राजनीति

वाम गठबन्धन कमिलाको प्वाख : जोशी

पर्वत – काँग्रेस नेता एवम् सांसद अर्जुन जोशीले वाम गठबन्धनलाई कमिलाको प्वाखको संज्ञा दिएका छन् । काँग्रेस मोदी गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जोशीले समय आएपछि त्यो प्वाख आफैँ खस्ने र वामगठबन्धन भताभुङ्ग हुने टिप्पणी गरे । 

विभिन्न तिकडम र आ–आफ्नै स्वार्थ जोडिएका दल एकठाउँमा आएको नाटक रचिएको मात्रै उनको दाबी छ । ‘आ–आफ्नै स्वार्थ र तिकडम जोडिएका दलले वाम गठबन्धनको नाममा नाटक रचेका छन, त्यो गठबन्धन होइन्, कमिलाको प्वाख हो’ जोशीले भने–‘जब कमिलाको प्वाख समय आएपछि छुट्टिएर कमिला मर्छ, त्यसरी नै गठबन्धन भताभुङ्ग हुने दिन धेरै टाढा छैन ।’ 

वर्ग, जात, उद्देश्य मिल्ने शक्ति एक ठाउँमा आउनु अन्यथा नभएपनि विभिन्न तिकडम र स्वार्थअनुरुप आ–आफ्नै बाटोमा हिडेका पार्टी एकताको नाम दिनु रहस्यमय भएको बताए । उनले वामगठबन्धनले सबैभन्दा बढी नोक्सान एमाले र सबैभन्दा फाइदा कांग्रेसलाई गर्ने दाबी गरे । ‘निर्वाचनमा तालमेलको कुरा आएदेखि नै भित्रभित्रै तुष बाहिर आउन थालेका छन्’ उनले भने–‘तालमेल भएपनि सबै मत एकअर्का पार्टीलाई नजाने भएका कारण त्यसको फाइदा काँग्रेसलाई हुन्छ ।’ 

प्रकाशित: २१ आश्विन २०७४ १३:४९ शनिबार

वाम गठबन्धन कमिलाको प्वाख  जोशी