राजनीति

विदेश भ्रमणमा ‘मितव्ययी सरकार’

प्रधानमन्त्री, सभामुख, सांसदहरूको विदेशमोह

आयरल्यान्ड प्रस्थान गर्ने क्रममा आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे। तस्बिर स्रोत: शेखर अधिकारीको फेसबुक

यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत धेरै मन्त्री तथा सांसद विदेश भ्रमणमा छन् भने निकट भविष्यमा विदेश भ्रमण निस्कने मन्त्री तथा सांसदको संख्या पनि ठुलो रहेको छ।

प्रधानमन्त्री दाहाल अमेरिका गएकै भोलिपल्ट सभामुख आयरल्यान्ड गएका छन्। उनीहरू विदेशमा रहेकै बेला केही मन्त्री र राज्यमन्त्री पनि विदेश भ्रमणको तयारीमै छन् भने कतिपय सांसदहरू अमेरिका पुगिसकेका छन्। सरकारी स्रोतले दिएको जानकारीअनुसार केही मन्त्रीका भ्रमण स्वीकृत भइसकेको छ र केही भ्रमण स्वीकृत गराएर विदेश जाने तयारीमा छन्।

सरकारले यसै वर्ष धेरै विदेश भ्रमण नगर्ने, अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई विदेश भ्रमणमा नपठाउने तथा आर्थिक मितव्ययिता अपनाउने भने पनि प्रधानमन्त्रीदेखि सभामुख तथा परराष्ट्रमन्त्री लगातार विदेश भ्रमणमा छन्।

यसैगरी असोज पहिलो साताभित्रै अर्थमन्त्री प्रकाशरण महत विदेश भ्रमणमा जाँदै छन्। उनको भ्रमण स्वीकृत भइसकेको स्रोतले जनाएको छ।

अर्थमन्त्री महत मोरक्को र इजिप्ट जान लागेका हुन्। मोरक्कोको माराकेसमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री महत जान लागे पनि उनको भ्रमण तालिका बाहिर ल्याइएको छैन।

उनी असोज ८ र ९ मा इजिप्टको सार्मएल सेखमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं वार्षिक बैठकमा भाग लिन जान लागेका हुन्।

उनी एसियाली पूर्वाधार लगानी बैंकका लागि गर्भनरसमेत रहेकाले त्यसको नेतृत्व गर्दै इजिप्ट जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ। उनको यो भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको छ।

शनिबार मात्रै प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्न अमेरिका गएका थिए। उनको टोलीमा परराष्ट्रमन्त्री सहभागी छन्। प्रधानमन्त्रीको भ्रमण व्यवस्थापनका लागि परराष्ट्रमन्त्री एनपी साउद अमेरिका गएका हुन्।

प्रधानमन्त्री दाहाल त्यहींबाट छिमेकी मुलुक चीनको भ्रमणमा जानेछन्। उनी असोज १३ गते मात्रै स्वदेश फर्कनेछन्। प्रधानमन्त्री राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर असोज ५ मा अमेरिकाबाटै चीन जानेछन्। प्रधानमन्त्रीको साथमा परराष्ट्रमन्त्री साउद पनि चीन जानेछन्।

प्रधानमन्त्री दाहाल मात्र होइन, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आइतबार विदेश भ्रमणमा लागेका छन्। संसद् अधिवेशन असोज १४ गतेसम्म स्थगित गरेर उनी विदेश लागेका हुन्। आयरल्यान्डको भ्रमणमा निस्केका उनी आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा संघीय संसद्का सचिव पद्मप्रसाद पाण्डे र स्वकीय सचिव तेजप्रसाद भट्टराईलाई लिएर आयरल्यान्डको डब्लिन गएका हुन्। उनी असोज ७ मा स्वेदश फर्कनेछन्।

यसैगरी राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना केही समयपछि विदेश भ्रमणमा निस्कँदै छन्। एक संसदीय प्रतिनिधिको नेतृत्व गर्दैै उनी दशैंतिर हुने संसदीय महासभामा भाग लिन अंगोला जान लागेका हुन्।

केही दिनअगाडि मात्रै युरोप गएकी सहरी विकास मन्त्री सीता गुरुङ फेरि मलेसिया भ्रमणमा जाने तयारीमा छिन्। उनी मलेसियाको क्वालालम्पुरमा कात्तिक ७ देखि ९ गतेसम्म आयोजना हुने एक कार्यक्रममा सहभागिताका लागि जान लागेकी हुन्।

 उनको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ। यसअघि उनी नेदरल्यान्डमा भएको पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा सहभागी हुन युरोप गएकी थिइन्। त्यस्तै खेलकुदमन्त्री डिगबहादुर लिम्बू पनि चीन जाँदै छन्। चीनको होङझाओ सहरमा आयोजना हुने १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन युवा तथा खेलकुद मन्त्री लिम्बू र उक्त मन्त्रालयका सचिवलाई मन्त्रिपरिषद्ले भ्रमणको स्वीकृति दिइसकेको छ।

उता दुई राज्यमन्त्री पनि विदेश भ्रमणमा निस्कने भएका छन्। श्रीलंकाको कोलम्बोमा हुने एक कार्यक्रममा भाग लिन शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी जान लागेकी हुन्।

 त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं पनि विदेश जाने तयारीमा छिन्। उनी चीनको बेइजिङमा असोज ८ देखि ९ गतेसम्म आयोजना हुने एक कार्यक्रममा सहभागी हुन चीन जान लागेकी हुन्।

केही सांसदहरू पनि यतिबेला विदेश भ्रमणमा रहेका छन्। जनमत पार्टी अध्यक्ष सिके राउत अमेरिका पुगेका छन्। उनी प्रधानमन्त्री अमेरिका हिँडेको भोलिपल्टै आइतबार अमेरिका गएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, कांग्रेस सांसद रूपा विक पनि अमेरिका गएका छन्।

त्यस्तै कांग्रेस सांसदद्वय डा. आरजु राणा देउवा र विनोद चौधरी पनि सिंगापुर भ्रमणमा छन्। सिंगापुरबाट फर्केलगत्तै डा. आरजु राणा देउवा संसद्को कृर्षि समितिका केही सांसदहरूका साथमा फेरि बंगलादेश जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८० ००:५७ मंगलबार

प्रधानमन्त्री सभामुख सांसदहरूको विदेशमोह विदेश भ्रमणमा ‘मितव्ययी सरकार’