राजनीति

विकासमा जुट्दै कान्छा मेयर

जनकपुर- स्थानीय निर्वाचनको थकाइ मेट्न नपाउँदै राजनीतिक दलका नेतालाई प्रदेश र प्रतिनिधि सभा निर्वाचनको चटारो लागिसकेको छ । तराई–मधेसमा मंसिरको तेस्रो साता हुने निर्वाचनको तयारीमा जनप्रतिनिधि पनि जुटेका छन् ।

२४ वर्षकै उमेरमा हजुरबुवा र बुवा उमेरका कांग्रेस, एमाले तथा संघीय फोरमका दिग्गज उम्मेदवारलाई पछार्दै माओवादी केन्द्रबाट सहिदनगर नगरपालिकाका मेयर पदमा निर्वाचित उदयकुमार बरबरिया विकास निर्माणमा सक्रिय ।


आफू निर्वाचित भइसकेका स्थानीय तहका प्रमुखमाथि अर्को चुनावमा पार्टीका अन्य नेतालाई जिताउने जिम्मेवारी थपिएको छ । एकपछि अर्को चुनावी तयारीमा केन्द्रित भएकै कारण स्थानीय तहमा आमूल परिवर्तन गर्ने चुनावी भाषण ठोक्दै हिँडेका नेताले नयाँ कामको थालनी गर्न सकेका छैनन् ।
मुलुकका कान्छो मेयर उदयकुमार बरबरिया यादवलाई भने त्यस्तो कुनै दबाब छैन । पदभार ग्रहण गरेकै दिनदेखि उनी विकासको काममा खटिइसकेका छन् । पद तथा गोपनीयताको शपथ खाएर कुर्सीमा बस्नुअघि नगरका वडा सचिव तथा कर्मचारीको भेला बोलाएका उनले आफ्नो कार्यकालमा जातपात र नाता सम्बन्धको आधारमा प्रस्तुत नभई जनहित कार्यमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिए ।
विकास अभावमा जिल्लाकै दुर्गम क्षेत्रको रूपमा चिनिएको सहिदनगर नगरपालिकामा वर्षांैदेखि अलपत्र रहेको जिल्ला अस्पतालको भवन निर्माण कार्य सम्पन्न गरी तीन महिनाभित्र अस्पताल सञ्चालन गर्ने घोषणा गरे । चुनावी सभाको सम्बोधन गर्न आएका पार्टी अध्यक्ष पुष्पकमल दाहालले आश्वासन दिएबमोजिम सडकको स्तरोन्नति कार्य चालू आर्थिक वर्षभित्रै पूरा गर्ने प्रतिबद्धता जनाए । आफ्नो कार्यकालभर जनताले नगरपालिकामा भ्रष्टाचारीको सिकार हुनुपरेको अवस्था आउन नदिने प्रतिबद्धता जनाए ।
उनी भन्छन्, ‘एउटा चुनाव सम्पन्न भयो, अर्को तयारीमा छ । चुनावमा मेरो बुवा पनि लड्ने तयारीमा हुनुहुन्छ । तर, मलाई उहाँलाई चुनाव जिताउन तनाव छैन ।’ जनताको बीचमा नेताको व्यक्तित्व र तिनले गर्ने काम र देखाउने व्यवहारलाई आधार बनाएर मतदाताले मतदान गर्ने विश्वास उनको छ ।
चुनावका बेला ज्यानको बाजी लगाउने तर, जितिसकेपछि फर्केर मुख नदेखाउने प्रवृत्ति नेतामा रहेको स्वीकार्दै उनले भने, ‘मुलुकको राजनीतिक ट्र्याक परिवर्तन भएको छ अब जनताले नेतामा पनि परिवर्तन चाहेका छन् ।’
२४ वर्षकै उमेरमा हजुरबुवा र बुवा उमेरका कांग्रेस, एमाले तथा संघीय फोरमका दिग्गज उम्मेदवारलाई पछार्दै माओवादी केन्द्रबाट धनुषा, सहिदनगर नगरपालिकाका मेयर पदमा निर्वाचित भएका हुन्, उदय ।
