राजनीति

रास्वपाद्वारा वडामा सङ्गठन निर्माणको प्रक्रिया सुरु, असोज २० सम्म उम्मेदवारी दिन पाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिति अद्यावधिक नभएका वडामा निर्वाचनको प्रक्रिया सुरु गरेको छ। पार्टीले वडा भेला गरी वडा समिति गठन गर्ने उदेश्यका साथ आजदेखि असोज २० गतेसम्म अनलाईनमार्फन् उम्मेदवारी दिन सक्ने बताएको छ।

रास्वपाले सङ्गठन निर्माणको लागि गत असार १७ भित्र भेला मार्फत गठन भएका वडाहरूको असार मसान्त भित्र अद्यावधिक गर्ने सूचना जारी गरेको थियो। भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप भएको सहमहामन्त्री तथा सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

रास्वपाले विज्ञप्ति जारी गर्दै भेला आयोजना गर्ने र अद्यावधिक गर्ने म्याद दुई पटक थप भई भदौ ३१ भित्र अद्यावधिक गराउने मिति तोकिएको थियो। सोही अनुसार असोज २ गतेदेखि औपचारिक रुपमा वडा भेला गरी वडा समिति गठन गर्ने कार्य स्थगित गरी वडा समिति अद्यावधिक नभएका वडाहरूमा अनलाईनमार्फत् उम्मेदवारी दिई वडा समिति गठनको प्रक्रियामा जाने बताएको छ।

उम्मेदवार हुन पार्टीले १०० रुपैयाँ शुल्क तोकेको छ। वडा समिति गठनका लागि आजदेखि वडा तहको भेला रोकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

पार्टीले कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने पनि जनाएको छ। कार्यसमितिमा चयन हुनेहरूको नामावली कात्तिक २० गते सार्वजनिक गरिने रास्वपाले जनाएको छ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ। सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ। ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ। महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन्।

प्रकाशित: २ आश्विन २०८० ०७:२४ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी वडा समिति अद्यावधिक वडामा निर्वाचन कविन्द्र बुर्लाकोटी