राजनीति

सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण भारतीय जेलमा

भारतीय प्रहरीले पक्राउ गरी वीरपुर जेलमा राखेका सप्तरीकाे काेइलाडी तिलाठी २ का देवनारायण यादव र उनका छाेरा अजयकुमार । फाइल तस्बिर

लहान – खाँडो खोला थुनेर भारतीय पक्षले तिलाठीको दसगजामा निर्माण गरेको बाँधविरुद्ध गत वर्ष भएको सीमा बचाऔं आन्दोलनका अभियन्ता देवनाराण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सप्तरीको कोइलाडी तिलाठी गाउँपालिका–२ तिलाठी टोलका यादव र उनका छोरा अजयकुमारलाई भारतीय प्रहरीले आइतबार पक्राउ गरी सोमबार वीरपुर जेल चलान गरेको हो। 

कुनौली थानाअन्तर्गत दसगजा क्षेत्रसँगै जोडिएको आदर्श ग्राम पञ्चायतमा सांस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा अजयलाई प्रहरीले पक्राउ गरेको परिवारका सदस्यले बताए । छोरा अजयलाई छुटाउन गएका बेला देवनारायणलाई कुनौली प्रहरीले पक्राउ गरी भारतको वीरपुर जेल चलान गरेको जानकारी जिल्ला प्रशासन कार्यालय सप्तरीले दिएको छ।

देवनारायणका छोरा अजय र ज्योतिबीच विवाह भएको ६ महिना बितिसकेको अवस्थामा प्रहरीले पुरानो रिसइबी साध्न अपहरणको निहुँ झिकेको तिलाठीवासीको गुनासो छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले देवनारायण र छोरा अजयकुमारसहित चारजनाविरुद्ध अपहरण मुद्दा दर्ता रहेकाले पक्राउ गरिएको भारतको कुनौली थानाका प्रमुख विनोद यादवलाई उद्धृत गर्दै बताए। 

गत जेठ २० गते भारतको बिहारस्थित कुनौली–१ की ज्योति कुमारीलाई अजय र देवनारायण सहितका चारजनाले अपहरण गरेको व्यहोराको जाहेरी (एफआइआर) कुनौली थानामा दर्ता गरिएको थियो । सोही मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको जबाफ सप्तरी प्रशासनलाई भारतीय प्रशासनले दिएको छ । ज्योतिका माइतीपक्षले दिएको जाहेरीमा घटना सन् २०१७ मे ३१ मा भएको उल्लेख रहेको प्रहरी स्रोतले जनाएको छ। 

अपहृत भनिएकी ज्योतिले आफूले अजयसँग प्रेमविवाह गरेको बताएकी छन् । ‘स्वेच्छाले हामी (म र अजय) प्रेम विवाह गरी महिनौंदेखि ससुराली (तिलाठी) मा बस्दै आएकी छु’, उनले भनिन् । आफ्ना पति र ससुरालाई भारतीय प्रहरीले अनाहकमा पक्रेर दुःख दिएको आरोप उनको छ । उनले माइतीपक्षलाई जाहेरी फिर्ता लिन आग्रह गरेकी छन् ।
०७३ साउन १३ गते भारतीय पक्षले दसगजा क्षेत्रमा एकतर्फी बाँध बाँधिरहँदा देवनारायणको अगुवाइमा तिलाठीवासीले सीमा रक्षा आन्दोलन गरेका थिए । सो क्रममा भारतीय पक्षको प्रहारबाट देवनारायण घाइते भएका थिए । सरकारले उनको उपचारखर्च बेहोर्दै ‘सच्चा राष्ट्रवादी’ को सम्मानबाट सम्मानित गरेको थियो।

देवनारायणका छोरा अजय र ज्योतिबीच विवाह भएको ६ महिना बितिसकेको अवस्थामा प्रहरीले पुरानो रिसइबी साँध्न अपहरणको निहुँ झिकेको तिलाठीवासीको गुनासो छ । 

प्रमुख जिल्ला अधिकारी पाण्डेले अजयले उमेर नपुगेको भारतीय केटीसँग विवाह गरेकाले केटी पक्षले दिएको उजुरीका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको बताए । उनले भने, ‘अपहरणको मुद्दा अदालतमा अभियोजन हुने हो । अब जोसुकैले भने पनि केही हुनेवाला छैन, जे हुन्छ अदालती प्रक्रियाबाटै हुन्छ ।’

भारतीय पक्षको तारो देवनारयण 
भारतीय पक्षले तिलाठीमा रहेको दसगजा क्षेत्रमा १९७१ मा बाँध निर्माण गरेपछि यस क्षेत्रका बासिन्दा डुबानको मार खेप्दै आएका छन्। 

गत वर्ष खाँडो नदीमा बाढी बढेर गाउँ पस्यो । भारतीयले बनाएको ४० मिटर लामो बाँध बाढीले भत्काइदियो । यो बाढी भारततिर पस्यो । उता उत्पात मच्चाउन थालेपछि भारतीय पक्षले फेरि रातारात बाँध बनाउन थाल्यो । बाढीले भत्काएको बाँध भारतीय पक्षले पुनः बाँधेपछि पानी थुनिएर तिलाठीसहित दर्जनभन्दा बढी गाविस डुब्यो ।

भारतीयले ‘नो म्यान्स ल्यान्ड’ मा बाँध बनाएको कुरा देवनारायणलाई पचेन । उनले तत्कालीन सप्तरीका प्रमुख जिल्ला अधिकारी र एसपीलाई जानकारी गराए । तर, सुनवाइ भएन । भारतीय पक्षले बाँध बाधेर सुरक्षाका लागि बाँस गाडेको थियो । देवनारयणलाई असह्य भयो । उनले बाँस उखेल्न सुरु गरे । उनलाई बल दिन गाउँले पनि जुटे । बाँस उखेल्न थालेपछि भारतीय पक्ष देवनारायणमाथि जाइलाग्यो । बाँसको भाटाले टाउकोमा निरन्तर प्रहार गरेपछि उनी बेहोस भए । तिलाठीवासीले उनलाई अस्पताल पुर्‍याएर ज्यान जोगाएका थिए।

प्रकाशित: १८ आश्विन २०७४ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App