राजनीति

सरकार आफैँ सुन तस्कर होः अध्यक्ष ओली

फाइल।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्।

स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे।

चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको भनाइ थियो। उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए।

ओलीले भने, ‘प्रश्न के हो भने अगाडि बढने हो भने देशलाई शिरमा राख्न सक्नुपर्दछ। सबभन्दा माथि देशलाई राख्न सक्नुपर्दछ। आफ्नो स्वार्थलाई शिरमा राख्यो भने, आफ्नो स्वार्थलाई केन्द्र भागमा राख्यो भने देशलाई सफल बनाउन सकिँदैन। देशलाई सफल बनाउनका निम्ति नातागोता, परिवारवाद भन्नुहुँदैन। देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डहरु चलेका छन् नि। यस्ता काण्डहरु चलाउनु हुँदैन। म काण्डहरु चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु। यस्ता काण्डहरु चलाउनु हुँदैन। यस्ता काण्ड चलाएर अनि देश विकास हुन्छ ? चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँदने ? मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न। तर अवस्था नाजुक छ। धेरै नाजुक छ। र, धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ। यसस्थितिमा परिवर्तन ल्याउनै पर्दछ। किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदिइत्यादि छ भन्न सकिँदैन। सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाईदो रहेनछ भन्ने कसैले भनेका छन। सुन त यहाँ ब्रेक सुमा सुनैसुन। वेपमा सुनैसुन। सिग्रेट खान खोज्यो सुनैसुन। पानी चलाउने मोटर ल्यायो, सुनैसुन। जे छोयो, त्यो सुनैसुन। स्वर्ण युग आयो भन्दैछ सरकार। यति सुन आएको छ। फेरी स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दैछ सरकार। नुन पनि पाइँदैन भन्दा सरकारको बिरोध गरेजस्तो हुँदैन। स्वर्ण युग नै आएको छ। उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौं। त्यस्तै भएको छ। केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ। पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ। यो भईराखेको छ।’

अध्यक्ष ओलीले देशको मूल्यमा कुनैपनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए।

प्रकाशित: ६ आश्विन २०८० १३:०९ शनिबार

केपी शर्मा ओली