राजनीति

पार्टी नै प्रवेश गरेका होइनौं, सूर्य चिन्ह लिएर चुनाव लड्ने भनेका हौं : त्रिपाठी

काठमाडौं- राष्ट्रिय जनता पार्टी परित्याग गरेका नेता हृदयश त्रिपाठीले आफूहरु एमालेमै प्रवेश गरिनसकेको स्पष्ट पारेका छन्। उनले हाललाई एमाले पार्टीको चिन्ह लिएर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव लड्ने सहमति मात्र गरेको बताए।

'पार्टी नै प्रवेश गरेको होइन। स्वतन्त्र हैसियतमा नेकपा एमालेको चुनाव चिन्ह प्रयोग गर्नेमात्र सहमति गरेका हौं, उनले नागरिकन्युजसँग भने।

उनले तराई मधेसका जनतालाई शोषण, उत्पीडन, विधेद र असमानताबाट मुक्त गरेर न्याय, समानता र समृद्धि सुनिश्चित गर्नु आफ्नो प्रमुख उद्देश्य रहेको बताए। एमालेसँगको संयुक्त विज्ञप्तीमा पनि यही वाक्यलाई हाइलाइट गरिएको छ।

स्रोतका अनुसार राजपाका थुप्रै नेता कार्यकर्ताहरुले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि स्वतन्त्र राजनीतिक समूहमा आबद्ध हुने तयारी गरेका छन्।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरुसँग गहन छलफल गरी त्रिपाठीसहित विके गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके)ले सूर्य चिन्ह लिएर चुनावमा सहभागी हुने सहमति गरेका थिए।

प्रकाशित: १७ आश्विन २०७४ ०२:३६ मंगलबार

पार्टी नै प्रवेश गरेका होइनौं सूर्य चिन्ह लिएर चुनाव लड्ने भनेका हौं त्रिपाठी