अब वामपन्थी पार्टीसँग तालमेल नगरेरै चुनाव लड्ने भएको छ । नयाँ शक्ति संघीय सचिवालयको शुक्रबार बसेको बैठकले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । सो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्ने   नेताका नाम पनि सार्वजनिक गरेको छ । तिनमा भट्टराई, कृष्णकुमार चौधरी, प्रेम तामाङ र मदन राई रहेका छन् । नयाँ शक्तिले अब पार्टीको आफ्नै चुनाव चिह्न ‘आँखा’ लिएर चुनाव लड्ने भएको छ । सिट तालमेल गर्नेबारेमा कुरा नमिलेपछि नयाँ शक्ति वाम गठबन्धनबाट बाहिरिएको थियो । गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र सहमतिको मर्मविपरीत गएकाले गठबन्धनबाट बाहिरिएको नयाँ शक्तिका नेताले बताएका छन् ।

प्रकाशित: २८ आश्विन २०७४ ०२:३४ शनिबार

बिलाउँदै साना दल