राजनीति

राजनीतिक दलको सदस्य प्रदेश प्रमुख बन्न नपाउने

संघीय प्रशासनिक पुर्नसंरचना निर्देशक समितिले तयार पारेको मापदण्ड

काठमाडौं- सरकारलाई गैर राजनीतिक व्याक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव सिफारिस गरिएको छ। अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंरचना निर्देशक समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको मापदण्डमा राजनीतिक दलको सदस्य नभएको व्याक्तिलाई प्रदेश प्रमुख बनाउने प्रस्ताव गरेको हो।

प्रदेश प्रमुखका लागि ३५ वर्ष उमेर पुरा भएको र संघीय संसदको सदस्य हुन योग्य रहेको व्यक्ति नियुक्ति गर्न सकिने सिफारिसमा उल्लेख छ।

प्रदेश प्रमुखको योग्यताको लागि पाँच वटा मापदण्ड प्रस्ताव गरिएको छ। जसमा संविधान, कानुन र प्रशासनको क्षेत्रमा अनुभव, स्वच्छ छवि र राष्ट्रिय ख्याति प्राप्त, राजनीतिक दलको सदस्य नरहेको, समाजमा महत्वपूर्ण योगदान पुर्‍याएको र सम्वन्धित प्रदेशमा मतदाता वा स्थायी बसोवास नभएको व्याक्ति हुनु पर्ने उल्लेख छ।

प्रदेश प्रमुखका लागि ३५ वर्ष उमेर पुरा भएको र संघीय संसदको सदस्य हुन योग्य रहेको व्यक्ति नियुक्ति गर्न सकिने सिफारिसमा उल्लेख छ।

संविधानको धारा १६३ ले प्रत्येक प्रदेशमा सरकारको प्रतिनिधिको रुपमा प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ। प्रदेश प्रमुखलाई केन्द्रमा राष्ट्रपतिको जस्तै भूमिका प्रस्ताव गरिएको छ। प्रमुखको अधिकारमा प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरुलाई सपथ गराउने, प्रदेश सभाको अधिवेशन आव्हान र अन्त्य गर्ने, प्रदेश विधेयक प्रमाणिकरण गर्ने र प्रदेश अध्यादेश जारी गर्ने लगायत रहेका छन्।

सरकारले मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपनि अझै सम्म प्रदेश प्रमुख नियुक्ति हुन सकेका छैनन्।   

अधिकार सम्पन्न संघीय प्रशासनिक पुर्नसंरचना निर्देशक समितिमा पूर्व सामान्य प्रशासनमन्त्री रेखा शर्मा सहित सांसदहरु  राजेन्द्र पाण्डे,  आरजु राणा देउवा र भूवन पाठक रहेका छन् । सोमबार मन्त्रिपरिषदमा यो प्रस्ताव पुगे पनि पारित हुन सकेको छैन।

प्रकाशित: ९ आश्विन २०७४ ०९:०१ सोमबार

राजनीतिक दलको सदस्य प्रदेश प्रमुख बन्न नपाउने