काठमाडौं- निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रादेशिक तहको निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव गर्ने कुनै पनि गतिविधि नगर्न नगराउन सरकार, राजनीतिक दल र सरोकारवालालाई निर्देशन दिएको छ ।
आयोगको शुक्रबार बसेको बैठकपछि प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा यस्तो निर्देशन दिइएको छ । आयोगले निर्वाचनलाई सहयोग गर्न पनि आग्रह गरेको छ ।
तोकिएको मितिमा निर्वाचन गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका प्रक्रिया अघि बढिरहेको जनाइएको छ । यसैगरी मतदाता शिक्षा, कर्मचारी छनौट, निर्देशिक र कार्यविधिहरूको तर्जुमालगायतका काम पनि सँगसँगै अघि बढेको आयोगले जनाएको छ ।
प्रकाशित: २१ आश्विन २०७४ ०२:३७ शनिबार