राजनीति

कांग्रेसले तय गर्यो उम्मेदवार छनोट मापदण्ड

काठमाडौं- नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद् बनेका नेताहरूलाई नदोहो¥याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको हो ।
कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको नाम तल्लो तहबाट सिफारिस भए पनि उम्मेदवार नबनाउने भएको छ । त्यस्तै, स्थानीय निर्वाचनमा बागी उम्मेदवार बनेका तथा प्रस्तावक र समर्थकलाई कुनै तहको उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।
केन्द्रीय सदस्य मानबहादुर विकले प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीले कसरी उम्मेदवार छनोट गर्ने भन्ने विषयमा मोटामोटी छलफल र प्रस्ताव तयार भएको जानकारी दिए । ‘उम्मेदवार कसरी छनोट गर्ने भन्ने खाका तयार भएको छ,’ उनले भने, ‘केन्द्रीय समितिमा त्यस विषयमा छलफल हुन्छ ।’
कांग्रेसले शुक्रबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गर्नुको साथै बृहत् लोकतान्त्रिक र प्रगतिशील गठबन्धन बनाएर आगामी निर्वाचनमा जाने प्रस्ताव अनुमोदन गर्नेछ ।
सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेलसहित पार्टी एकीकरण गरेर जाने घोषणा गरेपछिको अवस्थाबारे सदस्यहरूलाई जानकारी गराइनेछ ।
नेतृत्वले मंसिर १० र २१ गते हुने प्रदेश र केन्द्रको निर्वाचनको तयारी र उम्मेदवार छनोटका विषयमा पनि सदस्यको राय बुझ्नेछ ।  
त्यस्तै, कांग्रेस प्रदेश र केन्द्रको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ । उसले शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा विज्ञहरूसँग छलफल गर्दैछ । विज्ञहरूको राय लिएर कांग्रेसले निर्वाचन घोषणापत्र लेख्न लागेको हो ।
५० जिल्लाबाट नाम सिफारिस
कांग्रेसले काठमाडौं, ललितपुर, भक्तपुरसहित पचासभन्दा बढ िजिल्लाबाट प्रदेश र केन्द्रको निर्वाचनका लागि उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको छ । केन्द्रको निर्देशनअनुसार कांग्रेस जिल्ला कार्यसमितिले आकांक्षीको नाम सिफारिस गरेको हो ।
सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह, नवीन्द्रराज जोसी, राजीवविक्रम शाहसहितका नेताको नाम तल्लो तहबाट सर्वसम्मत सिफारिस भए पनि कतिपय प्रभावशाली नेताहरुको नाममा समेत सहमति जुट्न सकेको छैन । सहमति जुट्न नसकेका स्थानमा जिल्ला समितिले सबै आकांक्षीको नाम केन्द्रलाई पठाएको छ ।
तीन क्षेत्र रहेको ललितपुरमा जिल्ला कार्यसमितिले केन्द्रका लागि सात नेताको नाम सिफारीस गरेको छ । क्षेत्र नम्बर एकबाट उदयशमशेर राणा र खुमप्रसाद घिमिरे, क्षेत्र नम्बर दुईबाट चन्द्र महर्जन, बाबुराजा चित्रकार, रामकृष्ण चित्रकार र क्षेत्र नम्बर तीनबाट मदनबहादुर अमात्य, धना खतिवडाको नाम सिफारिस गरेको हो ।
जाजरकोट कांग्रेसले सर्वसम्मतिबाट केन्द्रमा राजीवविक्रम शाह तथा प्रदेशमा वेदराज सिंह र दीपकजंग शाहको नाम सिफारिस गरेको जिल्ला सभापति दीपकजंग शाहले जानकारी दिए ।

प्रकाशित: २० आश्विन २०७४ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App