२०५० जेठ १२ गते कमला नदीको किनारमा रहेको सानो गाउँ बत्राहीमा जन्मेका उनी सिभिल इन्जिनियर हुन् । पढाइ सकेर जागिर खाने सोच बनाइरहेकै बेला राजनीतिले तानेर उनी नगर प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीका तत्कालीन सर्वोच्च कमान्डर पुष्पकमल दाहालसँगै होमिएका श्रवण यादव (जोगकुमार बरबरिया) का जेठा छोरा उनी छात्रवृत्ति पाएर पुलचोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियर पढेका छन् । ८ कक्षा पढ्दादेखि नै माओवादी लडाकुको प्रशिक्षण लिएर १० कक्षा पुग्दासम्म प्लाटुन कमान्डरको जिम्मेवारी पाउन सफल भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले टिकट नदिएपछि माओवादीको बागी भएर उठेका बाबु श्रवण यादवलाई सहयोग गर्दा चुनावी गतिविधिवारे समान्य अनुभव बटुलेका थिए उनले । पार्टीको राज्य समिति सदस्य रहेका उनले इन्जिनियरिङ पढ्न नाम निकालेर बाबुको चुनावमा सहयोग गर्न आएका थिए । पार्टीका आधिकारिक उम्मेदवार रामचन्द्र झा र श्रवण दुवै समान्य मतान्तरले पराजित भए ।
चुनावको परिणाम सार्वजनिक भएलगत्तै उदय काठमाडौं गएर पढ्न थाले । त्यसपछिको पहिलो चुनावको चहलपहल सुरु हुँदा उनको पढाइ भर्खरै सम्पन्न भएको थियो । पार्टीका शीर्ष नेताले नै उदयलाई मेयरमा लड्न सुझाएपछि उनी तयारीमा जुटे । आर्थिक हैसियतले अन्य उम्मेदवारको तुलनामा कमजोर देखिए पनि चुनाव जितेपछि उदय र उनको राजनीतिक कौशलता मधेसमै चर्चामा छ ।
आफू चुनाव जित्ने दुईवटा बलिया आधारले काम गरेको उनी बताउँछन् । एक, युवा अवस्था देखेर नगर क्षेत्रका युवामा आफूप्रतिको आकर्षण र अर्को विकास कार्यमा दिग्गज नेताको भन्दा इमानदार हुने मतदाताको भरोसा । ‘युवाले नै युवाको मनोभावना बुझ्न सक्छन् भनेर सबै पार्टी र समुदायका युवाले मलाई सहयोग गरे भने मैले चुनाव लड्छु भनेर प्रस्तुत हुनुअगावै विकास क्षेत्रमा गरेको कामले पनि मलाई चुनाव जित्न ठूलो सहयोग गरेको छ,’ उनले नागरिकसँग भने ।
मेयर उदयका अनुसार स्थानीय चुनावमा आफू लड्ने निश्चित नहुँदै स्थानीय विकास मन्त्रालयसँग समन्वय गरी करिब पाँच करोड बराबरको विकाससम्बन्धी काम गराएका थिए । भौगोलिक रूपमा समथर भए पनि बजेट अभावले जिल्लाकै जर्जर सडक सञ्जाल रहेको उक्त क्षेत्रमा उदयले पक्की सडक र ग्राभेल लगाए । वर्षको चार महिना मोटरसाइकल समेत चल्न नसक्ने सडकमा बाह्रै महिना गाडी गुड्ने अवस्था भएपछि जनतामा सकारात्मक छाप छोडेको थियो । लगत्तै निर्वाचन आएपछि मेयर पदमा लड्ने घोषणा गरेसँगै जनसमर्थन बढ्न थालेको उनले बताए ।
मुलुकको राजनीतिक फेरबदलसँगै लम्बिएको संक्रमणकाल चिर्दै दुई दशकपछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

प्रकाशित: १९ आश्विन २०७४ ०३:०९ बिहीबार

विकासमा जुट्दै कान्छा मेयर