राजनीति

वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी

वीरगन्ज- वीरगन्ज महानगरपालिकाको जारी मतगणनामा गन्न बाँकी रहेकोभन्दा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारको मत अधिक भएपछि पार्टीका कार्यकर्ता समर्थकहरुले मेयर उम्मेदवार विजय सरावगीलाई अबिर दलेर गेरुवा पगरी लगाइदिएका छन्।

महानगरपालिका वीरगन्जको प्रथम मेयरको रुपमा फोरम नेपालका उम्मेदवार सरावगी नै निर्वाचित हुने मतपरिणामले निश्चित गरिदिएपछि कार्याकर्ताहरु उत्साहित भएर बधाई साटासाट थालेका हुन्।

सात सय मतपत्र मात्र गन्न बाँकीरहेको बेला फोरम नेपालका मेयर उम्मेदवारको  अग्रता दुई हजार २ सय ७ भएपछि जित निश्चत भएको हो। वडा नम्बर १६ को ७ सय मत गन्न बाँकी थियो। कुल मत परिणाम जोडर एकैपटक सार्वजनिक गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एक घण्टाअघि नै फोरमले जितिसक्ने आधार तय भइसकेकोपछि फोरमका कार्यकर्ता र समर्थकहरु मतगणनास्थल ठाकुरराम बहुमुखि क्यामपस अगाडी जुट्न सुरु गरिसकेका थिए। उतिबेला फोरम, नेपाका उम्मेदवार सरावगीको मत अठार हजार ८ सय ८४ थियो भने काँग्रेसका उम्मेदवार अजय द्विवेदीले सोह्र हजार ९ सय ३५ मत ल्याएका थिए।

उपमेयरमा भने काँग्रेस उम्मेदवार शान्तिकार्की फराकिलो मतान्तरले अगाडी छिन्। काँग्रेस की उम्मेदवार कार्कीको मत उन्नाइस हजार ३ सय ३८ रहको बेला फोरम उम्मेदवार पिंकी यादवको अठार हजार ५ मात्र थियो । अन्तिम मत परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रकाशित: ११ आश्विन २०७४ ०८:१३ बुधबार

वीरगन्ज महानगरमा संघीय समाजवादी